चितवन । चितवन उद्योग वाणिज्य संघ (उवासंघ) ले बाढीपीडितका लागि सञ्चालन गरेको राहत संकलन अभियानमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले १ लाख ५० हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम राहत कोषमा सहयोग गरेको हो। बिहीबार आयोजित कार्यक्रममा संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले सहयोग रकम चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई हस्तान्तरण गर्नुभयो।
राहत हस्तान्तरण गर्दै अध्यक्ष विश्वकर्माले विपद्का बेला पीडित नागरिकको साथमा उभिनु व्यवसायीको पनि सामाजिक दायित्व भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “व्यवसायबाट प्राप्त आम्दानीको एउटा हिस्सा समाज र विपद्मा परेका नागरिकका लागि खर्चिन सक्नु नै वास्तविक सामाजिक उत्तरदायित्व हो। अहिलेको संकटमा राहतको रकम सानो-ठूलोभन्दा पनि पीडितसम्म समयमै सहयोग पुग्नु महत्वपूर्ण छ। त्यसैले उद्योग वाणिज्य संघ चितवनले सञ्चालन गरेको एकद्वार राहत संकलन अभियानमा हाम्रो संस्थाको तर्फबाट सहयोग गरेका हौँ।”
उवासंघ चितवनका अध्यक्ष सुवेदीले सुनचाँदी व्यवसायी संघ चितवनले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै निजी क्षेत्रबीचको सहकार्यले विपद्को समयमा राहत अभियानलाई थप प्रभावकारी बनाउने बताउनुभयो।
उहाँले भन्नुभयो, “विपद्को समयमा निजी क्षेत्रले देखाएको एकता र सहकार्य नै पीडितका लागि ठूलो भरोसा हो। सुनचाँदी व्यवसायी संघ चितवनले गरेको यो सहयोगले राहत अभियानलाई थप बलियो बनाएको छ। प्राप्त सहयोगलाई पारदर्शी र प्रभावकारी ढंगले वास्तविक पीडितसम्म पुर्याउन हामी प्रतिबद्ध छौँ।”
उद्योगी-व्यवसायी तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगलाई एकीकृत गर्दै उवासंघ चितवनले राहत संकलन अभियान सञ्चालन गरिरहेको जनाएको छ। अभियानमार्फत संकलित सहयोग बाढी तथा डुबानबाट प्रभावित परिवारको आवश्यकता पहिचान गरी राहत वितरणमा प्रयोग गरिने बताइएको छ।
विपद्को समयमा व्यवसायीबाट निरन्तर सहयोग जुट्नुले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको छ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघकी केन्द्रीय सदस्य ऋतु विश्वकर्मा, सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क., निवर्तमान अध्यक्ष डा. यमबहादुर वि.के., तृतीय उपाध्यक्ष शोभा बराली, महासचिव गोपालबहादुर थापा वि.क., कोषाध्यक्ष रमेशचन्द्र सदाशंकर, सचिव प्रेमबहादुर विश्वकर्मालगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।





