दिवा सपना र डरको राजनीति

नेपालको सुनचाँदी व्यवसाय आज जति कानुनी अन्योल, करको बोझ, र नीतिगत अव्यवस्थामा छ, त्यो विगतमा कमै देखिएको थियो। विलासिता कर, भ्याट, KYC, GoAML जस्ता प्रविधि र कानुनी प्रावधानहरू व्यवसायीहरू माथि एकपछि अर्को गरी थोपरिँदा व्यवसाय धरासायी हुँदै गएको स्पष्ट देखिन्छ। तर यस्तो अन्याय विरुद्ध स्पष्ट आवाज उठाउनुपर्ने व्यवसायी समुदाय आफै मौन छ—डरले थिचिएको, विभाजित, अनि रणनीति विहीन।

विलासिता कर तथा सुनचाँदी व्यवसायमा भएको ज्यादति विरुद्ध लेख लेखिन्छन्, तथ्यहरू प्रस्तुत गरिन्छन्, प्रश्नहरू उठाइन्छन् । तर त्यस्ता लेखहरू पढ्न, सेयर गर्न वा समर्थन गर्न पनि डराउने व्यवसायीहरूले आन्दोलन गरेर सरकारलाई चुनौती दिन्छन् भन्ने अपेक्षा गर्नु-वास्तवमै दिवा सपना हो।

यो डर, केवल राज्यप्रति मात्र होइन; आफन्त, प्रतिस्पर्धी, महासंघ वा नेतातर्फ पनि देखिन्छ। कतिपय व्यवसायीहरू नीजि रूपमा असन्तुष्ट छन् तर सार्वजनिक रूपमा भने “सब ठीक छ” भन्ने अभिनय गर्छन्। सामाजिक सञ्जालमा केही लेखको प्रतिक्रिया हेर्दा यस्तो देखिन्छ-सत्य बोल्नेहरूलाई समर्थन होइन, चुपचाप ‘लाइक’ वा ‘इन्बक्स समर्थन’ मात्रै !

यस्तो मानसिकता हुँदा आन्दोलन बलियो कसरी हुन्छ? जहाँ संगठनभित्रै आत्मबल छैन, त्यहाँ विरोधका स्वरहरू केवल सानो गुञ्जनजस्तै हराउँछन्। आन्दोलन भनेको भावनाको ज्वारभाटा होइन, सत्यप्रति निडर प्रतिबद्धता हो। नडराई लेख पढ्ने, बोलेको समर्थन गर्ने, अन्यायका विरुद्ध लामो समयसम्म टिक्न सक्ने क्षमता नै आन्दोलनको मेरुदण्ड हो।

राज्य कुनै व्यवसाय माथि कठोर नीति ल्याउँदा ‘कानुन हो’ भनेर आँखा चिम्लिन्छ भने, व्यवसायीहरूले आफ्नो मौनता लिएर शासनलाई मौन समर्थन दिएका हुन्। र त्यो मौनता, अन्ततः आफैंलाई नोक्सानदायक हुन्छ।

अब पनि व्यवसायीहरू लेख पढ्न डराउने, नाम खुलाएर बोलेका विरुद्ध कुहिरो हाल्ने, सामाजिक समर्थन देखाउन हिच्किचाउने मनस्थितिमा रहने हो भने आन्दोलनको कुरा केवल दिवा सपना हो-आँखा खुल्दा झन अँध्यारो देखिने सपना।

– लेखक नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय