प्यूठानको सुनचाँदी व्यवसाय : इतिहास, वर्तमान र सम्भावनाको यात्रा

परिचय

प्यूठान नेपालको ऐतिहासिक पहाडी जिल्लामध्ये एक हो । नेपालमा ३५ जिल्ला रहेको प्रशासनिक संरचनाको समयदेखि नै प्यूठान छुट्टै जिल्लाका रूपमा परिचित थियो । पछि यसको केही भूभाग रोल्पा जिल्लामा समायोजन गरिएको हो ।

सडक यातायातको पर्याप्त विकास हुनुअघि प्यूठान, विशेषगरी खलंगा आसपासका बासिन्दाहरूको प्रमुख व्यापारिक केन्द्र पाल्पाको तानसेन र बुटवल थिए । दैनिक उपभोग्य सामग्री, विशेषतः नुन, तेल तथा अन्य आवश्यक वस्तु खरिद गर्न कतिपय स्थानीय बासिन्दा भारतीय सीमावर्ती बजार कृष्णनगर, बढनी र कोइलावाससम्म पुग्ने गर्दथे । यातायात र बजार व्यवस्थाको विस्तारसँगै ती दिनहरू आज इतिहासका पानामा सीमित भएका छन् ।

साविक राप्ती अञ्चलअन्तर्गत रहेको प्यूठान पहाडी जिल्ला हो । पहाड, बेँसी र टारले सुसज्जित यस जिल्लाको प्राकृतिक सौन्दर्य अनुपम छ । समुद्री सतहबाट करिब ३०५ मिटरदेखि ३,६५९ मिटरसम्म फैलिएको उचाइ र १,३०९ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित प्यूठान प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताले सम्पन्न जिल्ला हो ।

नेपालको प्रशासनिक पुनर्संरचनापछि केही समय प्यूठान स्वर्गद्वारी अञ्चलमा समेत समावेश गरिएको थियो । हाल यो जिल्ला लुम्बिनी प्रदेश अन्तर्गत पर्दछ । अर्घाखाँची, गुल्मी, बागलुङ, रोल्पा र दाङ जिल्लासँग सिमाना जोडिएको प्यूठान साविकमा ४९ वटा गाविसमा विभाजित थियो भने हाल संघीय संरचनाअनुसार नौ वटा स्थानीय तह रहेका छन् ।

सुनचाँदी व्यवसायको इतिहास

प्यूठानमा सुनचाँदी व्यवसायको इतिहास निकै पुरानो छ । कुनै समय यहाँका सुनचाँदी व्यवसायीहरू आवश्यक सामग्री झोलामा बोकेर गाउँ-गाउँ पुग्ने गर्थे । उनीहरू घर-घर र आँगन-आँगनमा पुगेर गरगहना बनाउने, मर्मत गर्ने तथा आवश्यक सेवा प्रदान गर्ने चलन थियो । त्यतिबेला स्थायी पसलभन्दा पनि घरदैलोमै पुगेर सेवा दिने परम्परा प्रचलित थियो ।

समयसँगै यातायात, बजार र व्यापारिक वातावरणमा आएको परिवर्तनले सुनचाँदी व्यवसाय पनि आधुनिक बन्दै गयो । व्यवसायीहरूले स्थायी घर, कोठा तथा सटर भाडामा लिएर बजार केन्द्रीत रूपमा व्यवसाय सञ्चालन गर्न थाले । यसले व्यवसायलाई व्यवस्थित, विश्वसनीय र ग्राहकमैत्री बनाउँदै लग्यो ।

अग्रज व्यवसायीहरूबाट प्राप्त जानकारी तथा उपलब्ध अभिलेखका आधारमा प्यूठान जिल्लामा २०२० सालदेखि नै सुनचाँदी व्यवसाय सञ्चालन हुँदै आएको पाइन्छ । त्यस समय विभिन्न स्थानमा कार्यरत अग्रज व्यवसायीहरूले कठिन परिस्थितिमा पनि आफ्‌नो सीप, मिहिनेत र इमान्दारिताका साथ यस पेशालाई निरन्तरता दिएका थिए ।

तत्कालीन तुषारा गाविसका डल्ले सुनार, सार्के सुनार, जिते सुनार, धुमे सुनार र नेप्टे सुनार, खलंगा-९ बुढाचौरका तकबहादुर सुनार, धर्मावतीका भानु सुनार, बिजुवारका झमाने सुनार, रस्पुरकोट-सराङबेँसीका तसबहादुर सुनार, खैरा-दरभानका अमृत सुनार र सर्जनबहादुर सुनार, रम्दीका लिलापसिंह गहतराज, गोठीवाङका भीमबहादुर सुनार र ढुनबहादुर सुनार, दाखाक्वाडीका लक्ष्मण पन्थी तथा खलंगाका चुमाने सुनारलगायतका अग्रजहरूले प्यूठानमा सुनचाँदी व्यवसायलाई स्थापित गर्न उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

त्यतिबेला व्यवसायीहरूको कुनै औपचारिक संस्था थिएन । तथापि अग्रज व्यवसायीहरूको अनुभव, स्थानीय परम्परा तथा उपलब्ध सीमित दस्तावेजका आधारमा प्यूठानमा सुनचाँदी व्यवसायको इतिहास लामो र गौरवपूर्ण रहेको पुष्टि हुन्छ । उनीहरूले कठिन परिस्थितिमा पनि व्यवसायलाई निरन्तरता दिँदै आजको पुस्ताका लागि बलियो आधार निर्माण गरेका छन् ।

प्यूठानमा सुनचाँदी व्यवसायको संस्थागत विकास

प्यूठानमा सुनचाँदी व्यवसायको इतिहास लामो भए पनि लामो समयसम्म यस क्षेत्रमा आबद्ध व्यवसायीहरूको कुनै औपचारिक संस्था थिएन । व्यवसायीहरूले व्यक्तिगत रूपमा आफ्‌नो पेशा सञ्चालन गर्दै आएका थिए । तर समयक्रमसँगै व्यवसायीहरूको हक-हित संरक्षण, व्यवसायमा देखिएका समस्या समाधान तथा आपसी समन्वयका लागि साझा संस्थाको आवश्यकता महसुस हुन थाल्यो ।

यसै आवश्यकतालाई आत्मसात् गर्दै २०५९ सालमा तत्कालीन बिजुवार गाविसका इमानसिंह गहतराजको नेतृत्वमा ११ सदस्यीय प्यूठान सुनचाँदी व्यवसायी संघ गठन भएको इतिहास पाइन्छ । यही संस्थाको स्थापनासँगै जिल्लाको सुनचाँदी व्यवसायले संगठित रूप लिन थालेको हो।

संस्था गठनपछि व्यवसायीहरूबीच आपसी सहकार्य बढ्दै गयो । व्यवसायसँग सम्बन्धित साझा समस्या समाधान, व्यवसायी तथा कालिगढको हक-हित संरक्षण, सरकारी निकायसँग समन्वय तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यका साथ संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्न थाल्यो ।

२०६२ सालदेखि २०६४ सालसम्म रामबहादुर विकले अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । उहाँको कार्यकालमा संस्थालाई सक्रिय राख्ने प्रयास भए पनि त्यसपछिका केही वर्ष संस्था अपेक्षाअनुसार सक्रिय रहन सकेन । विभिन्न कारणले करिब २०७१ सालसम्म संस्थाका गतिविधि सुस्त बने।

यद्यपि संस्था निष्क्रिय भए पनि व्यवसाय भने निरन्तर सञ्चालन भइरह्यो । नयाँ पुस्ताका व्यवसायीहरूले संगठित संस्थाको आवश्यकता झन् बढी महसुस गर्न थाले । व्यवसायी तथा कालिगढको हक-हित संरक्षण, व्यवसायको विकास तथा आपसी सहकार्यका लागि संस्थालाई पुनः सक्रिय बनाउनुपर्ने निष्कर्षमा व्यवसायीहरू पुगे ।

यसैक्रममा २०७१ सालदेखि संस्थापक अध्यक्ष इमानसिंह गहतराजकै नेतृत्वमा संस्था पुनः सक्रिय बनाइयो । विधान संशोधन, दर्ता नवीकरण तथा आवश्यक कागजी प्रक्रिया पूरा गरी संस्थालाई नयाँ ढंगले सञ्चालनमा ल्याइयो ।

संस्थागत प्रक्रिया पूरा भएपछि २०७४ सालदेखि मल्लरानी गाउँपालिका-४, खलंगाका रामचन्द्र सुनारलाई अध्यक्षको जिम्मेवारी प्रदान गरियो । उहाँको नेतृत्वमा संस्था निरन्तर सक्रिय रहँदै आएको छ । संस्थाले व्यवसायीबीच एकता कायम गर्ने, व्यवसायको मर्यादा बढाउने, कालिगढको हित संरक्षण गर्ने तथा व्यवसायसँग सम्बन्धित समस्या समाधानका लागि निरन्तर पहल गर्दै आएको छ ।

यसरी प्यूठानमा सुनचाँदी व्यवसायको संस्थागत विकासले व्यवसायीहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै व्यवसायलाई थप व्यवस्थित, जिम्मेवार र सुदृढ बनाउने आधार तयार गरेको छ ।

प्यूठानमा सुनचाँदी व्यवसायको वर्तमान अवस्था र एकताको आवश्यकता

हाल प्यूठान जिल्ला सुनचाँदी व्यवसायका लागि सुरक्षित, शान्त र सम्भावनायुक्त जिल्लाका रूपमा परिचित छ । यहाँका स्थानीय व्यवसायी मात्र होइन, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, रुपन्देही तथा बागलुङ जिल्लाबाट समेत व्यवसायीहरू आएर लगानी गरी व्यवसाय सञ्चालन गरिरहेका छन् । यसले प्यूठानमा व्यवसायिक वातावरणप्रति व्यवसायीहरूको विश्वास र आकर्षण बढ्दै गएको स्पष्ट देखाउँछ ।

अहिलेसम्म सामान्य चोरीका घटना बाहेक सुनचाँदी व्यवसायलाई प्रत्यक्ष असर पर्ने ठूला आपराधिक घटना नभएको अवस्था छ । यसले व्यवसाय सञ्चालनका लागि अपेक्षाकृत सुरक्षित वातावरण रहेको पुष्टि गर्दछ । शान्तिपूर्ण सामाजिक परिवेश, स्थानीय समुदायको सहयोग तथा व्यवसायीहरूबीचको आपसी विश्वासले पनि यस व्यवसायलाई थप सुदृढ बनाएको छ ।

यद्यपि, सुनचाँदी व्यवसायीहरूको साझा संस्था हुँदाहुँदै पनि समयक्रममा केही प्राविधिक तथा संगठनात्मक असहमतिका कारण व्यवसायीहरूबीच विभाजनको अवस्था सिर्जना भएको देखिन्छ । अधिवेशनका क्रममा उत्पन्न मतभेदपछि अनिल गहतराजको अध्यक्षतामा प्यूठान सुनचाँदी आभूषण व्यवसायी संघ नामक अर्को संस्था स्थापना भएको उल्लेख पाइन्छ ।

लोकतान्त्रिक अभ्यासमा विचार र नेतृत्वका विषयमा मतभिन्नता हुनु स्वाभाविक हो । तर व्यवसायीहरूको साझा हित, व्यवसायको विकास तथा कालिगढ र श्रमिकहरूको अधिकार संरक्षणका लागि संस्थागत एकता अझ महत्वपूर्ण हुन्छ । व्यवसायीहरू विभाजित हुँदा उनीहरूको आवाज कमजोर बन्न सक्छ, जबकि एकताबद्ध भएर अघि बढ्दा साझा समस्या समाधान गर्न सहज हुन्छ ।

संस्था केवल पद र नेतृत्वका लागि मात्र होइन, व्यवसायी, कालिगढ तथा सम्पूर्ण व्यवसायको हक-हित संरक्षण गर्ने साझा मञ्च हो । त्यसैले व्यक्तिगत मतभेदभन्दा माथि उठेर साझा उद्देश्यका साथ सहकार्य गर्नु आजको आवश्यकता हो ।

यस सन्दर्भमा प्यूठानमा पहिलोपटक स्थापना भएको नेपाल सुनचाँदी व्यवसायी संघ, प्यूठानले सबै व्यवसायीबीच संवाद, समन्वय र विश्वासको वातावरण निर्माण गर्दै संस्थागत एकतालाई अझ सुदृढ बनाउन पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । आपसी सहकार्य र एकताले मात्र व्यवसायको दीर्घकालीन विकास सम्भव हुने भएकाले सबै पक्ष सकारात्मक सोचका साथ एउटै उद्देश्यतर्फ अघि बढ्नु समयको माग हो ।

अवसर र चुनौती

सुनचाँदी व्यवसायमा आबद्ध व्यवसायीहरूको हक-हितको संरक्षण, गरगहनाको खरिद-बिक्रीलाई व्यवस्थित बनाउने तथा व्यवसायमा देखिएका समस्या समाधान गर्ने जिम्मेवारी व्यवसायीहरूको साझा संस्थाको हो । त्यसैले संस्था व्यवसायी, कालिगढ र उपभोक्ताबीच समन्वय कायम गर्दै व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन निरन्तर सक्रिय रहनुपर्छ ।

नेपालको अर्थतन्त्रमा सुनचाँदी व्यवसायले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यो व्यवसाय केवल गरगहना उत्पादन र बिक्रीमा सीमित छैन, बरु यसले हजारौँ व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरेको छ । साथै राज्यको राजस्व वृद्धि, स्थानीय बजारको विस्तार तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको छ ।

व्यवसाय दिगो र व्यवस्थित रूपमा सञ्चालन हुनका लागि व्यवसायीमैत्री वातावरण आवश्यक हुन्छ । सरकारले व्यवसायीलाई सुरक्षित र सम्मानजनक वातावरण उपलब्ध गराउनुका साथै कच्चा पदार्थको सहज आपूर्ति, प्रभावकारी शान्ति-सुरक्षा तथा स्पष्ट र व्यवहारिक नीति सुनिश्चित गर्नुपर्छ । यस्ता आधारभूत व्यवस्था बिना व्यवसायलाई प्रतिस्पर्धी र दीर्घकालीन बनाउन कठिन हुन्छ ।

सुनचाँदी व्यवसाय सरकार, उपभोक्ता, व्यवसायी र कालिगढबीचको साझा सम्बन्धमा आधारित व्यवसाय हो । उपभोक्ताले गुणस्तरीय र विश्वसनीय गरगहना प्राप्त गर्नुपर्छ, व्यवसायीले सुरक्षित र सहज रूपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ, कालिगढले सम्मानजनक रोजगारी र उचित पारिश्रमिक प्राप्त गर्नुपर्छ तथा राज्यले वैधानिक कारोबारबाट राजस्व संकलन गर्न सक्नुपर्छ । यी चारै पक्षबीच सन्तुलित सम्बन्ध कायम हुन सके मात्र व्यवसायको समग्र विकास सम्भव हुन्छ ।

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको निरन्तर उतारचढावले नेपाली बजारलाई पनि प्रत्यक्ष प्रभाव पारेको छ । मूल्यमा हुने अस्थिरताले उपभोक्ताको खरिद क्षमता घटाउने, कारोबारमा कमी ल्याउने तथा व्यवसायीलाई आर्थिक जोखिममा पार्ने अवस्था सिर्जना गरेको छ । त्यसैले यस्ता चुनौतीको सामना गर्न व्यवसायी र राज्य दुवैले समयानुकूल रणनीति अवलम्बन गर्न आवश्यक छ ।

विश्वका केही मुलुकले बहुमूल्य धातुको प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक विकासको उल्लेखनीय उदाहरण प्रस्तुत गरेका छन् । उदाहरणका रूपमा दक्षिण कोरियाले आर्थिक संकटका बेला नागरिकसँग रहेको सुन संकलन गरी राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण अभियान सञ्चालन गरेको थियो । यस्तो अनुभवले बहुमूल्य धातुको सही व्यवस्थापनले राष्ट्रको आर्थिक सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान दिन सक्ने सन्देश दिन्छ ।

नेपालमा पनि सुनचाँदी व्यवसायलाई केवल कर संकलनको स्रोतका रूपमा नभई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा हेर्न आवश्यक छ । व्यवसायलाई प्रोत्साहन गर्ने, वैध कारोबारलाई सहज बनाउने तथा अवैध गतिविधि नियन्त्रण गर्ने नीति अवलम्बन गरिएमा यस क्षेत्रले भविष्यमा अझ ठूलो आर्थिक योगदान दिन सक्नेछ ।

नीतिगत सुधार र सरकारसँग व्यवसायीको अपेक्षा

सुनचाँदी व्यवसायलाई केवल विलासितासँग जोडिएको व्यवसायका रूपमा हेरेर अत्यधिक करको भार थप्नु वा अनावश्यक प्रशासनिक जटिलता सिर्जना गर्नु उपयुक्त हुँदैन । यो व्यवसायले हजारौँ परिवारको जीविकोपार्जन, सीप संरक्षण, रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । त्यसैले यस क्षेत्रको वास्तविक अवस्था बुझेर व्यवहारिक नीति अवलम्बन गर्नु राज्यको दायित्व हो ।

नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन राज्य र व्यवसायीबीच आपसी विश्वास, सहकार्य र समन्वय अपरिहार्य छ । व्यवसायमैत्री नीति, स्पष्ट कानुनी व्यवस्था तथा व्यवहारिक कर प्रणाली लागू गर्न सके मात्र सुनचाँदी व्यवसायलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिन्छ । नीति निर्माण गर्दा व्यवसायी, कालिगढ तथा सम्बन्धित छाता संगठनसँग आवश्यक परामर्श गर्नु पनि उत्तिकै आवश्यक छ ।

त्यसैगरी, सुनको आयात तथा वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइनुपर्छ । सीमित समूह वा अन्तर्राष्ट्रिय दलालको प्रभावमा सुनको कारोबार केन्द्रीत हुने अवस्था सिर्जना भए त्यसले वैध व्यवसायलाई कमजोर बनाउनुका साथै तस्करीलाई समेत प्रोत्साहन दिन सक्छ । त्यसैले सरकारले वैध आयात प्रणालीलाई सहज, पारदर्शी र व्यवसायीमैत्री बनाउँदै अवैध कारोबार नियन्त्रणमा विशेष ध्यान दिन आवश्यक छ ।

पछिल्ला केही दशकदेखि नेपालमा सरकार परिवर्तन भइरहने र नीतिगत निरन्तरताको अभाव रहने अवस्थाले पनि व्यवसाय प्रभावित हुँदै आएको छ । नीति स्थिर नहुँदा व्यवसायीले दीर्घकालीन लगानी गर्न कठिनाइ महसुस गर्ने गरेका छन् । त्यसैले जुनसुकै सरकार आए पनि निजी क्षेत्रप्रति स्पष्ट, स्थिर र विश्वासिलो नीति अवलम्बन गर्नु आवश्यक छ ।

नीति निर्माण गर्दा काठमाडौं वा अन्य ठूला सहरका व्यवसायीको अवस्था मात्र आधार नबनाई दुर्गम जिल्ला तथा ग्रामीण क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीका समस्या पनि समान रूपमा सम्बोधन गरिनुपर्छ । प्यूठानजस्ता जिल्लामा व्यवसाय सञ्चालन गर्दा भौगोलिक कठिनाइ, ढुवानी खर्च, सीमित बजार तथा दक्ष जनशक्तिको अभावजस्ता चुनौतीहरू थप हुन्छन् । त्यसैले यस्ता जिल्लाको वास्तविक अवस्थालाई ध्यानमा राखी नीति निर्माण गरिनु समयको आवश्यकता हो ।

सरकारले व्यवसायीलाई शंकाको दृष्टिले होइन, राष्ट्रको आर्थिक विकासका साझेदारका रूपमा हेर्नुपर्छ । व्यवसायमैत्री वातावरण, सहज कच्चा पदार्थको आपूर्ति, प्रभावकारी सुरक्षा व्यवस्था, पारदर्शी कर प्रणाली तथा कानुनी स्पष्टताले मात्र सुनचाँदी व्यवसायलाई थप सुदृढ बनाउन सकिन्छ ।

निष्कर्ष

नेपालको संविधानले संघीय शासन प्रणालीलाई आत्मसात् गरेसँगै संघ, प्रदेश र स्थानीय सरकारको भूमिका विस्तार भएको छ । सुनचाँदी व्यवसायसँग सम्बन्धित धेरै विषय स्थानीय र प्रदेश सरकारसँग पनि जोडिएका छन् । त्यसैले व्यवसायीका समस्या समाधानका लागि तीनै तहका सरकार र व्यवसायी संस्थाबीच प्रभावकारी समन्वय आवश्यक छ ।

आज पनि सुनचाँदी व्यवसायसँग सम्बन्धित केही समस्या स्थानीय तहबाटै समाधान हुन सक्छन् भने केही विषय संघीय सरकारको नीतिगत निर्णयसँग सम्बन्धित छन् । त्यसैले व्यवसायी संस्था र सरकारबीच नियमित संवाद, सहकार्य तथा विश्वासको वातावरण निर्माण गर्न आवश्यक छ। व्यवसायीका वास्तविक समस्यालाई बुझेर व्यवहारिक, वैज्ञानिक र दीर्घकालीन नीति निर्माण गर्न सके मात्र यस क्षेत्रको दिगो विकास सम्भव हुनेछ ।

सुनचाँदी व्यवसायले नेपालमा हजारौँ युवालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दै आएको छ । गरगहना निर्माण, बिक्री, मर्मत, डिजाइन तथा अन्य सहायक पेशामार्फत धेरै परिवारको जीविकोपार्जन यसै व्यवसायमा निर्भर रहेको छ । यदि व्यवसायमैत्री वातावरण निर्माण गर्न सकिएन भने दक्ष जनशक्ति विदेश पलायन हुने र परम्परागत सीपसमेत हराउने जोखिम बढ्दै जानेछ ।

नेपालको भौगोलिक अवस्था, सीमित जनशक्ति तथा दक्ष कालिगढको अभाव अहिले पनि प्रमुख चुनौतीका रूपमा रहेका छन् । एकातिर आवश्यक जनशक्ति उत्पादन हुन सकेको छैन भने अर्कोतर्फ भएका दक्ष कालिगढलाई निरन्तर रोजगारी र सम्मानजनक वातावरण उपलब्ध गराउन पनि चुनौती देखिएको छ । यसतर्फ राज्य, व्यवसायी संस्था तथा सम्बन्धित निकायले संयुक्त रूपमा काम गर्न आवश्यक छ ।

व्यवसाय र रोजगारीबीच गहिरो सम्बन्ध रहेको हुन्छ । जागिरले व्यक्तिको परिवार चलाउँछ भने व्यवसायले परिवारसँगै राज्यको अर्थतन्त्रलाई पनि बलियो बनाउँछ । व्यवसायीले राजस्व तिरेर, रोजगारी सिर्जना गरेर र आर्थिक गतिविधिलाई चलायमान बनाएर राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका हुन्छन् । त्यसैले व्यवसायीलाई राष्ट्रको विकास साझेदारका रूपमा सम्मान गर्न आवश्यक छ ।

नीति तथा कानुन निर्माण गर्दा सम्बन्धित व्यवसायी, कालिगढ र छाता संगठनसँग अनिवार्य रूपमा परामर्श गर्ने परम्पराको विकास हुनुपर्छ । सरोकारवालाको सहभागिताविना बनाइएका नीति व्यवहारमा प्रभावकारी हुन सक्दैनन् । विगतमा कतिपय नीतिहरू प्रत्यक्ष व्यवसायीसँग पर्याप्त छलफल नगरी निर्माण गरिएको गुनासो व्यवसायीहरूले गर्दै आएका छन् । आगामी दिनमा भने सरकार सम्बन्धित पक्षसँग व्यापक छलफल गरी व्यवहारिक, वैज्ञानिक र कार्यान्वयनयोग्य नीति निर्माणतर्फ अग्रसर हुनेछ भन्ने विश्वास व्यवसायी समुदायले लिएको छ ।
त्यसैगरी, सुनचाँदी तथा अन्य बहुमूल्य धातुको गुणस्तर, सुरक्षा र वैध कारोबार सुनिश्चित गर्न सरकार अझ जिम्मेवार बन्न आवश्यक छ । कच्चा पदार्थको सहज आपूर्ति, पारदर्शी आयात व्यवस्था, व्यवसायमैत्री कर नीति, प्रभावकारी शान्ति–सुरक्षा तथा लगानीमैत्री वातावरण निर्माण गर्न सके सुनचाँदी व्यवसाय थप सुदृढ बन्नेछ ।

समापन

प्यूठानको सुनचाँदी व्यवसायले परम्परागत सीप, मेहनत, इमानदारी र व्यवसायिक समर्पणका आधारमा आफ्‌नै गौरवपूर्ण इतिहास निर्माण गरेको छ । अग्रज पुस्ताले निर्माण गरेको यही जगलाई संस्थागत एकता, आधुनिक प्रविधि, दक्ष जनशक्ति, व्यवसायमैत्री नीति र राज्यको सकारात्मक सहयोगमार्फत अझ सुदृढ बनाउन सकियो भने प्यूठानको मात्र होइन, समग्र नेपालको सुनचाँदी व्यवसायले राष्ट्रिय अर्थतन्त्र, रोजगारी, सीप संरक्षण तथा समृद्धिमा अझ महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

– लेखक नेपाल सुनचाँदी व्यवसायी संघ, प्यूठानका प्रेस सल्लाहकार हुनुहुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय