चितवन । चितवनमा सुनचाँदी पसलको साप्ताहिक बिदा शनिबारबाट पुनः सोमबार कायम हुने भएको छ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले २०८३ कार्तिक ३० गतेदेखि लागू हुने गरी अबदेखि प्रत्येक हप्ताको सोमबार सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेको हो।



संघको कार्यसमितिको बैठकले गरेको उक्त निर्णयसँगै चितवनका सुनचाँदी व्यवसायीले लामो समयदेखि राख्दै आएको सोमबार बिदाको माग सम्बोधन भएको छ।
यसअघि २०८३ साल जेठ ५ गतेदेखि चितवन उद्योग वाणिज्य संघको परिपत्रअनुसार बजार बन्दमा एकरूपता कायम गर्ने उद्देश्यले संघको आह्वानमा प्रत्येक शनिबार सुनचाँदी पसल बन्द हुँदै आएको थियो।
तर, शनिबार बिदा कायम भएपछि व्यवसायीहरूले पुरानै अभ्यासअनुसार सोमबार नै साप्ताहिक बिदा हुनुपर्ने माग राख्दै आएका थिए। जेठ ५ गतेअघि चितवनमा प्रत्येक हप्ताको सोमबार सुनचाँदी पसल बन्द हुँदै आएको थियो।
त्यसपछि २०८३ साल भदौ ४ गतेदेखि संघको आह्वानमा सुनचाँदी पसल सातै दिन खुला राख्ने व्यवस्था गरिएको थियो। चाडपर्वको समयमा ग्राहक तथा व्यवसायीको सहजतालाई ध्यानमा राख्दै तीजदेखि छठ पर्वसम्म पसल खुला राख्ने व्यवस्था गरिएको थियो।
संघका महासचिव गोपालबहादुर वि.क. थापाद्वारा जारी सूचनामा कार्तिक ३० गते सोमबारदेखि सम्पूर्ण सुनचाँदी पसल पूर्ण रूपमा बन्द गर्न आग्रह गरिएको छ।
साथै, संघको निर्णयविपरीत पसल सञ्चालन गरेको पाइएमा संघको नियमअनुसार आवश्यक कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ।
पटक-पटक परिवर्तन भएको साप्ताहिक बिदाको व्यवस्थालाई पछिल्लो निर्णयले पुनः पुरानै लयमा फर्काएको छ। अब कार्तिक ३० गतेदेखि चितवनका सुनचाँदी व्यवसायीले प्रत्येक सोमबार साप्ताहिक बिदा मनाउनेछन्।















