अबको १० वर्षमा सुन प्रतितोला तीनदेखि चारलाख पुग्न सक्छ : कार्यवाहक अध्यक्ष शाक्य (अन्तर्वार्ता)

विश्वभर सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मूल्य बढ्दा उपभोक्ता मात्र होइन व्यवसायीहरू पनि समस्यामा छन् । मूल्यबृद्धि हुँदा ठूलो लगानी गरेर व्यवसाय गर्ने अवस्था छैन । यसै सन्दर्भमा केन्द्रीत रहेर नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष तथा सुनचाँदी दरभाउ निर्धारण समितिका संयोजक दियेश रत्न शाक्यसँग स्वर्ण खबरका लागि अमिर रामदामले गर्नुभएको अन्तरवार्ता ।

नमस्कार कार्यवाहक अध्यक्षज्यू, सुनको मूल्य निरन्तर बृद्धि हुनुको कारण के होला ?

सुनको मूल्य निरन्तर वृद्धि हुनुको कारण यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय माग नै हो । सुनलाई सबैभन्दा बढी सुरक्षित लगानीको क्षेत्र मानिन्छ । हालसम्म उत्खनन् भएका सुनमध्ये ५० प्रतिशत गहनाको रुपमा, करिब २० प्रतिशत विभिन्न देशका केन्द्रीय बैंकहरूसँग रिजर्भको रुपमा र ३० प्रतिशत जति औद्योगिक उत्पादन (मोबाइल, कम्प्युटर, टिभि, बिमानसहित) र चिकित्सा क्षेत्रलगायतमा उपयोग भएका छन् । सुनमा गरगहनाको माग मात्र नभई अन्य माग पनि उत्तिकै हावी भएकोले आगामी दिनमा पनि सुनको मागमा कम हुने कुनै गुन्जायस् देखिँदैन । जबकि यो खानीबाट उत्खनन् हुने वस्तु भएकोले यसको उत्पादन तथा आपूर्ति महँगो मात्र होइन पर्याप्त हुन नसक्ने सम्भावनाहरू दिन प्रतिदिन बढ्दै गएको छ । सुनको मूल्य वृद्धिका अन्तर्राष्ट्रिय कारणहरू मुख्यरूपमा यसरी हेर्न सकिन्छ ।

(क) अर्थतन्त्रमा अनिश्चितता
जब विश्व अर्थतन्त्रमा अस्थिरता आउँछ (महँगी, ब्याजदर उतारचढाव, युद्ध, महामारी, मन्दी, बित्तिय संकट), लगानीकर्ताहरू बिकल्पमा “सुरक्षित सम्पत्ति” (Safe Haven) को रूपमा सुनमा आकर्षित हुन्छन् ।

(ख) डलरको मूल्य र मुद्रा स्फिर्ति
अमेरिकी डलर कमजोर हुँदा सुनको मूल्य प्रायः बढ्छ । मुद्रा स्फिर्ति उच्च हुँदा पनि सुनको माग बढ्छ, किनभने सुन मुद्रा स्फिर्तिबाट जोगाउने साधन हो ।

(ग) केन्द्रीय बैंकहरूको सुन खरिद
पछिल्लो वर्षमा भारत, चीन, टर्की, पोल्याण्ड जस्ता देशहरूले केन्द्रीय बैंकको भण्डारमा सुनको हिस्सा बढाइरहेका छन् । यसले मूल्य बढाउँछ।

(घ) भूराजनीतिक संकटहरू
युक्रेन–रुस युद्ध, इजरायल र अरब देशहरूको युद्ध, चीन र अमेरिकाको बीचको व्यापारिक टकराव जस्ता घटनाहरूले बजारमा डर बढाउँछ-जसले सुनको मूल्य माथि धकेल्छ ।

(ङ) आपूर्ति सीमित, माग बढ्दो
सुन खानीजन्य उत्पादन भएकोले नयाँ स्रोतहरू पत्ता लगाउन गाहे हुँदै गएको छ । अर्कोतर्फ सुनको माग भने प्रत्येक वर्ष बढ्दो छ । अन्तर्राष्ट्रिय कारणहरूले वार्षिक ५ देखि ८ प्रतिशत मूल्य बृद्धि भएपनि नेपाली बजारको सम्बन्धमा भन्नुपर्दा नेपाली मुद्राको अवमूल्यन र भन्सार दर फेर बदलको कारणले औसतमा वार्षिक २० प्रतिशतको हाराहारीमा मूल्य बृद्धि हुने पाइएको छ ।

नेपालमा सुनको मूल्य निर्धारण कसरी गरिन्छ ?

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय मूल्यको आधारमा तय गरिन्छ । यसमा डलरको बिनिमय दर, नेपालको भन्सार दर र नेपाल राष्ट्र बैंकले निर्धारण गरेको कार्यविधि २०६८ अनुसरण गर्दा दरभाउ निर्धारण गर्ने काम नेपाल सुनचाँदी व्यवसायी महासंघले गर्छ । सोही प्रक्रिया नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघले पनि गर्छ ।

सुनचाँदीको अन्तर्राष्ट्रिय मूल्य निर्धारण गर्ने काम लन्डन बुलियन मार्केट एशोसिएशन लगायतले गर्छन् । अन्तर्राष्ट्रिय बजारको माग र आपूर्ति हेरेर एशोसियसनका सदस्य बैंक प्रतिनिधिहरुले अन्तर्राष्ट्रिय मूल्य तय गर्छन् । जसमा HSBC Bank, JPMorgan Chase Bank, ICBC Standard Bank, UBS AG, Standard Chartered Bank, Morgan Stanley सहित रहेका छन् । उनीहरू ग्राहकहरूको माग (Buy orders) र आपूर्ति (Sell orders) मिलाएर सुनको मूल्य तोक्छन् ।

सो प्रक्रिया अहिले इलेक्ट्रोनिक अक्सन प्रणालीमार्फत् हुन्छ, जसमा पारदर्शिता र निश्पक्षता सुनिश्चित गरिन्छ । अहिले स्पट मूल्य निर्धारणमा kitco.com लगायत प्रभावकारी भूमिकामा रहेका छन् ।

सुनको मूल्य अझै बढ्न सक्ने प्रक्षेपण पनि भइरहेको छ । यसरी नै सुनको मूल्य बढ्ने हो भने कतिसम्म पुग्ने आकलन गर्नुभएको छ ?

सुनको मूल्य बढ्ने कारणहरू माथि भनि सकेँ । सोही अनुमान अनुसार अन्तर्राष्ट्रिय मूल्य ५ देखि ८ प्रतिशत बढ्ने हो भने नेपाली बजारमा सुनको मूल्य आगामी १० वर्षमा प्रतितोला ३ लाख देखि साडे ३ लाखको हाराहारी पुग्न सक्छ ।

यद्यपि सुनको मूल्य निर्धारणमा धेरै पक्ष जोडिएको हुन्छ । मन्दी, बिपत्ति वा युद्धको अवस्थामा जुन रूपमा भाउबृद्धि हुन्छ सामान्य अवस्थामा कम हुन्छ । कहिलेकाहीं केन्द्रीय बैंकले सुनको सञ्चिति कम गर्न धेरै टन सुन बजारमा छोड्दा सुनको मूल्य धेरै ओरालो लागेको उदाहरण पनि छन् ।

तीज नजिकिँदै छ, सबैभन्दा व्यापार हुने सिजनमा मूल्यवृद्धिको कारण ग्राहकहरू सुन किन्न नसक्ने अवस्थामा पुगेका छन् । यसले व्यापारलाई कस्तो असर गरिरहेको छ ?

एकातिर सुनको आधार मूल्य २ लाख हाराहारीको नजिक छ । अर्कोतिर सरकारले तहगत २ प्रतिशत बिलासिता कर लिने घोषणा गरिरहेको छ। यसले तीजमा आम उपभोक्तालाई आफ्नो पर्व धान्न धेरै सकस पर्ने देखिएको छ । सुनचाँदी व्यवसायमा भाउको कारण धेरै महिनादेखि मन्दी छाइरहेको यो प्रतिकुल समयमा सरकारले थप २ प्रतिशत बिलासिता कर र १३ प्रतिशत भ्याट लागू गर्ने भएपछि सुन एवं हीरा पत्थरका गरगहना नेपालीहरुको क्रयशक्तिभन्दा बाहिर पुग्ने निर्विवाद छ । यस्तो प्रतिकुल समयमा सरकारले सुनचाँदी व्यवसाय संरक्षण गर्न ध्यान केन्द्रीत गर्नुपर्छ न कि कुनै प्रकारको थप कर थोपर्न ।

यही अवस्था निरन्तर रहेमा व्यवसायीलाई व्यवसाय टिकाउन समस्या देखिएला नि ?

यही अवस्था निरन्तर रहेमा पक्कै पनि व्यवसायलाई निरन्तरता दिन कठिनाई हुनेछ । मूल्य बृद्धिले व्यवसायीको लगानी बढेको छ । जसअनुसार आफ्नो स्टक व्यवस्थापन गर्न प्रायले थप ऋणको जोहो गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पसल बहाल, बैंकको किस्ता, कालिगढ, कर्मचारी, मजदुरको तलब समस्या भइरहेको छ । यो प्रतिकुल समयमा सरकारले जति सकिन्छ सहुलियतको प्याकेज ल्याउनु पर्छ । सकिन्न भने राज्यले थप करको भार बोकाउनु हुदैन । व्यवसायीको मनोबल बढाउन व्यवसायीमैत्री नीति निर्माणले पनि व्यवसायीलाई आशावादी बनाउन सकिन्छ र पलायन रोक्न सकिन्छ । अर्कोतिर अब हामीले २२ क्यारेट, १८ क्यारेटका कम तौलका, कम मूल्यका गहनातिर पनि ध्यान केन्द्रीत गर्नुपर्ला । विदेशतिर प्रचलित खोक्रो (Hollow) ज्वेलरीका बजार बिस्तार गर्नुपर्ला । ताकि आम नेपालीको क्रयशक्तिले सजिलै किन्न सकोस् । अन्तमा यो अवसरको लागि तपाईको मिडियालाई धन्यवाद व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय