ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघले सुनचाँदी व्यवसायलाई अझ व्यवस्थित, विश्वसनीय र उपभोक्तामैत्री बनाउन महत्वाकांक्षी योजना अघि सारेको छ। संघले सुनचाँदीको गुणस्तर परीक्षण तथा प्रमाणीकरणका लागि अत्याधुनिक “टन्च सेन्टर” स्थापना गर्ने प्रस्ताव सार्वजनिक गरेको हो।
संघका अनुसार उपभोक्ताले खरिद गर्ने सुनचाँदीको शुद्धता सुनिश्चित गर्दै नेपाली बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउने लक्ष्य राखिएको छ। यस अभियानलाई नेपाल सरकारको उपभोक्ता हित संरक्षण नीति तथा व्यवसायिक सुधार योजनासँग समेत जोडिएको बताइएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रकुमार बानियाँ, उद्योगमन्त्री बिन्दु श्रेष्ठ तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग भएको छलफलपछि संघले औपचारिक रूपमा योजना प्रस्तुत गरेको हो। छलफलमा संघका अध्यक्ष सुविन बज्राचार्यको विशेष सक्रियता रहेको बताइएको छ।
संघका अध्यक्ष बज्राचार्यले उपभोक्ताको विश्वास नै व्यवसायको आधार भएकाले गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी आधुनिक परीक्षण प्रणालीमार्फत उपभोक्तालाई सुरक्षित, विश्वसनीय र गुणस्तरीय गहना उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं।”
संघले परीक्षण केन्द्रमार्फत सुनचाँदीको शुद्धता परीक्षण, गुणस्तर प्रमाणीकरण तथा व्यवसायीलाई प्राविधिक तालिमसमेत सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसबाट नेपाली सुनचाँदी व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
व्यवसायीहरूले संघको यस कदमलाई ऐतिहासिक र दूरदर्शी अभियानको रूपमा लिएका छन्। उनीहरूका अनुसार यसले उपभोक्तामा विश्वास बढाउनुका साथै नेपाली सुनचाँदी उद्योगलाई नयाँ उचाइमा पुर्याउनेछ।






