नेपालमा हालै लागू गरिएको सुनचाँदीमा विलासिता करले सर्वसाधारण उपभोक्तामाथि अनावश्यक बोझ थपेको छ। सरकारको तर्क छ – नेपाल ग्रे लिस्टमा गएको कारण सुनचाँदीमा कडाइ आवश्यक छ। तर वास्तविकता अर्कै छ। जेनजी आन्दोलनका क्रममा सरकारी प्रमुखहरू आफैं सुनचाँदीका खजानाका मालिक भएको खुलासा भइसकेको छ। अकुत सम्पत्ति जोड्नेहरू त सुरक्षित छन्, तर परम्परागत संस्कार–चाडपर्वमा सुन अनिवार्य रूपमा चाहिने सर्वसाधारणलाई करको भारी बोकाइँदैछ।
सरकारले व्यापारी र उपभोक्तालाई १० लाखभन्दा माथि रकम बोक्दा कारबाही गर्ने कानुन ल्याउने तयारी गर्छ, तर आफ्नै ढुकुटीमा करोडौं सम्पत्ति छाम्दा मौन बस्छ। यही हो दोहोरो मापदण्ड। परिश्रम गरेर थोरै-थोरै पैसा जम्मा गरी सुन किन्ने जनतालाई लक्षित गरी कर लगाउनु न्यायसंगत होइन।
यदि कर लगाउने नै हो भने-पहिलो प्राथमिकता सत्तामा रहेका नेता, उच्च पदस्थ अधिकारी र कर्मचारीहरूले आफ्ना घरमा थुपारेको सुनचाँदीमाथि हुनुपर्छ । तब मात्र यो कदम विश्वसनीय हुनेछ। अन्यथा, यो नीति जनतालाई ठग्ने र जेनजी आन्दोलनको मूल्याङ्कनलाई कमजोर पार्ने काम मात्र हुनेछ।
त्यसैले सरकारले सुनचाँदी खरिदमा १० लाखभन्दा कमको कारोबारलाई विलासिता करबाट मुक्त गर्नुपर्छ। नत्र भने, यो कर पाखण्डपूर्ण निर्णयका रूपमा जनताले अस्वीकार गर्नेछन्।



