चितवन। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औँ कार्यसमिति बैठक सम्पन्न भएपछि महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सम्मान तथा स्वागत गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम चितवनको सौराहस्थित ल्याण्डमार्क फरेस्ट पार्कमा सम्पन्न भएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा महासंघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला संघका पदाधिकारीहरू र व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष अर्जुन रसाईलीले सुनचाँदी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा व्यवसायीमैत्री नीतिका लागि महासंघ निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले देशभरका व्यवसायीका साझा समस्यालाई सम्बोधन गर्दै व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउन महासंघले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र पहल गरिरहेको उल्लेख गर्नुभयो।
सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले सुनचाँदी व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्या तथा ति समस्याहरू समाधानका लागि आवश्यक पहल गर्न महासंघको ध्यानाकर्षण गराउँदै अध्यक्ष रसाईलीलाई लिखित ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभयो। उहाँले व्यवसायीहरूको वास्तविक समस्यालाई महासंघले प्राथमिकताका साथ सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा महासंघका केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूलाई नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको लोगो अंकित खादा तथा पुष्पगुच्छा प्रदान गरी सम्मानपूर्वक स्वागत गरिएको थियो। साथै, केन्द्रीय समितिको स्वागतार्थ जिल्ला संघले रात्रिभोज कार्यक्रमको समेत आयोजना गरेको थियो।
कार्यक्रमको समापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क.ले उपस्थित सम्पूर्ण अतिथि, पदाधिकारी तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले महासंघ र जिल्ला संघबीचको सहकार्यले व्यवसायीहरूको हित संरक्षण तथा संगठन सुदृढीकरणमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।







