विदेशी कालिगढमाथि धरपकड : सुनचाँदी व्यवसायहरू आतंकित

नेपालको सुनचाँदी व्यवसायमा विदेशी कालिगढको आगमनको इतिहास करिब ४० को दशकदेखि सुरु हुन्छ। महाराष्ट्र, पश्चिम बंगाल र कलकत्ताबाट आएका यी सीपालु हातहरू प्रारम्भमा नेपालमा बसोबास गर्ने भारतीय मूलका परिवारहरूको गहना बनाउन ल्याइए। तर, समयसँगै भारतीय गहनाको प्रभाव र विदेशबाट बढ्दो मागले यी कालिगढहरूको लहरलाई थाम्न कसैले सकेन ।

सुरुमा घरमै राखेर काम गराउने चलन थियो। पछि सुन दिई गहना बनाउने र साटासाट गर्ने प्रणालीले बजारलाई नयाँ मोड दियो। भारतीय कालिगढहरूले स्टक बनाएर साटासाट गर्ने अभ्यासले बजारमा नयाँ डिजाइन, चमक र आधुनिकीकरण त ल्यायो, तर यसैसँगै एउटा खतरनाक अध्याय पनि सुरु गर्यो-नेपाली कालिगढको विस्थापन, गुणस्तरको गिरावट, र अवाञ्छनीय क्रियाकलापको बढोत्तरी।

आज विदेशी कालिगढहरूको बर्चस्व यस्तो छ कि कति कानुनी, कति अवैध भन्ने तथ्याङ्क संघ-संस्थासम्मलाई थाहा छैन। दर्ता नगरी ठूला कारोबार, संघ र सरकारलाई अटेरी, ग्राहकको गहना लिएर भाग्नेसम्मका घटनाहरू अब अपवाद रहेनन्। भाषागत अवरोध, कानुनी प्रक्रिया र अशिक्षाले उनीहरूलाई संगठनको दायराबाहिर रहन चाहन्छन , तर यसै बहानामा अनियन्त्रित गतिविधि चलिरहनु अझै खतरनाक छ।

समस्या तब चर्किन्छ जब यस्ता विषय प्रहरी प्रशासनको हातमा पर्छन्। सुनचाँदी व्यवसायका लागि स्पष्ट नीति-नियम नभएकोले, दर्ता भएका व्यवसायीहरूप्रति पनि प्रशासनको व्यवहार प्रायः व्यक्तिगत सोच र नियतमा निर्भर हुन्छ। कानुनी दायरामा नआएकाहरूलाई त झन् कठोर, कहिलेकाहीँ अपमानजनक व्यवहार भोग्नुपर्ने अवस्था हुन्छ।

यस्तो सुनचाँदी क्षेत्रका कार्यरत सवै कालिगढ वा काराखान वालाहरूले संघ र महासंघसंग सहयोगको अपेक्षा राख्नु स्वाभाविकै हो । यी संस्था विशेष गरेर सदस्यहरूको हकहितका लागि स्थापित भएता पनि, सम्पूर्ण व्यवसायिक वातावरणको हित उनीहरूको जिम्मेवारी हुन जान्छ । यद्यपी सुनचाँदी संघ तथा महासंघहरू व्यवसायिक विधानको परिधिमा रहनु पर्ने कारण त्यसबाट गुठी सरहको सहयोगको अपेक्षाको आसा राख्नु र त्यस्तो सहयोग गर्नका लागि भड्काउनुको अर्थ रहँदैन ।

हालै पोखरामा देखिएको विदेशी कालिगढसँगको घटना यसकै प्रकृति हो। तरपनी उनीहरू संघमा आवद्ध हुन् वा होइनन्, यो घडीमा कानुनी प्रक्रिया पारदर्शी होस्, जफत गहनाको स्पष्ट अभिलेख राखियोस्, परिवार र बालबालिकाको अवस्था सुरक्षित रहोस् – यी प्रश्नमा संघ-महासंघले चुप लागेर बस्न मिल्दैन ।

सुनचाँदी बजारमा विदेशी कालिगढको योगदानलाई अस्वीकार गर्न सकिन्न। तर योगदानको मूल्य तब मात्रै रहन्छ जब त्यो कानुनी, पारदर्शी र संगठनात्मक अनुशासनभित्र सीमित हुन्छ। अन्यथा, उज्यालोको आवरणमा अँध्यारो बढ्दै जानेछ र त्यसको मूल्य समग्र व्यवसाय समुदायले तिर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय