सुनचाँदी व्यवसायी महासंघको १२ औँ कार्यसमिति बैठक चितवनमा सम्पन्न

चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औँ कार्यसमिति बैठक शुक्रबार चितवनको सौराहास्थित ल्याण्डमार्क फरेस्ट पार्कमा सम्पन्न भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको सहजीकरणमा आयोजित बैठक महासंघका अध्यक्ष अर्जुन रसाईलीको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकले महासंघको आसन्न १३औँ र १४औँ साधारणसभाको तयारीका विषयमा र अन्य महत्वपूर्ण विषयमा विस्तृत छलफल गरिएको महासंघका महासचिव किरणभाई बज्राचार्यले जानकारी दिनुभयो।

बैठकले महासंघद्वारा निर्माण गरिएको एप्सलाई थप अध्ययन, परीक्षण तथा आवश्यक संशोधनसहित पूर्णता दिन महासंघका चौंथो उपाध्यक्ष पवन कुमार सोमानीलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ। बैठकले दाङको देउखुरी सुनचाँदी व्यवसायी संघलाई नगर संघको सदस्यता प्रदान गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा आतिथ्य जिल्ला नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्दै सुनचाँदी व्यवसायीहरूले भोगिरहेका विविध समस्या, चुनौती तथा समाधानका उपायबारे प्रकाश पार्नुभएको थियो। उहाँले व्यवसायमैत्री नीति, व्यवसायीको सुरक्षा तथा बजार व्यवस्थापनमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको थियो।

बैठकमा महासंघका बागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्य, मधेश प्रदेश अध्यक्ष रामजी साह, लुम्बिनी प्रदेश अध्यक्ष ध्रुवकुमार गहतराज तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले आ-आफ्ना प्रदेशका गतिविधि, उपलब्धि तथा व्यवसायीहरूले सामना गरिरहेका समस्याका विषयमा रिपोर्टिङ  गर्नुभएको थियो।

बैठकलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष अर्जुन रसाईलीले संगठनलाई प्रविधिमैत्री, पारदर्शी र व्यवसायीमुखी बनाउने अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाइने बताउनुभयो। बैठकमा उहाँले भन्नुभयो, “विलासिता शुल्क आगामी आर्थिक वर्षदेखि पूर्ण रूपमा हट्ने छ। ”

अध्यक्ष रसाईलीले व्यवसायीको क्षमता अभिवृद्धि, डिजिटल प्रणालीको विकास तथा सरकारसँगको समन्वयलाई अझ सशक्त बनाउँदै सुनचाँदी व्यवसाय क्षेत्रको दीर्घकालीन विकासका लागि महासंघ निरन्तर क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा सहभागीहरूलाई सम्पत्ति शुद्धीकरणका विषयमा विविध जानकारी प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले प्रदान गर्नुभएको थियो ।

बैठकको सञ्चालन महासंघका महासचिव किरणभाई बज्राचार्यले गर्नुभएको थियो भने धन्यवाद ज्ञापनसहित वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले बैठक समापन गर्नुभएको थियो। महासंघले बैठकबाट प्राप्त सुझाव तथा निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसायीहरूको हितमा थप सशक्त कार्यक्रम अगाडि बढाउने जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय