बाढीपीडितका लागि रत्ननगर सुनचाँदी व्यवसायी संघ र महिला समूहद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

चितवन (टाँडी) । विपद्मा परेका नागरिकको सहयोगका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सञ्चालन गरेको एकद्वार राहत संकलन अभियानमा रत्ननगर सुनचाँदी व्यवसायी संघ टाँडी, चितवन र रत्ननगर सुनचाँदी व्यवसायी महिला समूहले संयुक्त रूपमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

रत्ननगर सुनचाँदी व्यवसायी संघ टाँडी र रत्ननगर सुनचाँदी व्यवसायी महिला समूहको संयुक्त सहभागितामा संकलन गरिएको उक्त रकमको भौचर बिहीबार महासंघका सचिव टुलकप्रसाद विश्वकर्मासहित प्रवक्ता जीवनज्योति विश्वकर्मा, केन्द्रीय सदस्य ऋतु विश्वकर्मा र स्वकीय प्रेस सल्लाहकार अमिर रामदामलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको हो ।

भौचर रत्ननगर सुनचाँदी व्यवसायी संघ टाँडीका अध्यक्ष दीपक विश्वकर्मा र रत्ननगर सुनचाँदी व्यवसायी महिला समूहकी अध्यक्ष निशा घामल्लेले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो ।

राहत हस्तान्तरण गर्दै अध्यक्ष दीपक विश्वकर्माले व्यवसायीहरू केवल आफ्नो व्यवसाय र आर्थिक गतिविधिमा सीमित नरही समाजमा आइपर्ने संकटका बेला पनि जिम्मेवार भएर उभिनुपर्ने बताउनुभयो । विपद्को समयमा गरिएको सानो सहयोगले पनि पीडित परिवारलाई ठूलो हौसला दिन सक्ने भएकाले संघका तर्फबाट राहत अभियानमा सहभागिता जनाइएको उहाँको भनाइ थियो ।

महिला समूहकी अध्यक्ष निशा घामल्लेले विपद्को पीडामा महिला व्यवसायीहरूको समेत साझा संवेदना जोडिनुपर्ने बताउनुभयो । व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले संघसँग सहकार्य गरी राहत अभियानमा सहभागी भएको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक सेवाका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भौचर ग्रहण गर्दै महासंघका सचिव टुलकप्रसाद विश्वकर्माले देशका विभिन्न ठाउँमा रहेका व्यवसायी तथा संघसंस्थाबाट प्राप्त सहयोगले राहत अभियानलाई थप बलियो बनाएको बताउनुभयो । एकद्वार प्रणालीमार्फत संकलित सहयोगलाई वास्तविक प्रभावितसम्म पुर्‍याउने अभियानमा सबैको साथ महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

महासंघका प्रवक्ता जीवनज्योति विश्वकर्माले राहत संकलनमा रत्ननगरका व्यवसायी तथा महिला समूहले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । विपद्का बेला व्यवसायी समुदायले देखाएको सामाजिक संवेदनाले व्यवसाय र समाजबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उहाँले उल्लेख गर्नुभयो ।

महासंघकी केन्द्रीय सदस्य ऋतु विश्वकर्माले राहत सहयोग रकमभन्दा पनि विपद्को समयमा देखाइने एकता, सद्भाव र सहकार्य महत्वपूर्ण हुने बताउनुभयो । रत्ननगरका व्यवसायी र महिला समूहको संयुक्त सहभागिताले संस्थागत सहकार्यको सकारात्मक सन्देश दिएको उहाँको भनाइ थियो ।

महासंघले विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको एकद्वार राहत संकलन अभियानमा देशभरका सुनचाँदी व्यवसायी, संघसंस्था तथा महिला समूहहरूबाट सहयोग जुटिरहेको छ । महासंघले प्राप्त सहयोगलाई व्यवस्थित रूपमा परिचालन गर्दै प्रभावितको आवश्यकता सम्बोधन गर्ने उद्देश्य राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय