भोटेकोशीको बाढी : जहाँ बाढीपीडित मात्र होइन, सिंगो गाउँ अभावमा छ

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍यायो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

तर कागजमा देखिने तथ्यांकभन्दा प्रभावित बस्तीमा पुगेर आफ्नै आँखाले देखेको वास्तविकता निकै भयावह थियो। भत्किएका घर, बगाइएका सडक, सुनसान बजार, आफन्तको खोजीमा भौँतारिरहेका परिवार र राहतको प्रतीक्षामा बसेका नागरिकका अनुहारले विपद्को वास्तविक पीडा देखाइरहेका थिए। बाढीले भौतिक संरचना मात्र बगाएको थिएन, धेरै परिवारको जीवनको आधार नै बगाएको थियो।

भदौ १३ गते हामी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि त्रिशूली बजार, बटार बजार, देवीघाट, महादेवघाट र गल्छीलगायतका क्षेत्रमा पुग्यौँ। नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मी बेपत्ता तथा मृतकको खोजी, उद्धार र शव व्यवस्थापनमा खटिएका थिए। कतिपय स्थानमा हेलिकप्टरमार्फत मानिसलाई वारिपारि ओसार्ने काम भइरहेको थियो। हिजोसम्म चहलपहल हुने बजारहरू सुनसान थिए। बजारमा मान्छेको भीड थिएन, तर हरेक अनुहारमा त्रास, पीडा र अनिश्चितता देखिन्थ्यो।

त्रिशूली बजारमा नगरप्रमुख, वडाध्यक्ष, स्थानीय व्यवसायी तथा अन्य सरोकारवालासँग भेटेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लियौँ। त्यस क्रममा एउटा गम्भीर समस्या सुनियो-वारिपट्टि केही राहत पुगे पनि पारिपट्टिका बस्तीमा सडक अवरुद्ध भएका कारण राहत पुर्‍याउन कठिन भइरहेको थियो। त्यसपछि हामीले पारिपट्टिका प्रभावित बस्तीमा पुगेरै राहत वितरण गर्ने निर्णय गर्‍यौँ।

बाढीका कारण टिमुरे, स्याप्रुबेँसी, मैलुङ, शान्तिबजार, सोलेबजार, तुप्चे, भैँसे, त्रिशूली बजार, बटार बजार, देवीघाट, महादेवघाटलगायतका क्षेत्र प्रभावित भएका थिए। सडकको अवस्था अत्यन्त खराब भएकाले सबै ठाउँमा पुग्न सम्भव थिएन। त्यसैले नुवाकोटको विदुर-७ तुप्चे, कोलनी क्याम्प, विदुर-३ देवीघाट वडा कार्यालय तथा बुधसिङघाट क्षेत्रमा राहत पुर्‍याउने निर्णय गर्‍यौँ।

धादिङको बाँकी रहेको पहेँलो पुल पार गरेपछि बाटो झन् कठिन हुँदै गयो। साँघुरो, चिप्लो र ठाउँ-ठाउँमा भत्किएको सडक, बाटोमै बिग्रिएका सवारीसाधन र पहिरोको जोखिमका कारण यात्रा सहज थिएन । सामान्य अवस्थामा केही घण्टामै पार हुने दूरी पार गर्न हामीलाई करिब नौ घण्टा लाग्यो। यात्रा गर्दागर्दै रात परिसकेको थियो। बस्नका लागि होटलसमेत थिएन। हामी करिब १७ जना थियौँ। त्यही बेला स्थानीय प्रकाश भाइले हामीलाई आफ्नै घरमा बस्न आग्रह गर्नुभयो।

रातको करिब नौ बजिसकेको थियो। बाहिर ठूलो पानी परिरहेको थियो। अपरिचित मानिसका लागि आफ्नै घरको ढोका खोल्नु सामान्य कुरा होइन। तर उहाँले हामीलाई आफ्नै परिवारजस्तै व्यवहार गर्नुभयो। १७ जनाका लागि खाना पकाएर खुवाउनुभयो र रात बिताउने ठाउँ दिनुभयो। विपद्ले सबैतिर मानवता खोजिरहेको बेला उहाँको त्यो व्यवहारले हामीलाई गहिरोसँग छोयो। त्यो रात हामीले केवल खाना खाएनौँ, मानवताको स्वाद पनि महसुस गर्‍यौँ।

भोलिपल्ट बिहान करिब ७ बजे हामी पारिपट्टिको क्याम्पतर्फ लाग्यौँ। स्थानीय वडाध्यक्ष तथा जनप्रतिनिधिसँग समन्वय गरेर राहत सामग्री वितरण गर्‍यौँ। केही सामग्री वडा कार्यालयको जिम्मामा लगायौँ। राहत लिन आएका पीडितसँग कुराकानी गर्दै उनीहरूको अवस्था बुझ्दा मन झन् भारी भयो।

बाढीले घर र सम्पत्ति बगाएपछि कतिपय परिवार आफन्तको घरमा आश्रय लिएर बसेका थिए। आफन्तले आफ्नो क्षमताले भ्याएसम्म खाना पकाएर खुवाइरहेका थिए। तर केही दिनमै उनीहरूकै घरमा समेत खाद्यान्न सकिन थालेको रहेछ।

त्यहाँ देखिएको सबैभन्दा पीडादायी अवस्था थियो-पैसा भएर पनि सामान किन्न नपाउनु। बजार थिएन, पसल थिएन, बजार पुग्ने बाटो थिएन। राहत बोकेर आउने सवारीसाधनलाई समेत घण्टौँ लाग्थ्यो। त्यहाँ बाढीपीडित मात्र होइन, सम्पूर्ण गाउँ नै अभावको चपेटामा परेको थियो।

काठमाडौँबाट सामान लिएर जाँदा आठ-नौ घण्टा लाग्ने अवस्था थियो। त्यस क्षण हामीले महसुस गर्‍यौँ-दुर्गम बस्तीमा राहतको मूल्य सामानको मात्र हुँदैन, समयमै पुग्नु नै सबैभन्दा ठूलो सहयोग रहेछ। एउटा बोरा चामल, एउटा कार्टुन औषधि वा एउटा आवश्यक सामग्री त्यहाँका लागि सामान्य वस्तु थिएन; त्यो कठिन परिस्थितिमा जीवन धान्ने आधार बनेको थियो।

राहत वितरणपछि विदुर-३ का वडाध्यक्ष बिरामी भएकाले प्रत्यक्ष भेट्न सम्भव भएन। स्थानीय प्रतिनिधिसँग समन्वय गरी त्यहाँका लागि आवश्यक सामग्री हस्तान्तरण गर्‍यौँ। त्यसपछि प्रभावित व्यवसायीहरूसँग भेटेर उनीहरूको अवस्थाबारे जानकारी लियौँ। बाढीले सर्वसाधारणको घर मात्र होइन, व्यवसायको आधारसमेत तहसनहस बनाएको रहेछ।

फर्किने क्रममा छोटो बाटो रोज्यौँ। खोला किनार हुँदै हिँड्नुपर्ने बाटो थियो। हामी हिँडेको बाटोभन्दा माथिसम्म पानी पुगिसकेको थियो। चिप्लो र जोखिमपूर्ण बाटोमा निकै सावधानीपूर्वक अघि बढ्यौँ। एकातिर खोलाको ठूलो आवाज, अर्कोतिर पहिरोको डर। हरेक पाइला जोखिमपूर्ण थियो।

धादिङको पुल पार गरेर गल्छी पुग्दा रातको आठ बजिसकेको थियो। त्यहाँ खाजा खाएपछि काठमाडौँतर्फ लाग्यौँ। काठमाडौँ आइपुग्दा बल्ल केही ढुक्क महसुस भयो। तर हाम्रो मन भने अझै त्यही बस्तीमा थियो।

बाढीबाट भएको क्षतिसम्बन्धी प्रारम्भिक विवरणअनुसार ५ हजार ८३ जना अझै बेपत्ता छन्। ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ३७ वटा मोटरेबल पुल र ५३ वटा झोलुङ्गे पुल प्रभावित भएका छन्। ४८ वटा सरकारी संरचना, १८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्था प्रभावित भएका छन्।

१ हजार ८०६ हेक्टर कृषि जमिन प्रभावित भएको छ। ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आएको छ। ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ भने १३ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन्।

यी केवल तथ्यांक होइनन्। प्रत्येक अंकको पछाडि एउटा परिवार छ, एउटा घर छ, एउटा सपना छ, कसैको जीवनभरको कमाइ छ र कसैको परिवारको सदस्य हराइरहेको छ। तथ्यांकले क्षतिको आकार बताउँछ, तर पीडितको आँसुले त्यसको गहिराइ बताउँछ।

बाढीले घर मात्र बगाएको छैन, धेरै परिवारको भविष्य नै बगाएको छ। प्रभावित क्षेत्रमा पुग्दा एउटा कुरा स्पष्ट देखियो-राहत तत्काल आवश्यक छ, तर राहतपछि आउने पुनःस्थापनाको चुनौती अझ ठूलो छ। घर गुमाएका परिवारलाई सुरक्षित बास चाहिएको छ। व्यवसाय गुमाएकालाई पुनः व्यवसाय सुरु गर्ने वातावरण चाहिएको छ। कृषकलाई फेरि खेती गर्ने आधार चाहिएको छ। बालबालिकालाई विद्यालय फर्किने वातावरण चाहिएको छ। भौतिक संरचना पुनःनिर्माण गर्नुपर्नेछ, तर त्यससँगै बाढीले भत्काएको मानिसको मन र भरोसा पनि जोड्नुपर्नेछ।

हामी सुरक्षित ठाउँमा बसेर बाढीको समाचार पढिरहेका छौँ, सामाजिक सञ्जालमा तस्बिर र भिडियो हेरिरहेका छौँ। तर त्यहाँ अझै धेरै परिवार चिसो रात काटिरहेका छन्। धेरैका घर छैनन्, धेरैका खानेकुरा सकिएका छन् र धेरै परिवार अझै आफ्ना आफन्त फर्केर आउने प्रतीक्षामा छन्। उनीहरूलाई अहिले भाषणभन्दा व्यवहार चाहिएको छ, सहानुभूतिभन्दा सहयोग चाहिएको छ र आश्वासनभन्दा साथ चाहिएको छ।

त्यसैले यो समय केवल दुःख व्यक्त गर्ने समय होइन। यो समय सकेको सहयोग गर्ने समय हो। सक्नेले सहयोग गरौँ, नसक्नेले सहयोगी हातसम्म सूचना पुर्‍याऔँ र पीडितको आवाज बनौँ। आज हामीले दिएको सानो सहयोग कसैका लागि एक छाक खाना हुन सक्छ, कसैका लागि औषधि, कसैका लागि आश्रय र कसैका लागि फेरि बाँच्ने हिम्मत हुन सक्छ।

विपद्को समयमा ठूलो सहयोगको प्रतीक्षा गरिरहनुपर्दैन। एउटा परिवारलाई केही दिनको खाद्यान्न, एउटा बालबालिकालाई पढ्ने सामग्री, एउटा व्यवसायीलाई व्यवसाय पुनःसुरु गर्ने सानो आधार वा एउटा घरपरिवारलाई सुरक्षित रात बिताउने ठाउँ-यी सबै सहयोगका रूप हुन्। अहिले आवश्यक छ हातमा हात मिलाउने, दुःखमा साथ दिने र राहतदेखि पुनःस्थापनासम्म पीडितसँगै उभिने प्रतिबद्धता।

भोटेकोशीको बाढीले सडक बगायो, घर बगायो, पुल बगायो, खेत बगायो र धेरै परिवारको जीवनको आधार बगायो। तर विपद्को यो भेलले हाम्रो मानवता बगाउन नपाओस्। प्रभावित बस्तीमा पुगेर देखेको सबैभन्दा ठूलो आवश्यकता यही हो-उनीहरूलाई दया होइन, साथ चाहिएको छ; सहानुभूति मात्र होइन, सहयोग चाहिएको छ।

सबैभन्दा ठूलो कुरा, उनीहरूलाई यो महसुस गराउनुपर्छ कि उनीहरू एक्ला छैनन्। हामी छौँ, हामी उनीहरूको साथमा छौँ। बाढीले बस्ती बगायो, तर हाम्रो मानवता बग्न नदिऔँ।

(लेखक – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय सदस्य तथा नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका सचिव हुनुहुन्छ। )

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय