नीतिगत सुधार, व्यवसायीको सुरक्षा र आधुनिकीकरण हाम्रो प्राथमिकता हो – अध्यक्ष रसाईली (अन्तर्वार्ता)

नेपालको सुनचाँदी व्यवसाय अहिले नीतिगत सुधार, कर प्रणाली, अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अवैध कारोबार नियन्त्रण, व्यवसायीको सुरक्षा तथा प्रविधिमैत्री व्यवस्थापनजस्ता विविध चुनौतीको सामना गरिरहेको छ । यस्ता चुनौतीबीच व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ नेपाल सुनचाँदी व्यवसायी महासंघले विभिन्न पहलहरू अघि बढाइरहेको छ ।

महासंघको नेतृत्व सम्हालेपछि दुई वर्षको अवधिमा भएका उपलब्धि, व्यवसायको वर्तमान अवस्था, सरकारसँगको समन्वय, कानुनी सुधार, सुन आयात तथा वितरण प्रणाली, डिजिटल व्यवस्थापन, अन्तर्राष्ट्रिय बजार विस्तार, व्यवसायीको सुरक्षा र आगामी कार्यदिशाबारे नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीसँग गरिएको विशेष कुराकानी ।

अध्यक्षको हैसियतले महासंघको नेतृत्व सम्हालेको आफ्‌नो दुई वर्षे कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? यस अवधिमा महासंघले हासिल गरेका प्रमुख उपलब्धिहरू के-के हुन् ?

मेरो नेतृत्वमा बितेको दुई वर्ष महासंघलाई विकेन्द्रीकृत गर्दै अझ संस्थागत, सक्रिय र प्रभावकारी बनाउने दिशा तर्फ केन्द्रीत रह्यो । देशभरका ८४ जिल्ला तथा नगर संघ, वस्तुगत संघ, एशोसियट सदस्यहरुसँग समन्वय सुदृढ गर्दै व्यवसायीका साझा मुद्दालाई राष्ट्रिय स्तरमा उठाउने काम गरेका छौं । व्यवसायीका समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायसँग निरन्तर संवाद गरि राखेका छौं । सुन आयात, कर नीति, व्यवसायी सुरक्षा, व्यवसायको आधुनिकीकरण तथा व्यवसायीको हकहित संरक्षणका विषयमा महासंघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ । थुप्रै चुनौतीका बाबजुद पनि व्यवसायीलाई एकताबद्ध राख्नु र महासंघप्रति विश्वास बढाउनु हाम्रो महत्वपूर्ण उपलब्धि हो ।

नेपालको सुनचाँदी व्यवसाय तथा बजारको वर्तमान अवस्थालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ?

नेपालको सुनचाँदी व्यवसाय अहिले विभिन्न चुनौतीका बीच सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य निरन्तर उतारचढाव हुनु, उपभोक्ताको क्रयशक्ति घट्नु, आर्थिक गतिविधि अपेक्षाकृत सुस्त हुनु तथा बजारमा तरलताको समस्या जस्ता कारणले कारोबारमा असर परेको छ । यद्यपि सुनचाँदी नेपाली समाजको संस्कृति, परम्परा र आवश्यकतासँग जोडिएको भएकाले यसको दीर्घकालीन सम्भावना अझैं बलियो छ । उचित नीति निर्देशिका र व्यवसायमैत्री वातावरण भए यो सुनचाँदी व्यवसाय अझ सशक्त बन्न सक्छ ।

वर्तमान सरकारले सुनचाँदी व्यवसायसँग सम्बन्धित कर तथा राजस्व नीतिमा गरेका व्यवस्थाप्रति यहाँको धारणा के छ ?

सरकारसँग हाम्रो निरन्तर संवाद भइरहेको छ । हामीले व्यवसायीका व्यावहारिक समस्या, कर संरचना, आयात व्यवस्थापन तथा व्यवसाय सञ्चालनका कठिनाइबारे बारम्बार ध्यानाकर्षण गरिरहेका छौं । सरकारले केही विषयमा सकारात्मक सुनुवाइ गरेको छ । तथापि अझैं पनि व्यवसायमैत्री, स्थिर र दीर्घकालीन नीति आवश्यक रहेको हाम्रो धारणा छ । महासंघले सरकारसँग सहकार्य गर्दै व्यवसायका समस्या समाधानका लागि निरन्तर भूमिका खेलिरहेको छ ।

सुन आयात, बिक्री तथा वितरणसम्बन्धी कार्यविधिलाई थप व्यवस्थित र समयसापेक्ष बनाउन महासंघको कुनै योजना छ कि छैन ?

महासंघले पारदर्शी र व्यवस्थित व्यवसायिक वातावरण निर्माणलाई प्राथमिकता दिएको छ । डिजिटल अभिलेख प्रणाली, कारोबारको पारदर्शिता, गुणस्तर सुनिश्चितता प्रोत्साहन गर्ने दिशामा काम गरिरहेका छौं । व्यवसायलाई खरिद गर्न सहज होस् भनेर अहिले १०० ग्रामका पिस आयत गर्ने व्यवस्था गरिएको छ । सुन बितरण प्रणालीलाई थप व्यस्थित गरेका छौं । आयातदेखि अन्तिम उपभोक्तासम्मको प्रक्रियालाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै आएका छौं ।

सुनचाँदी बजारको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक ऐन, नियम तथा कार्यविधि निर्माणको प्रक्रिया कहाँसम्म पुगेको छ ? यसको पूर्णता कहिलेसम्म हुने अपेक्षा गरिएको छ ?

महासंघ केवल व्यवसायीको प्रतिनिधि संस्था मात्र होइन, नीतिगत सुधारको साझेदार पनि हो । २०७३ सालदेखि व्यवसायीमैत्री निर्देशिकाको लागि महासंघ सरकारसँग निरन्तर माग गर्दै आएको छ । अहिले महासंघले २०७३ साल देखि लेख्दै आएको निर्देशिकामा समयसापेक्ष पुनः लेखन सुरु गरेका छौं । व्यवसायीका सुझाव र अनुभवलाई संकलन गरेर सम्बन्धित मन्त्रालय तथा निकायसमक्ष प्रस्तुत गर्ने कार्य अगाडि बढाइदै छ । व्यवहारिक, पारदर्शी र व्यवसायमैत्री कानुनी संरचना निर्माणका लागि महासंघले सक्रिय रुपमा लागेको छ । व्यवसायीले अब धेरै लामो प्रतीक्षा गर्नु पर्ने छैन । छिट्टै निर्देशिका ल्याउछौं ।

नेपाली सुनचाँदी उद्योग तथा व्यवसायको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि कस्तो नीति आवश्यक देख्नुहुन्छ ? यस सम्बन्धमा महासंघले के-कस्ता पहल गरिरहेको छ ?

नेपालका सुनचाँदीका गरगहना र हस्तकलात्मक उत्पादन विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्छन् । यसको लागि अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिता, नेपाली ब्रान्डको प्रवद्र्धन, सीप विकास, आधुनिक प्रविधिको प्रयोग तथा निर्यातमैत्री नीति आवश्यक छ । महासंघले यस विषयमा विभिन्न निकायसँग छलफल र समन्वय अगाडि बढाएको छ ।

नेपाल र छिमेकी मुलुकबीच रहेको असमान भन्सार दरका कारण हुने अवैध सुन ओसारपसार नियन्त्रण गर्न कस्तो नीति तथा व्यवस्था आवश्यक छ ?

अवैध कारोबार व्यवसायीले गरेको छैन । अवैध कारोबार रोक्ने काम राज्यको हो, व्यवसायीको होइन । तर पनि अवैध कारोबारले वैधानिक व्यवसायलाई प्रत्यक्ष असर चाहिँ गरेको छ । यसको नियन्त्रणका लागि सीमा क्षेत्रमा कडा निगरानी, प्रभावकारी कानुनी कार्यान्वयन, बजार अनुगमन, व्यवसायीलाई आवश्यकता अनुसार कच्चापदार्थको आपूर्ति तथा व्यवसायी र सुरक्षा निकायबीच समन्वय आवश्यक छ । वैधानिक व्यापारलाई सहज बनाउनु नै अवैध कारोबार नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो भन्ने हाम्रो विश्वास छ ।

पछिल्लो समय देशका विभिन्न स्थानमा चोरी, डकैती तथा आपराधिक गतिविधिहरू बढिरहेको सन्दर्भमा सुनचाँदी व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न राज्यले कस्ता कदम चाल्नुपर्छ ?

सुनचाँदी व्यवसायमा सुरक्षा अत्यन्त महत्वपूर्ण विषय हो । महासंघले व्यवसायी सुरक्षाका लागि विभिन्न समयमा सरकारका सम्बन्धित निकायसँग छलफल र सुरक्षाको माग गर्दै आएको छ । व्यवसायिक प्रतिष्ठानको सुरक्षा, आधुनिक निगरानी प्रणाली, सुरक्षा निकायसँग समन्वय तथा जोखिम व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम आवश्यक छन् । महासंघले व्यवसायीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको छ ।

सुनचाँदी व्यवसायसँग सम्बन्धित विभिन्न समस्या समाधानका लागि महासंघले सरकार तथा सम्बन्धित निकायसँग कस्तो समन्वय र पैरवी गरिरहेको छ ?

हामीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राजस्व प्रशासन, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग नियमित संवाद गर्दै आएका छौं । व्यवसायीका समस्या समाधानका लागि तथ्य र सुझावसहित आफ्‌नो धारणा प्रस्तुत गर्दै आएका छौं । व्यवसायीमुखी निर्देशिकाको लागि सरकारसँग छलफल भैइरहेको छ । हाम्रा समस्याहरु सरकारसँग सहकार्य र संवादमार्फत समाधान खोज्ने नीति महासंघले अवलम्बन गरेको छ।

नेपालको सुनचाँदी व्यवसाय तथा उद्योगको भविष्यलाई यहाँले कसरी हेर्नुभएको छ ?

नेपालको सुनचाँदी व्यवसायको भविष्य अत्यन्त उज्ज्वल देख्छु । दक्ष जनशक्ति, परम्परागत सीप, आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय बजारको अवसरलाई सही ढंगले उपयोग गर्न सकियो भने यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा अझ ठूलो योगदान दिन सक्छ । रोजगारी दिन सक्छ, युवापुस्तालाई यस क्षेत्रमा आकर्षित गर्दै व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउन आवश्यक देख्छु ।

अन्त्यमा सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार, व्यवसायी तथा सरोकारवाला निकायहरूलाई यहाँ के सन्देश दिन चाहनुहुन्छ ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका तर्फबाट सम्पूर्ण व्यवसायी, उपभोक्ता, सञ्चारकर्मी तथा सरोकारवाला निकायलाई धन्यवाद दिन चाहन्छु । व्यवसायलाई पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक छ । सरकार र निजी क्षेत्रबीचको विश्वास एवं सहकार्यले मात्र यो क्षेत्रलाई थप सुदृढ बनाउन सकिन्छ । व्यवसायीको हकहित संरक्षण गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउने हाम्रो प्रतिबद्धता सदैव कायम रहनेछ ।

प्रस्तुति -अमिर रामदाम

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय