चितवन । चन्द्रपुर सुनचाँदी व्यवसायी संघको भ्रमण टोलीलाई नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले भव्य स्वागत तथा सम्मान गरेको छ । बिहीबार चितवनको नारायणगढस्थित जिल्ला संघको कार्यालयमा आयोजित कार्यक्रममा भ्रमण टोलीलाई स्वागत गरिएको हो ।
चन्द्रपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रल्हाद रामदामको नेतृत्वमा आएको टोलीलाई चितवन जिल्ला संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क., तृतीय उपाध्यक्ष शोभा बराली, महासचिव गोपाल बहादुर वि.क. थापा, लगायतले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा सुनचाँदी व्यवसायको वर्तमान अवस्था, बजारको चुनौती, व्यवसायिक सुरक्षा, श्रमिक व्यवस्थापन तथा आगामी दिनमा दुई संघबीच सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा सहभागीहरूले व्यवसायिक एकता र आपसी सहकार्यलाई अझ मजबुत बनाउन यस्ता भेटघाट तथा भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी समिति सदस्य तथा चन्द्रपुर सुनचाँदी व्यवसायी संघका संरक्षक प्रकाश गहतराजले व्यवसायीहरूबीचको सम्बन्धलाई सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले व्यवसायिक हकहित संरक्षण, अनुभव आदानप्रदान तथा संगठनात्मक एकताका लागि सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका नेपाल सुनचाँदी व्यवसायी महासंघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क.ले चितवन आगमनले दुई जिल्लाबीचको सम्बन्धलाई अझ नजिक बनाएको बताउनुभयो । उहाँले व्यवसायिक चुनौती समाधानका लागि साझा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संगठनबीच निरन्तर समन्वय हुनुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी चन्द्रपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रल्हाद रामदामले चितवनमा पाएको आत्मीय स्वागतप्रति आभार व्यक्त गर्दै आगामी दिनमा व्यवसायिक हितका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले देशभरका सुनचाँदी व्यवसायीहरूबीच एकता, विश्वास र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा संघकी तृतीय उपाध्यक्ष शोभा बरालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव गोपाल बहादुर वि.क. थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रेस सल्लाहकार अमिर रामदामको समेत विशेष उपस्थिति रहेको थियो ।





