सुनचाँदी व्यवसायको संकटः दोषी को ? समाधान कहाँ ?

नेपालको सुनचाँदी व्यवसाय यतिवेला गम्भीर संकटको सामना गर्दैछ । मूल्यवृद्धि, असमञ्जसपूर्ण कर प्रणाली, राज्यको नियमन दृष्टिकोण र व्यवसायभित्रैका संगठनात्मक कमजोरीहरू जस्ता बहुआयामिक समस्याहरूले यस क्षेत्रलाई अस्थिर बनाइरहेका छन् । यतिबेला केही समूहहरू सुनचाँदी व्यवसायी महासंघ वा केही व्यक्तिलाई समस्याको मूल कारण ठहर्‍याउँदै तिनलाई संगठित रूपमा दोषारोपण गर्न खोजिरहेका छन् । यस्ता प्रयासहरू व्यवसायी समुदायका लागि आत्मघाती मात्र नभई समस्याको गहिरो स्वरूपलाई बुझ्न असफल दृष्टिकोण पनि हो ।

दोषारोपण होइन, समिक्षा आवश्यक छ

सुनचाँदी व्यवसायी महासंघ वा अन्य संगठनहरूमा कमजोरी नहोउन् भन्न सकिन्न । तर, वर्तमान संकट कुनै एक व्यक्ति वा संस्था मात्रको कारणले आएको होइन । सुनचाँदी नेपालमा परम्परागत शिल्प र सांस्कृतिक पृष्ठभूमिसँग गासिएको व्यवसाय हो, जुन दशकौँदेखि उही शैलीमा सञ्चालन हुँदै आएको छ । तर, उपभोक्ता व्यवहार, बजार प्रणाली र प्रविधिमा भएका परिवर्तनहरूलाई आत्मसात गर्न व्यवसाय आफैँ चनाखो बन्न नसक्नु वर्तमान समस्याको प्रमुख कारण हो ।

सरकारी दृष्टिकोण र नीति निर्माणको ढिलाइ

नेपाल सरकारले सुनचाँदी व्यवसायलाई अझै पनि ‘विलासिताको वस्तु’ का रूपमा हेर्ने प्रवृत्ति नछाड्दा व्यवसायले लगातार करको चपेटा भोग्नुपरेको छ । भ्याट, विलासिता कर, केवाइसी, गोएमएल जस्ता नियमहरू हतारमा लागू गरिए, जुन साना व्यवसायीहरूका लागि विनाशकारी सावित भएका छन् । नीति निर्माण गर्नेहरू विदेशी आपूर्तिकर्ताहरूको प्रभावमा रहेर घरेलु व्यवसायलाई प्रतिकूल निर्णय लिँदै आएका छन् भन्ने धारणा व्यवसायी समुदायमा बलियो रूपमा व्याप्त छ ।

परम्परागत व्यापार ढाँचाको सीमा

व्यवसाय अझै पनि परम्परागत ढर्रामा चलिरहेको छ । डिजिटल प्रणालीप्रति उदासीनता, पारदर्शिताप्रति डर, ग्राहकको बदलिँदो प्राथमिकता बुझ्न असफलता, र नवप्रवर्तनको अभावले व्यवसायलाई समयसँग सँगै हिँड्न असक्षम बनाइरहेको छ । बसाइँसराइका कारण स्थायी ग्राहक आधार सुक्दै गएको र नयाँ पुस्ता सुनचाँदीको सट्टा अन्य सम्पत्तिमा आकर्षित भइरहेको वास्तविकता पनि विचारणीय छ ।

संगठनभित्रको समन्वयहीनता र साझा एजेण्डाको अभाव

सुनचाँदी व्यवसायी संगठनहरूबीचको समन्वय अत्यन्त कमजोर देखिन्छ । आ–आफ्ना स्वार्थमा आधारित कार्यशैली, निष्क्रिय नेतृत्व र साझा रणनीतिक सोचको अभावले सरकारसँग एकताबद्ध ढंगले प्रस्तुत हुन नसकेको अवस्था छ । संघर्षका नाममा संगठनभित्रै विभाजन निम्त्याउने प्रवृत्तिले व्यवसायी समुदायभित्र विश्वासको संकट उत्पन्न गराएको छ ।

निष्कर्षः आत्मपरीक्षण र नवसंरचना अपरिहार्य

वर्तमान संकटको समाधान दोषारोपणबाट होइन, गहिरो आत्मपरीक्षण र समग्र संरचनात्मक सुधारबाट मात्र सम्भव छ । व्यवसायीहरूले परम्परागत सोचबाट बाहिर ननिस्कने हो भने, सरकारले कस्तो नीति बनायो भनेर गुनासो गरे पनि दीर्घकालीन रूपान्तरण सम्भव हुने छैन। सरकारले व्यवसायीलाई प्रतिस्पर्धी होइन, साझेदारको रूपमा हेर्न सिक्नुपर्छ। नीति निर्माण व्यवसायमैत्री, पारदर्शी र दीर्घदृष्टियुक्त हुन आवश्यक छ । व्यवसायीहरूले पनि संगठनात्मक सुधार, नवप्रवर्तन र समसामयिक बजार बुझ्ने क्षमताको विकासमा जोड दिनुपर्छ ।

– लेखक नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय