सुनचाँदी कारोबारमा नयाँ व्यवस्था, सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि जारी

काठमाडौं । सुनचाँदीको कारोबारलाई थप व्यवस्थित गर्न सरकारले बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कको असुली र लेखांकनदेखि पुरानो गहना खरिद-बिक्रीसम्मका कारोबारमा नयाँ व्यवस्था लागू गरेको छ। आन्तरिक राजस्व विभागले ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गर्दै सुनचाँदी व्यवसायी र उपभोक्ताका लागि कारोबार तथा विवरणसम्बन्धी विभिन्न व्यवस्था स्पष्ट गरेको हो।

आर्थिक ऐन, २०८३ ले नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सीप प्रवर्द्धन शुल्क लगाउने व्यवस्था गरेपछि विभागले त्यसको प्रशासन, असुली, दाखिला, कारोबारको लेखांकन, विवरण पेस, परीक्षण तथा पुनरावेदनसम्बन्धी व्यवस्था समेटेर कार्यविधि जारी गरेको हो।

कार्यविधिअनुसार नेपालमा उपभोगका लागि अन्तिम उपभोक्तालाई बिक्री हुने सुन, सुनका गरगहना तथा वस्तु र चाँदी तथा चाँदीका गरगहनामा बिक्री मूल्यको ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्नेछ। व्यवसायीले वस्तु बिक्री गर्दाकै समयमा उक्त शुल्क उपभोक्ताबाट असुल गर्नुपर्नेछ।

पुरानो गहना बेच्दा खरिदको प्रमाण पनि चाहिने

नयाँ कार्यविधिले सुनचाँदीको कारोबारमा उपभोक्ताको पहिचान र वस्तुको स्रोत खुलाउने व्यवस्था पनि गरेको छ। सर्वसाधारणले व्यवसायीलाई सुन, चाँदी वा सुनचाँदीका गरगहना बिक्री गर्दा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि पेस गर्नुपर्नेछ।

त्यसका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र वा नेपाल सरकारबाट जारी अन्य परिचयपत्रमध्ये कुनै एक कागजात पेस गर्न सकिनेछ। आफूले बिक्री गर्न लागेको सुनचाँदी वा गरगहना पहिले खरिद गरेको प्रमाणसमेत देखाउनुपर्नेछ।

विदेशबाट ल्याइएको सुनचाँदी भए त्यसको स्रोत वा खरिदसम्बन्धी प्रमाणसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसले पुरानो सुनचाँदीको कारोबारलाई पनि अभिलेखमा ल्याउने उद्देश्य राखेको देखिन्छ। व्यवसायीले ग्राहकबाट पुरानो गहना खरिद गर्दा त्यसको कारोबारसम्बन्धी विवरण राख्नुपर्नेछ।

पुरानो गहना दिएर नयाँ लिँदा शुल्क कसरी लाग्छ ?

पुरानो सुनचाँदीको गहना साटेर नयाँ गहना बनाउने अवस्थालाई पनि कार्यविधिले स्पष्ट गरेको छ।

व्यवसायीले ग्राहकबाट पुरानो गहना खरिद गरी सोही ग्राहकलाई पुरानो गहनाको तौल बराबरको मूल्यसम्म नयाँ गहना बिक्री गरेमा त्यसमा सीप प्रवर्द्धन शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

तर पुरानो गहनाको तौलभन्दा बढी सुन वा चाँदी थपेर नयाँ गहना बिक्री गरेमा थप गरिएको सुन वा चाँदीको मूल्य तथा सम्पूर्ण ज्याला–जर्तीमा सीप प्रवर्द्धन शुल्क असुल गर्नुपर्नेछ।

यस व्यवस्थाले पुरानो गहना साटेर नयाँ गहना बनाउने कारोबारमा कुन अवस्थामा शुल्क लाग्ने र कुन अवस्थामा नलाग्ने भन्ने स्पष्ट गरेको छ।

प्रत्येक महिना विवरण बुझाउनुपर्ने

सीप प्रवर्द्धन शुल्क लाग्ने कारोबार गर्ने व्यवसायीले तोकिएको ढाँचामा बिजक जारी गर्नुपर्नेछ। कारोबारको लेखांकन प्रोद्भावी अर्थात् एक्रुअल आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ।

व्यवसायीले प्रत्येक महिनाको कारोबार भएको वा नभएको जे भए पनि अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा मासिक विवरण पेस गर्नुपर्नेछ।

तोकिएको समयभित्र विवरण पेस नगरेमा लाग्ने सीप प्रवर्द्धन शुल्कको प्रतिदिन ०.०५ प्रतिशत वा प्रतिविवरण १ हजार रुपैयाँमध्ये जुन बढी हुन्छ, त्यति थप शुल्क लाग्ने व्यवस्था गरिएको छ।

व्यवसायीले उपभोक्ताबाट उठाएको सीप प्रवर्द्धन शुल्कसमेत अर्को महिनाको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयको कोड तथा राजस्व शीर्षक नम्बर ११४१३ मा दाखिला गर्नुपर्नेछ।

समयमै शुल्क दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था कार्यविधिले गरेको छ।

सुन पसलदेखि कालिगढसम्म अभिलेखमा

सुनचाँदी व्यवसायीले आफ्नो पसलबाट गहना निर्माणका लागि कालिगढकहाँ सुन, चाँदी तथा गरगहना पठाउँदा र कालिगढबाट पुनः व्यवसाय सञ्चालन भएको स्थानमा ल्याउँदा तोकिएको ढाँचाको चलान साथमा राख्नुपर्नेछ। उक्त चलानमा सम्बन्धित कार्यालयको छाप लागेको हुनुपर्नेछ।

गहना निर्माण गर्ने कालिगढले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था पनि कार्यविधिले गरेको छ।

यसले सुनचाँदी पसल, कालिगढ र ग्राहकबीच हुने कारोबारलाई अभिलेखमा ल्याउने र कारोबारको वास्तविक मूल्य तथा परिमाण पहिचान गर्न सहज बनाउने उद्देश्य राखेको छ।

कारोबार छली गरे २५ प्रतिशत थप शुल्क

कार्यविधिले सीप प्रवर्द्धन शुल्क छली गर्ने व्यवसायीमाथि थप शुल्कको व्यवस्था गरेको छ।

व्यवसायीले शुल्क असुल नगरेमा, बिक्री कारोबारलाई खण्डीकरण गरेमा, वास्तविक कारोबारभन्दा कम कारोबार घोषणा गरी कम शुल्क असुल गरेमा वा अन्य माध्यमबाट शुल्क छली गरेको पाइएमा निर्धारित सीप प्रवर्द्धन शुल्कमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ।

कारोबारको परीक्षणका क्रममा शुल्क छली भएको पाइएमा कर अधिकृतले वास्तविक कारोबारका आधारमा शुल्क निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ।

पसलमै सूचना पाटी राख्नुपर्ने

प्रत्येक सुनचाँदी व्यवसायीले आफ्नो पसलमा कार्यविधिले तोकेको ढाँचाअनुसार सूचना पाटी राख्नुपर्नेछ। यसबाट उपभोक्ताले कारोबारमा लाग्ने सीप प्रवर्द्धन शुल्क तथा सम्बन्धित व्यवस्थाबारे जानकारी पाउने विभागको उद्देश्य छ।

कार्यविधिले सुनचाँदीको बिक्रीमा शुल्क असुली मात्र नभई बिजक जारी गर्ने, कारोबारको लेखांकन गर्ने, मासिक विवरण पेस गर्ने, शुल्क दाखिला गर्ने, पुरानो गहनाको स्रोत खुलाउने तथा सरकारी निकायबाट कारोबार परीक्षण गर्न सकिने आधारसमेत तयार गरेको छ।

आन्तरिक राजस्व विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार आर्थिक ऐन, २०८३ मा गरिएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन शुल्कको प्रशासनदेखि असुली, दाखिला, लेखांकन, विवरण पेस, परीक्षण र पुनरावेदनसम्मका प्रक्रिया कार्यविधिमा समेटिएका छन्।

सीप प्रवर्द्धन शुल्क सम्बन्धी कार्यविधि, २०८३

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय