नेपाली सुनचाँदी व्यवसाय करिव तीन दशकसम्म एउटै नाम वरिपरि घुमिरहेको थियो, तेजरत्न शाक्य । २०४४ सालदेखि २०७४ सालसम्म उनले प्रत्यक्ष तथा परोक्ष रूपमा नेतृत्व सम्हाल्दै व्यवसायी समुदायमा ‘भिष्म पितामह’ को छवि बनाएका थिए। तर अहिले, जब बजार संकटमा छ, व्यवसायी असन्तुष्ट छन् र संघ निष्क्रियताको आरोपमा छ । नेतृत्वको विगतको समीक्षा नगरी ‘पुनःजागरण’ को कुरा गर्नु यथार्थविहीन देखिन्छ ।
शाक्यको नेतृत्वमा थुप्रै नीति नियमहरू बने तर ती नीतिहरू व्यवसायमैत्री थिए वा थिएनन् भन्ने बहस अझै सकिएको छैन । वहाँ नै शक्ति केन्द्रमा रहेको समय वा लगाइएको कोटा प्रणालीका कारण धेरै व्यवसायी अवसरबाट वञ्चित भए । सुनचाँदी चोरीका घटना बारम्बार भइरहे र त्यसको ठोस समाधान देखा परेन । त्यतिमात्र होइन, व्यवसायीले महसुस गर्ने राहतका उपायहरू न नीति निर्माणमा देखिए, न व्यवहारमा । यस्तो पृष्ठभूमिमा वहाँ पछिल्लो समयमा शक्तिको केन्द्रबाट टाढा रहँदा विगतको समीक्षा नगरी नयाँ नेतृत्वहलाई मात्र दोषारोपण गरेर ‘तुष पोखेर मात्र संकट समाधान’ गर्ने कुरा कोरा कल्पना मात्र हो ।
आजको सन्दर्भ फरक छ । विश्वव्यापी आर्थिक मन्दी, सरकारको कर नीति, विशेषतः भ्याट र विलासिता करले व्यवसाय झन् धराशायी भएको अवस्था छ । यस्तो अवस्थामा वहाँ जस्तो व्यक्तिले महासंघको पक्षमा जनमत तयार गर्नुको सट्टा देशव्यापी विस्तार भएको महासंघलाई ध्वस्त पारेर विगतमा ‘तालिम केन्द्र’ को रूपमा विकसित हुने भनी जिवित राखिएको नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रलाई ब्युताउने खालको वा पुराना चेहरा पुनः ब्युताउने खेलमा लाग्नु, व्यवसायीको अपेक्षा र यथार्थसँग खिल्ली उडाउने काम हो ।
हो व्यवसायको हितका लागि अब स्पष्ट र जिम्मेवार नेतृत्वको खाँचो छ । जसले विगतका कमजोरी स्वीकार्छ, वर्तमानका चुनौती बुझ्छ र भविष्यका लागि स्पष्ट रणनीति बनाउँछ । व्यवसायीका पछिल्लो चरणमा विकसित चुनौतिहरूको समाधानतर्फ उन्मुख गराउँदछ । तर इतिहास दोहोरिन दिनुभन्दा इतिहासबाट पाठ सिक्नु आजको मूल आवश्यकता हो ।



