नेपालमा राजनीतिक परिवर्तनहरू पटक–पटक भए पनि व्यवसायिक क्षेत्रमा त्यसको सार्थक प्रभाव कमै देखिएको छ। करिब १०–१० वर्षमा सानातिना परिवर्तनहरू भए पनि, ३० वर्षअघि आएको ठूलो राजनीतिक रूपान्तरणले समेत व्यवसाय–मैत्री नीतिगत ढाँचा स्थापित गर्न सकेन ।
हालैको ‘जेन्जी आन्दाेलन’ ले राजनीतिक नेतृत्वलाई हल्लाए पनि यसले व्यवसायिक दृष्टिकोणमा अपेक्षित प्रभाव पार्ने संकेत अझै देखिएको छैन। सुनचाँदी व्यवसायजस्ता संवेदनशील क्षेत्रमा सरकारले तोकेको भन्सार दर, साना व्यवसायीहरूका लागि गरिएको अनावश्यक गोएमएल, सम्पत्ति शुद्धिकरण सम्बन्धी जस्ता विषयमा नयाँ सरकारको मौनता यसैको प्रमाण हो ।
सरकारको ध्यान आगामी आमनिर्वाचन र सत्ता समीकरणमा केन्द्रीत देखिँदा, व्यवसायी समुदायका वास्तविक सरोकारहरू किनारामा पुगेका छन् । तर, यदि जेन्जी आन्दाेलनको मुख्य उद्देश्य पुरानो सोचलाई चुनौती दिँदै नयाँ सोच र पारदर्शी कार्यशैली स्थापित गर्नु हो भने, त्यसको प्रतिफल व्यवसायमैत्री नीति–निर्माणमा पनि देखिनु आवश्यक छ ।
व्यवसायिक क्षेत्रमा सुधार बिना आन्दाेलनले आफ्नो औचित्य गुमाउने खतरा रहन्छ । त्यसैले, परिवर्तनका नाममा देखिने ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ को पुनरावृत्ति अन्त्य गर्न राजनीतिक नेतृत्वले व्यवसायमैत्री दृष्टिकोण अवलम्बन गर्नै पर्नेछ ।



