सुन मानव सभ्यतासँगै विकसित भएको अमूल्य धातु हो । प्राचीनकालदेखि नै यसले विश्वास, समृद्धि, प्रतिष्ठा र आर्थिक सुरक्षाको प्रतीकका रूपमा आफ्नो विशिष्ट स्थान बनाउँदै आएको छ । समय परिवर्तनसँगै संसार डिजिटल युगमा प्रवेश गरिसकेको छ, नयाँ-नयाँ वित्तीय प्रणाली, क्रिप्टोकरेन्सी र आधुनिक लगानीका विकल्पहरू विकसित भएका छन् । तर यस्ता सबै परिवर्तनका बीच पनि सुनप्रतिको जनविश्वास आजसम्म कायम छ । यही कारणले विश्व अर्थतन्त्रमा अस्थिरता, युद्ध, मुद्रास्फीति, डलरको उतारचढाव वा अन्य आर्थिक संकट उत्पन्न हुँदा पनि सुरक्षित लगानीका रूपमा सुनको महत्व झन् बढ्दै गएको छ ।
नेपालको सन्दर्भमा सुनचाँदी व्यवसाय केवल व्यापारिक गतिविधि मात्र होइन, हाम्रो संस्कृति, परम्परा, सामाजिक जीवन र आर्थिक व्यवहारसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान, चाडपर्व तथा पारिवारिक सम्पत्तिको संरक्षणका लागि सुनचाँदीको प्रयोग अपरिहार्यजस्तै बनेको छ । यसले घरेलु बचतलाई सुरक्षित राख्नुका साथै विदेशी मुद्रा व्यवस्थापन, रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ । त्यसैले सुनचाँदी व्यवसायको आधार नै शुद्ध सुन र शुद्ध व्यवहार हुनुपर्छ । पारदर्शी कारोबार, सही तौल, गुणस्तरीय उत्पादन र इमानदार सेवा नै व्यवसायीको वास्तविक पहिचान हो ।



सुनचाँदी व्यवसायको सबैभन्दा ठूलो सम्पत्ति भनेको उपभोक्ताको विश्वास हो । एकपटक विश्वास गुमेपछि त्यसलाई पुनः स्थापित गर्न निकै कठिन हुन्छ । पछिल्ला केही वर्षमा बजारमा हलमार्क नभएका गहना, कम गुणस्तरका धातुमा सुनको लेपन गरी बिक्री गरिएका सामग्री तथा गुणस्तरबारे स्पष्ट जानकारी नदिई कारोबार गरिएका घटनाले उपभोक्तामा अन्योल र अविश्वास सिर्जना गरेको छ । यस्ता गतिविधिले समग्र व्यवसायको प्रतिष्ठामा नै नकारात्मक असर पार्ने भएकाले यसतर्फ सबै व्यवसायी गम्भीर हुन आवश्यक छ ।
यसका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले बजार अनुगमनलाई प्रभावकारी बनाउने, उपभोक्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा प्रत्येक गहनामा तौल, क्यारेट, प्रयोग गरिएको धातु, लेपनको विवरण र आवश्यक प्राविधिक जानकारी स्पष्ट रूपमा उल्लेख गरेर बिक्री गर्ने व्यवस्था सुनिश्चित गर्न पहल गर्नुपर्छ । गुणस्तरीय सेवा, पारदर्शी बिलिङ र प्रमाणित हलमार्क प्रणालीलाई व्यवसायको अनिवार्य संस्कृतिका रूपमा विकास गर्न सके मात्र उपभोक्ताको विश्वास अझ सुदृढ बन्न सक्छ ।
नेपालको सांस्कृतिक विविधता हाम्रो गरगहनामा पनि सुन्दर रूपमा प्रतिबिम्बित भएको छ । मगर समुदायको चन्द्रमाला, तामाङ समुदायको तिलहरी, नेवार समुदायको चन्द्रसूर्य, थारु समुदायको नथिया लगायत विभिन्न जातजातिका मौलिक गरगहनाले नेपाली मौलिकताको परिचय दिन्छन् । अहिलेको युवा पुस्ताले आधुनिक डिजाइन, थ्री-डी मोडलिङ, कम्प्युटर एडेड डिजाइन (CAD), थ्री-डी प्रिन्टिङ तथा नवीन प्रविधिको प्रयोगमार्फत परम्परागत मोटिफलाई आधुनिक स्वादसँग जोड्दै नयाँ सम्भावनाको ढोका खोलिरहेको छ । यही परम्परा र प्रविधिबीचको सन्तुलनले नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धी बनाउन सक्छ । आधुनिक प्रविधिलाई आत्मसात् गर्दै मौलिक पहिचान जोगाउनु नै आजको आवश्यकता हो ।
समयसँगै व्यवसाय पनि डिजिटल रूपान्तरणको चरणमा प्रवेश गरिरहेको छ । डिजिटल बिलिङ, ई-रिसिप्ट, क्यूआर कोडमार्फत भुक्तानी, विद्युतीय लेखा प्रणाली तथा अनलाइन कारोबार अहिलेको आवश्यकता बनिसकेको छ । यद्यपि सबै व्यवसायी तथा कालिगढहरू अझै यी प्रविधिमा पूर्ण रूपमा अभ्यस्त भइसकेका छैनन् । त्यसैले महासंघले डिजिटल साक्षरता अभिवृद्धिका लागि नियमित तालिम, अभिमुखीकरण तथा प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक देखिन्छ ।
त्यसैगरी, सुन गलाउने, पोलिस गर्ने तथा अन्य प्राविधिक कार्यमा संलग्न कालिगढहरू धुलो, धुवाँ र विभिन्न रसायनको प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूमा श्वासप्रश्वास, आँखा तथा अन्य स्वास्थ्यसम्बन्धी समस्या देखिने जोखिम उच्च हुन्छ । यस विषयलाई व्यवसायको अभिन्न पक्षका रूपमा स्वीकार गर्दै कार्यस्थल सुरक्षा, सुरक्षात्मक सामग्रीको प्रयोग, स्वास्थ्य बीमा तथा सुरक्षित कार्य वातावरणका लागि स्पष्ट मापदण्ड तयार गरी कार्यान्वयन गर्न महासंघले पहल गर्नुपर्ने आवश्यकता छ । व्यवसायको मेरुदण्ड कालिगढ भएकाले उनीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्नु नै व्यवसायको दीर्घकालीन हितमा हुनेछ ।
आज पनि सुनचाँदी व्यवसायप्रति समाजमा विभिन्न किसिमका भ्रम र अविश्वास विद्यमान छन् । कतिपयले व्यवसायीलाई कर छल्ने दृष्टिकोणले हेर्छन् भने कतिपय उपभोक्ताले अत्यधिक नाफा लिएर ठग्ने व्यवसायका रूपमा बुझ्ने गरेका छन् । यस्तो सोचलाई अन्त्य गर्ने सबैभन्दा प्रभावकारी उपाय भनेको पारदर्शी कारोबार हो । प्रत्येक कारोबारमा अनिवार्य बिल उपलब्ध गराउने, डिजिटल अभिलेख राख्ने, मेसिनबाट तौल गर्ने, प्रमाणित हलमार्क प्रयोग गर्ने तथा कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्ने संस्कार विकास गर्नुपर्छ । यसले उपभोक्ताको विश्वास बढाउनुका साथै व्यवसायप्रतिको सामाजिक सम्मान पनि वृद्धि गर्नेछ ।
हाल रु. १ लाखभन्दा माथिका कारोबारमा बैंकिङ तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने नीति रहेको छ । सुनचाँदी व्यवसायको प्रकृति, कारोबारको स्वरूप तथा बजारको वास्तविक अवस्थालाई ध्यानमा राख्दै यो सीमा रु. ५ लाखसम्म पुनरावलोकन गर्न सम्बन्धित निकायसमक्ष माग गर्न आवश्यक देखिन्छ । साथै, सुनचाँदी व्यवसायीले बैंक खाता खोल्दा तथा बैंकिङ सेवा प्राप्त गर्दा भोग्नुपरेका व्यावहारिक कठिनाइ समाधानका लागि नेपाल राष्ट्र बैंक तथा नेपाल बैंकर्स संघसँग समन्वय गरी सहज वातावरण निर्माण गरिनुपर्छ ।
त्यसैगरी, धितो तथा पुराना गरगहनासम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा अज्ञानतावश चोरीका गहना खरिद भएको अवस्थामा व्यवसायी स्वयं कानुनी समस्यामा पर्ने गरेका उदाहरणहरू छन् । यस्तो अवस्था अन्त्य गर्न सरकारले स्पष्ट कानुनी नीति, व्यवसायमैत्री निर्देशिका तथा व्यवसायीलाई आवश्यक कानुनी संरक्षण प्रदान गर्न जरुरी छ । यसले इमानदार व्यवसायीलाई अनावश्यक झन्झटबाट जोगाउनुका साथै व्यवसायलाई थप व्यवस्थित बनाउन मद्दत गर्नेछ ।
नेपाली कलाकारको सीप, सिर्जना र मौलिक डिजाइनले अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो सम्भावना बोकेको छ । भारत, अमेरिका, खाडी मुलुकलगायत विभिन्न देशमा नेपाली हस्तकलायुक्त गरगहनाको माग बढ्दै गएको छ । तर जटिल भन्सार प्रक्रिया, निर्यातसम्बन्धी नीतिगत अस्पष्टता तथा प्रशासनिक झन्झटका कारण व्यवसायीहरूले अपेक्षित रूपमा निर्यात गर्न सकेका छैनन् । त्यसैले नेपाल राष्ट्र बैंक, भन्सार विभाग तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी एकद्वार प्रणाली, भन्सार सेवा तथा निर्यातमैत्री नीति निर्माणका लागि महासंघले प्रभावकारी पहल गर्न आवश्यक छ । यसले नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न र विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुर्याउन सक्छ ।
(लेखक नवलपरासी सुनचाँदी व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ ।)














