सुनचाँदी व्यवसायमाथि शंका कि यथार्थ बुझाइको अभाव?

हालै सुनचाँदी व्यवसायी महासंघले व्यवसायीहरूलाई प्रेषित गरेको पत्रले सुनचाँदी व्यवसायको वर्तमान अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। उक्त पत्रमा कार्तिक महिनादेखि बैंकबाट सुन नउठेको तथा बैंकबाट सुन नलिइकनै कारोबार भएको आशंकाका कारण नेपाल राष्ट्र बैंक, आन्तरिक अनुसन्धान विभाग, राजस्व विभाग र वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलगायतका निकायहरूको ध्यान आकर्षित भएको उल्लेख छ।

तर प्रश्न उठ्छ-के यो अवस्था नियतको परिणाम हो, कि बजारमा देखिएको यथार्थ संकटको उपज?

पछिल्लो समय सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि सुनको माग तीव्र रूपमा घटेको छ। यसैमा विलासिता करको थप भारले उपभोक्ताको क्रयशक्ति अझै कमजोर बनाएको छ। परिणामस्वरूप, यस वर्षको मंसिर महिनाको लगनमा समेत धेरै सुनचाँदी पसलहरू एकवटा पनि विवाहका गहना बिक्री नगरी बस्न बाध्य भए। जुन कुरा यस क्षेत्रको गम्भीर मन्दीको स्पष्ट संकेत हो।

कुनै समय मंसिर महिनामा बैंकबाट आएको २० केजी सुनले पनि माग धान्न नसक्ने अवस्था थियो। तर आज परिस्थिति ठीक उल्टो छ। ग्राहकबाट खरिद भई पुनः प्रयोग हुने आन्तरिक सुनसमेत बजारमा खपत हुन नसकेको अवस्थामा व्यवसायीहरू चिन्तित छन्। यस्तो यथार्थलाई नजरअन्दाज गर्दै व्यवसायीहरूमाथि शंका-उपशंका गर्नु न्यायोचित देखिँदैन।

व्यवसायीहरूको मागका आधारमा सरकारले सुनको कोटा २५ केजीसम्म बढाएको भए पनि हाल बैंकमा सुन थुप्रिँदै जानुले भविष्यमा उक्त कोटा घटाइने सम्भावना बढ्दै गएको छ। यदि यस्तो भयो भने यसको प्रत्यक्ष असर सम्पूर्ण सुनचाँदी व्यवसायमा पर्नेछ।

यसर्थ, एकातर्फ नियामक निकायहरूले बजारको वास्तविक अवस्था बुझ्न आवश्यक छ भने अर्कोतर्फ व्यवसायीहरूले पनि थप सजगता र पारदर्शिता अपनाउनु अपरिहार्य छ। शंका र डरको वातावरणले होइन, तथ्य र संवादको आधारमा मात्र यो संवेदनशील क्षेत्रलाई स्थायित्व दिन सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय