सम्मान संस्कृतिको पुनर्विचार: गरिमामाथिको प्रहार

नेपाली समाजमा योगदानकर्ता व्यक्तिलाई सम्मान गर्ने परम्परा पुरानो र गौरवमय छ । राष्ट्र, समुदाय वा संस्थाको उन्नतिका लागि तन, मन, धन तथा विचारले सहयोग गर्ने व्यक्तिलाई सम्मानित गर्नु सांस्कृतिक गरिमाकै निरन्तरता हो। यस्ता सम्मानहरूले योगदानको कदर मात्र गर्दैनन्, भावी पुस्तालाई प्रेरणा पनि दिन्छन् ।

तर पछिल्ला केही वर्षयता यही पवित्र परम्परा विकृत हुँदै गएको चिन्ता बढ्दैछ । आज धेरै संघ-संस्थाहरूमा योगदान वा क्षमता भन्दा निजी नाता, समूहगत स्वार्थ र क्षणिक लोकप्रियताका आधारमा पद तथा सम्मान बाँडिने प्रवृत्ति देखिन थालेको छ । सम्मान, प्रशंसा र कदरको नाममा सस्तो पद निर्माण र अनावश्यक बधाई-संस्कार जस्तै अभ्यासले सम्मानको मूल्यलाई नै खस्काउने अवस्था बनाएको छ । नतिजा-सम्मान प्रेरणाको स्रोत हुनुपर्ने ठाउँमा व्यङ्ग्य र अविश्वासको प्रतीक बन्न थालेको छ ।

संस्था सञ्चालनको मूल उद्देश्य योगदानकर्ता व्यक्तिमाथि सम्मानजनक मूल्याङ्कन र कदर गर्नु हो । तर यदि सम्मान भविष्यमा संस्थालाई फाइदा पुर्‍याउन सक्ने सम्भावनासँगै विगतका ठोस योगदानमा आधारित हुन सके, यसले संस्थाको गरिमा र प्रतिष्ठा दुवै बढाउँछ । योगदानबिनाको सम्मानले न व्यक्तिमा प्रेरणा जगाउँछ, न संस्था बलियो बनाउँछ ।

अबको युग पारदर्शिता, क्षमता, योगदान र सकारात्मक प्रभावको चाहना गर्छ । नेपालका नयाँ पुस्ता-विशेषतः जेन जीद्वारा उठाइएका प्रश्नहरू स्पष्ट छन्:अतिशयोक्ति र अनावश्यक प्रशंसा बन्द होस्। आलोचना होस्, तर उद्देश्यपूर्ण र सुधारमुखी।

सम्मान संस्कृतिको पुनर्संरचना आजको आवश्यकता हो। जसले गरेको छ-त्यसको कदर होस्। जसले गर्नेछ-त्यसलाई अवसर र विश्वास दिलाइयोस्। संघ, समाज तब मात्र समृद्ध हुन्छ, जब सम्मान प्रेरणाको स्रोत बन्छ-प्रहसनको होइन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय