चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम उद्धार कोषमा सहयोग गरेको हो ।
आज बिहीबार संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले कोषमा रकम दाखिला गरेको भौचर भरतपुर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष केशव महर्जनलाई हस्तान्तरण गर्नुभयो ।
अध्यक्ष विश्वकर्माले विपद्को समयमा पीडितको साथमा उभिनु व्यवसायीको सामाजिक दायित्व भएको बताउनुभयो। “विपद्मा पीडितको दुःखमा साथ दिनु हाम्रो जिम्मेवारी हो । सहयोग सानो भए पनि यसले राहत र उद्धारमा योगदान पुर्याउँछ,” उहाँले भन्नुभयो ।
यसअघि संघले एकद्वार राहत संकलन अभियानअन्तर्गत नेपाल सुनचाँदी व्यवसायी महासंघलाई ३ लाख २६ हजार ९ सय ४२ रुपैयाँ र चितवन उद्योग वाणिज्य संघलाई १ लाख ५० हजार ५ सय रुपैयाँ सहयोग गरिसकेको छ ।
वडा अध्यक्ष महर्जनले विपद्को समयमा सुनचाँदी व्यवसायी संघ चितवनले गरेको सहयोग प्रशंसनीय रहेको बताउँदै राहत तथा उद्धारमा निजी क्षेत्रको सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १ का वडा सदस्यहरू मनोज घिमिरे, राममाया पिया, नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवनज्योति विश्वकर्मा, सल्लाहकार रणेन्द्र बराली, महासंघ बागमती प्रदेश सदस्य टेकबहादुर विश्वकर्मा (दिनेश), सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर खाती वि.क, वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क., महासचिव गोपालबहादुर थापा वि.क., कोषाध्यक्ष रमेशचन्द्र सदाशंकर, सचिव प्रेमबहादुर विश्वकर्मा, सुनचाँदी व्यवसायी महिला समूह चितवनकी अध्यक्ष कल्पना गोतामे लगायत सुनचाँदी व्यवसायी संघ चितवनका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।







