नेपालको सुनचाँदी व्यवसाय अहिले गहिरो संकटको घेरामा छ। सरकारले जथाभावी कर असुली गर्दै, वर्षौँदेखि यस पेशामा श्रम दिँदै आएका कालिगढहरूलाई ‘कारखानामा सुन भएको’ मात्र आधारमा अपराधीसम्मको दर्जा दिँदैछ। लागूऔषध तस्करभन्दा पनि तल्लो व्यवहार भोगिरहेका यी कालिगढहरू प्रहरीको धरपकड, जथाभावी खानतलासी र सार्वजनिक अपमानको सिकार भइरहेका छन्। दरभाउ आकाशिँदै गएको छ, व्यापार सुन्यतिर झरेको छ।
तर यति ठूलो संकटको बिचमा पनि, यही पेशामा संलग्न केही व्यवसायी र तिनका कर्मचारी–इष्टमित्रहरू सामाजिक सञ्जालमा सुनचाँदीका गरगहनाले टम्म भरिएका फोटो र भिडियो सजाउन व्यस्त छन्। सहकर्मीहरू रोजगारी गुमाउँदै छन्, पसलहरू जोखिममा छन्, तर उनीहरूलाई यति चेत छैन कि ढिलो-चाँडो उनीहरूको पनि पसल वा शो-रूम सरकारी नियन्त्रणको सूचीमा पर्न सक्छ।
विगतमा पनि बजारले आफ्नो मर्यादा, संवेदनशीलता र कमजोरीको ख्याल नगरी गलत बाटो लिएको इतिहास छ। केही व्यवसायीहरू बजारमा भाडा तिर्न, गरगहनाको विज्ञापनमा होडबाजी गर्न, ज्याला घटाउन, पसल सजाउन र सामाजिक सञ्जालमा चम्कन प्रतिस्पर्धी बने। संघ-महासंघ, सुरक्षा विभाग र कर विभागको चेतावनी, प्रशिक्षण वा मार्गनिर्देशनलाई बेवास्ता गरियो। आजको संकट त्यही बेवास्ता र लापरबाहीको प्रतिफल हो।
संकटकालमा हामीले पहिले पनि देखेका थियौँ- प्रहरी होटल, पसल र घरमै पसेर धरपकड गर्थ्यो, जथाभावी गाली हुन्थ्यो, खानतलासी हुन्थ्यो। अहिले सुनचाँदी व्यवसायमा त्यही वरवर्तापूर्ण व्यवहार दोहोरिँदै छ। नीति-नियम निर्माणमा ढिलासुस्ती अझै जारी छ, समाधानको स्पष्ट संकेत छैन।
अब समय आएको छ- पेशागत एकता र अनुशासनलाई प्राथमिकता दिन र सरकारसँग कडाइका साथ आफ्नो हकहितका लागि बोल्न। अन्यथा, यो पेशा मात्र होइन, यसका व्यवसायीहरू पनि अन्ततः ‘घर न घाटका’ बन्नेछन्।



