नगद कारोबारमा ५ लाखको सीमाले सुनचाँदी व्यवसायमा नकारात्मक प्रभाव पर्ने चिन्ता, अर्थमन्त्री खनाललाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

काठमाडौं । नगद कारोबारमा ५ लाख रुपैयाँको सीमाका कारण सुनचाँदी व्यवसायमा नकारात्मक प्रभाव पर्ने भन्दै सुनचाँदी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

माघ १ देखि लागू हुने नगद कारोबारमा ५ लाखको सीमाले सुनचाँदी व्यवसायमा नकारात्मक प्रभाव पर्ने भन्दै काठमाडौं सुनचाँदी व्यवसायी संघले आइतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालको ध्यानाकर्षण गराएको हो ।

सुनको मूल्य प्रतितोला २ लाख ७० हजार नाघिसकेको परिप्रेक्ष्यमा ५ लाखको नगद कारोबार सीमाले व्यवसायलाई थप झन्झटिलो र जटिल बनाउने उनीहरुको ठहर छ ।

‘सरकारको कर प्रणालीलाई सुदृढीकरण गर्ने, पारदर्शिता अभिवृद्धि गर्ने र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यको हामी सम्मान गर्छौं,’ संघकी अध्यक्ष रोहिनादेवी शाक्यद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘तर सुनचाँदी व्यवसाय अत्यधिक नगद प्रवाह (दैनिक)मा आधारित व्यवसाय भएकाले चेक क्लियरिङ प्रक्रियामा समय लाग्ने हुँदा नगद अभाव भई समसया हुने देखिन्छ।’

त्यस्तै सुनचाँदीको खरिद-बिक्री कारोबार तत्काल हुनुपर्ने र सार्वजनिक बिदाको समयमा पनि हुनुपर्ने भएकाले चेक अनिवार्य गर्दा कारोबार सुरक्षित नहुने उनीहरुले बताएका छ ।

चेक कारोबारमा ब्यालेन्स नभएको र हस्ताक्षर नमिलेको अवस्थामा फिर्ता आउने समस्याका बीच ग्राहक सम्पर्कविहीन हुनसक्ने हुँदा चेक बाउन्स हुने जोखिम पनि उनीहरुले औंल्याएका छन् ।

‘यसबाट व्यवसायीहरुले आर्थिक क्षति व्यहोर्नुपर्ने सम्भावना त छँदैछ, कानुनी झन्झटको सामना गर्नुपर्ने जोखिम पनि उत्तिकै छ,’ अध्यक्ष शाक्यले प्रश्न गरिन्, ‘अनि हामीले व्यवसाय गर्ने कि ग्राहकसँग कानुनी लडाइँ लडेर बस्ने ?

सुनचाँदीको मूल्य दैनिक रुपमा परिवर्तन हुने हुँदा चेक राफसाफमा हुने ढिलाइले मूल्य अन्तरका कारण व्यवसायीले थप क्षति व्यहोर्नुपर्नेतर्फ पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै चेकमा हस्ताक्षर गर्न नजान्ने पाका उमेरका मानिसले सुन किन्नै नसक्ने अवस्था आउने पनि उनीहरुको बुझाइ छ ।

साना तथा मध्यम सुनचाँदी व्यवसायीका लागि बैंकिङ प्रक्रिया, चेक राफसाफ र अभिलेख प्रक्रिया थप झन्झटिलो र खर्चिलो हुने उनीहरुले बताएका छन् । जसबाट लागत बढ्न गई व्यवसायबाटै पलायन हुने स्थिति आउनेतर्फ पनि उनीहरुले सरकारलाई सचेत गराएका छन् ।

ग्रामीण क्षेत्रमा बैंकका शाखा सहज पहुँचयोग्य स्थानमा नहुने भएकाले सुनचाँदी व्यवसाय थप संकटमा पर्न सक्ने उनीहरुको चिन्ता छ । ‘सरकारले ग्रामीण र विकट क्षेत्रका व्यवसायी र बैंकिङ पहुँचको अवस्था नबुझी यस्तो निर्णय लिएको पाइन्छ,’ अध्यक्ष शाक्यले भनिन्, ‘सरकारको नियम काठमाडौं र केही सहरउन्मुख क्षेत्रै लागू गर्न त सहज छैन, गाउँमा कसरी होला !’

व्यवसायीहरुले समस्या मात्र देखाएका छैनन्, समाधानका लागि केही सुझाव पनि अर्थमन्त्रीसमक्ष राखेका छन्-

१. सुनचाँदी कारोबारका लागि छुट्टै किसिमको गुड फर पेमेन्ट चेक जारी गर्ने तथा गोएमएल र केवाईसी बैंकबाटै भर्ने । त्यसका लागि बैंकमा छुट्टै डेस्क स्थापन गर्ने ।

२. फोन पे अथवा क्यूआरबाट पेमेन्ट सिस्टम मिलाउने । बैंकसँगै ग्राहकको विवरण हुने भएकाले व्यवसायीले केवाईसी नै भर्न नपर्ने ।

३. सुनचाँदी तथा बहुमूल्य धातुको कारोबार गर्दा डिजिटल भुक्तानीको सीमा १० लाख बनाउनुपर्ने ।

४. मुलुकी देवानी संहिता २०७४ र मुलुकी देवानी संहिता कार्यविधि २०७४ को परिच्छेद १ दफा २५४ ‘ख’ मा सुनचाँदी, जवाहरात, बहुमूल्य रत्न पत्थर र सुनचाँदीबाट बनेका गहनालाई तरल सम्पत्तिमा राखेकाले सोही अनुसार व्यवहार गर्नुपर्ने ।

मन्त्रिपरिषदको मंसिर १५ गतेको बैठकले नगद कारोबारको सीमा १० लाखबाट घटाएर ५ लाखमा झारेको थियो । औपचारिक कारोबारलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि नगद कारोबारको सीमा ५ लाखमा झारिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारको निर्णयसँगै एकपटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय