सुनचाँदी व्यवसायीको आन्दोलन र नेतृत्वको आत्ममूल्याङ्कन

नेपालमा सुनचाँदी व्यवसायीहरूको हक-हितका लागि स्थापना भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्नो १३ वर्षे यात्रामा भाैतिक, आर्थिक र सांगठनिक रूपमा उल्लेख्य प्रगति गरेको छ। देशव्यापी विस्तार भएको यस संगठनले व्यवसायी समुदायको आवाज उठाउने, नीति निर्माणमा दबाब सिर्जना गर्ने र व्यवसायमैत्री वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

तर, पछिल्लो समय देशको आर्थिक अवस्था, वैदेशिक दबाब र सरकारी कर नीतिको कारण सुनचाँदी व्यवसायीहरू संकटमा परेका छन्। भ्याट र विलासिता कर जस्ता नीति व्यवसायमाथि प्रत्यक्ष प्रहार सावित भएका छन्। यस्ता नीतिको विरोधमा महासंघहरू र विभिन्न संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै संयुक्त रूपमा दबाब सिर्जना गर्ने प्रयास गरे।

तर दुःखको विषय, आन्दोलन अपेक्षित रूपमा सफल हुन सकेन। यसको मूल कारण भनेको नेतृत्वको कमजोरी, अस्पष्ट रणनीति, र एउटै उद्देश्यसहित एकढिक्का भएर अगाडि बढ्न नसकेको अवस्था हो।

संघर्ष समितिको भूमिका आन्दोलनको मूल उद्देश्यमा केन्द्रीत हुनुपर्नेमा, पछिल्लो समय उनीहरू आन्तरिक दोषारोपण, वार्ता टोलीप्रति अविश्वास र आन्दोलनकै गलत व्याख्या गर्नमै सीमित देखिए। वार्ता टोलीका केही सदस्यहरूले विभिन्न ठाउँमा व्यक्तिगत विश्लेषण गर्दै महासंघको भूमिकामाथि प्रश्न उठाउनु र अन्ततः आफ्नै राजनीतिक पृष्ठभूमि मजबुत पार्ने प्रयास गर्नुले आन्दोलनको उद्देश्यलाई नै कमजोर बनायो।

यस्तो अवस्थामा सबै पक्षले आत्ममूल्याङ्कन गर्न आवश्यक छ। संघर्ष समिति होस् या महासंघ, सबैले आफ्नो कमजोरी स्वीकार गर्दै व्यवसायी हितलाई पहिलो प्राथमिकता दिनुपर्ने समय आएको छ। आन्दोलन सशक्त बनाउनु छ भने नेतृत्वमा स्पष्टता, संगठनमा एकता र रणनीतिमा दीर्घकालीन दृष्टिकोण आवश्यक छ।

यदि आन्दोलनहरू व्यक्तिगत हितको भर्‍याङ्ग बन्न थाले भने, यसले सुनचाँदी व्यवसाय मात्रै होइन, सम्पूर्ण व्यवसायिक आन्दोलनको विश्वसनीयता गुमाउने खतरा छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय