संघर्षको परिणाम – ‘न जित, न समाधान’

४२ दिन सडकमा, दर्जनौं बैठक, दर्जनौं प्रतिबद्धता । तर अन्त्यमा के हात लाग्यो? एउटा १२ बुँदे सम्झौता, जसले संघर्षको सार मेट्यो र थकान मात्र बाँकी राख्यो ।

आन्दोलनको मेरुदण्ड २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेजी थियो । यो प्रावधान केबल करको कुरा थिएन, बजारको अस्तित्वको कुरा थियो। तर अन्त्यमा न कर हट्यो, न तत्काल राहत मिल्यो। संघर्षको परिणाम – ‘न जित, न समाधान’।

यसबीच व्यवसायीको एकता सबैभन्दा ठूलो शिकार बन्यो। आन्दोलनको बिचैमा नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारको प्रावधानमा निसर्त हस्ताक्षर गर्दा आन्दोलनको मेरुदण्डमै चोट पुग्यो। यो कदमलाई धेरैले “घुँडा टेकेको” र आन्दोलनको आत्मामाथि विश्वासघात ठान्दै आक्रोश पोखेका छन् । उता, अन्य दुई संस्थाले सुझाव पेस गर्दै प्रधानमन्त्रीसम्म पुगे पनि, त्यो कागज अन्ततः फाइलमै थन्कियो – न परिणाम आयो, न उपलब्धि।

सत्य के हो भने – यो आन्दोलनबाट कसैले पनि आफ्नो लक्ष्य पाएको छैन। सहकार्यको शक्ति टुक्रियो, आरोप-प्रत्यारोपको धुवाँ मात्र बाक्लियो। र जब व्यक्तिगत स्वार्थले सामूहिक लक्ष्यलाई विस्थापित गर्छ, तब हार सबैको साझा बन्छ।

सुनचाँदी व्यवसाय राजनीति होइन, यो हजारौंको रोजगारी, बजारको सन्तुलन र राष्ट्रिय आम्दानीसँग जोडिएको क्षेत्र हो। यो क्षेत्रको मुद्दा ‘कसले हस्ताक्षर गर्‍यो, कसले घुँडा टेकेको’ भन्ने गालीमै थुनिएर बस्ने हो भने, अर्को आन्दोलन सुरु हुनु अघि नै हार निश्चित हुनेछ।

४२ दिनको संघर्षको धुलो टाँसिएको छ-अब समय छ, यो धुलो झारेर एक आवाजमा बोल्ने । नत्र, भोलिको ‘बाँकी सुनचाँदी आचारसंहिता र नीति नियम’ अझै खाली कागज मात्र हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय