चितवनका सुनचाँदी व्यवसायी भन्छन्- ‘दशैँ आयो तर व्यापार छैन’

चितवन । सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै गएपछि आज दशैँको पहिलो दिन घटस्थापनामा चितवनको सुनचाँदी बजार सुनसान बनेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकाशिँदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ। सरकारले बजेटमार्फत् सुनमा विलासिता शुल्क लगाएको छ, जसको प्रत्यक्ष प्रभाव सुनचाँदी व्यापारमा परेको छ।

आज सोमवार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना बिक्री हुन छाडेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव समेत रहनुभएका सभ्यता ज्वेलर्स मिनि मार्केट, नारायणगढका संचालक टुलकप्रसाद विश्वकर्माले बताउनुभयो।

तीजमा पनि अत्यावश्यक गरगहना बाहेकका कुनै पनि गरगहना बिक्री नभएको उहाँले बताउनुभयो। सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्नेभन्दा बिक्री गर्न आउनेको संख्या बढेको उहाँले बताउनुभयो ।

नेपालीहरूको मुख्य चाड दशैँको समयमा पनि सुनको कारोबार उत्साहजनक देखिएको छैन् । सुनचाँदीको व्यवसायका लागि चाडपर्व महत्वपूर्ण सिजन हो। अरू बेलाभन्दा यस समयमा सुनको कारोबार उच्च मात्रामा हुने गर्छ। तर,अहिले मूल्य बढेकोले सुनको व्यवसाय निराशाजनक रहेको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष तथा चित्रकला सुनचाँदी पसलका संचालक उत्सव खाती वि.कले बताउनुभयो।

सुनचाँदी बजारमा ‘तीजको व्यापारले दशैँको व्यापार इंगित गर्छ’ भन्ने भनाइ छ। गत तीजमा नै सुनको कारोबार घटेको हुनाले दशैँमा राम्रो व्यापार नहुने शंका भने व्यवसायीहरूले गरेका छन् । तीजको समयमा सुनको मूल्य चर्को तरिकाले बढेपछि अधिकांश पसलहरू सुनसान जस्तै भएका थिए ।

दशैँमा ग्राहकको घुइँचो हुने सुनचाँदी पसलमा अहिले सीमित ग्राहक मात्र आउने गरेका छन्। पसलमा आउने ग्राहकमध्ये अधिकांश आफ्नै सुन लिएर गहना बनाउन आउने गरेको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका महासचिव समेत रहनुभएका पदम ज्वेलर्स सुनचाँदी पसल भृकुटीपथ, नारायणगढका संचालक गोपाल बहादुर वि.क थापाले बताउनुभयो।

भर्खरै श्रोह्र श्राद्ध सकिएको छ, आज घटस्थापनाको दिन सोमवार पनि भएकाले सुनचाँदी बजारमा चहलपहल कम भएको सुनचाँदी व्यवसायी महिला समूह चितवनकी प्रवक्ता तथा न्यू पाथिभरा सुनचाँदी पसल, मिलनमार्केट, नारायणगढकी संचालिका गंगा रामदाम सुनारले बताउनुभयो। उहाँ भन्नुहुन्छ, ‘पहिला सुनचाँदी व्यापार उत्साह जनक नै हुने गर्दथ्यो तर अहिले व्यापार कस्तो हुन्छ त्यो हेर्न नै वाँकी रहेको छ।’

उहाँको अनुसार दशैँ आउनु भन्दा १५ दिन अगाडि एउटै व्यक्तिले ४/५ तोला सुनको गरगहना बनाउनु सामान्य थियो, तर अहिले त्यस्ता ग्राहक पसलसम्म आएका छैनन्।

मुलुकभर २२ हजारभन्दा बढी सुनचाँदी पसल छन्। सामान्य अवस्थामा दशैँको समयमा ती पसलबाट दैनिक ५० केजीभन्दा बढी सुनको खपत हुन्थ्यो। तर, अहिले मुस्किलले दैनिक २० केजी सुनको मात्र कारोबार हुने गरेको छ। मूल्य बढेपछि सुनको कारोबार ओरालो लाग्न थालेको छ।

दशैँ सुनचाँदी व्यवसायीका लागि राम्रो व्यापार हुने सिजन मानिन्छ। यो समयमा धेरै मानिस सुनको नयाँ गरगहना बनाउने गर्छन्। त्यसैले यो समय सुनचाँदी व्यवसायीका लागि महत्वपूर्ण रहेको नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा कार्यालय माडीका अध्यक्ष कृष्ण गोतामेको भनाई छ ।

महँगी बढ्दा पनि सुनको कारोबारमा ह्रास आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सरकारले सुनमा विलासिता शुल्क लगाएको छ, त्यसैले पनि सुनचाँदी कारोबार कम भएको छ ।’

उहाँले थप्नुभयो, ‘नेपाली समाजमा यस्ता चाडपर्वमा नयाँ गरगहना लगाउने विषय एउटा संस्कृतिको रूपमा नै विकास भएको छ। त्यसैको प्रभावले यस समयमा ठूलो मात्रामा सुनका गरगहना बिक्री हुने गर्थे। तर, अहिले चाडपर्वको समयमापनि सुनका गरगहना किन्ने ग्राहकको संख्या कम हुँदा व्यवसायीहरू मर्कामा परेका छन्।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय