मानिसको जीवनमा सफलता आकस्मिक रूपमा प्राप्त हुँदैन । सफलता प्राप्त गर्न दृढ इच्छाशक्ति, निरन्तर परिश्रम, आत्मविश्वास र धैर्य आवश्यक हुन्छ । जीवनका अनेकौँ चुनौतीसँग जुध्दै आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढ्ने व्यक्तिले मात्र समाजमा विशिष्ट पहिचान बनाउन सक्छ । नेपाली समाजमा प्रचलित भनाइ छ -“तिमी आट, म पुर्याउँछु ।” यही भावनालाई आत्मसात् गर्दै कर्मलाई जीवनको मूल मन्त्र बनाउने व्यक्तित्वमध्ये एक हुनुहुन्छ अर्जुन रसाइली ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका-२, बेलटाँडी निवासी पिता ठाकुरप्रसाद रसाइली र माता टिकासरा रसाइलीको कोखबाट वि.सं. २०३१ साल फागुन १४ गते उहाँको जन्म भएको हो । सामान्य परिवारमा जन्मिए पनि बाल्यकालदेखि नै उहाँमा अनुशासन, इमानदारी, परिश्रम र सामाजिक उत्तरदायित्वको भावना स्पष्ट देखिन्थ्यो । परिवारबाट प्राप्त संस्कार र आफ्नै मिहिनेतले उहाँको व्यक्तित्वलाई क्रमशः परिपक्व बनाउँदै लग्यो ।



उहाँको बाल्यकाल चितवनकै बेलटाँडीमा बित्यो । विद्यालयदेखि उच्च शिक्षासम्मको अध्ययन पनि चितवनमै सम्पन्न गर्नुभयो । विद्यार्थी जीवनमा उहाँ पढाइसँगै साथीभाइसँग घुलमिल हुने, सामाजिक गतिविधिमा सहभागी हुने र नयाँ कुरा सिक्न उत्सुक रहने स्वभावका रूपमा परिचित हुनुहुन्थ्यो । सरल व्यवहार, सहयोगी मन र मिलनसार व्यक्तित्वका कारण उहाँ सबैको प्रिय बन्दै जानुभयो ।
जीवनको अर्को महत्वपूर्ण मोड वि.सं. २०५७ साल फागुन ७ गते आयो, जब उहाँ बुटवल निवासी पिता चुडामणि बराल र माता अमृता बरालकी सुपुत्री नीता बरालसँग वैवाहिक बन्धनमा बाँधिनुभयो । विवाहपछि उज्ज्वल भविष्यको खोजीमा दुवै जना केही वर्ष विदेश बस्नुभयो । विदेशको अनुभवले जीवनप्रतिको दृष्टिकोणलाई फराकिलो बनायो । तर आफ्नै देशमा केही गर्ने दृढ संकल्पले अन्ततः उहाँहरूलाई पुनः नेपाल फर्कायो।
स्वदेश फर्किएपछि अर्जुन रसाइलीले पुर्ख्यौली पेशालाई नै आधुनिक सोचका साथ अघि बढाउने निर्णय गर्नुभयो । चितवनको नारायणगढस्थित मिलनरोडमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै उहाँले आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गर्नुभयो । इमानदार सेवा, गुणस्तरीय काम र ग्राहकप्रतिको विश्वासका कारण उहाँको व्यवसायले छोटो समयमै राम्रो प्रतिष्ठा हासिल गर्यो । व्यवसाय विस्तारसँगै उहाँको परिचय सफल व्यवसायीका रूपमा स्थापित हुँदै गयो ।
यसैबीच उहाँहरूको दाम्पत्य जीवनमा सुपुत्र अर्विन रसाइलीको जन्म भयो । परिवारमा नयाँ खुसी थपिएसँगै जिम्मेवारी पनि बढ्दै गयो । तर परिवार, व्यवसाय र समाजबीच सन्तुलन कायम राख्दै उहाँले आफ्नो यात्रालाई निरन्तर अगाडि बढाइरहनुभयो ।
अर्जुन रसाइलीको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको संगठनप्रतिको गहिरो आस्था हो । उहाँको विश्वास थियो- “व्यक्तिगत सफलता क्षणिक हुन सक्छ, तर संगठित शक्ति दीर्घकालीन हुन्छ ।” यही सोचले उहाँलाई तत्कालिन नेपाल सुनचाँदी व्यवसायी संघ, चितवन शाखातर्फ आकर्षित गर्यो । व्यवसायीहरूको साझा हित, पेशागत मर्यादा र संस्थागत एकताको आवश्यकता महसुस गर्दै उहाँ संघका गतिविधिमा सक्रिय रूपमा सहभागी हुन थाल्नुभयो ।
सदस्यका रूपमा सुरु भएको उहाँको संगठनात्मक यात्रा केवल पद प्राप्त गर्ने उद्देश्यले प्रेरित थिएन । संगठनप्रति इमानदारी, व्यवसायीप्रति उत्तरदायित्व र समाजप्रतिको समर्पण नै उहाँको प्रेरणाको स्रोत थियो । यही निष्ठा, सक्रियता र निरन्तर योगदानका कारण उहाँ क्रमशः व्यवसायी समुदायको विश्वास जित्दै नेतृत्वको यात्रातर्फ अघि बढ्नुभयो ।
यही समर्पणले केही वर्षमै उहाँलाई चितवनका सुनचाँदी व्यवसायीहरूको भरोसायोग्य नेतृत्वका रूपमा स्थापित गरायो । त्यसपछि सुरु भयो उहाँको संगठनात्मक जीवनको नयाँ अध्याय, जहाँ व्यक्तिगत सफलताभन्दा संस्थाको विकास र व्यवसायीहरूको साझा हित नै उहाँको प्रमुख लक्ष्य बन्यो ।
चितवनको नेतृत्व : संस्थागत विकासको स्वर्णिम अध्याय
संगठनप्रतिको निरन्तर सक्रियता, व्यवसायीहरूको विश्वास र नेतृत्व क्षमताका कारण अर्जुन रसाइली वि.सं. २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ, चितवन शाखाको अध्यक्ष पदमा निर्वाचित हुनुभयो । यो केवल एउटा पद प्राप्तिको उपलब्धि थिएन, बरु व्यवसायीले उहाँमाथि गरेको विश्वासको सम्मान थियो । अध्यक्षको जिम्मेवारी सम्हालेसँगै उहाँले संगठनलाई अझ व्यवस्थित, सक्रिय र व्यवसायीमुखी बनाउने स्पष्ट लक्ष्यका साथ आफ्नो कार्यकाल प्रारम्भ गर्नुभयो ।
त्यतिबेला चितवनमा सुनचाँदी व्यवसाय विस्तार हुँदै गइरहेको भए पनि व्यवसायीबीच संस्थागत समन्वय, नियमित गतिविधि र दीर्घकालीन योजनाको आवश्यकता महसुस गरिएको थियो । अर्जुन रसाइलीले यही आवश्यकतालाई केन्द्रमा राख्दै संगठनलाई केवल औपचारिक संस्थाको रूपमा होइन, व्यवसायीहरूको साझा अभिभावक संस्थाका रूपमा विकास गर्ने अभियान सुरु गर्नुभयो ।
उहाँको नेतृत्वमा नियमित कार्यसमिति बैठक, सदस्यहरूसँग प्रत्यक्ष संवाद, व्यवसायीका समस्या पहिचान तथा समाधानका लागि सक्रिय पहल, र संगठनभित्र पारदर्शी तथा सहभागी निर्णय प्रक्रियालाई विशेष प्राथमिकता दिइयो । उहाँको विश्वास थियो- संगठन बलियो भए मात्र व्यवसायीको आवाज प्रभावकारी रूपमा सम्बन्धित निकायसम्म पुग्न सक्छ ।
उहाँको कार्यकालको सबैभन्दा ऐतिहासिक उपलब्धिमध्ये एक थियो संघको आफ्नै कार्यालय भवन निर्माणको अभियान । त्यसअघि संघसँग स्थायी कार्यालयको अभाव थियो । संस्थाको भविष्यलाई मध्यनजर गर्दै उहाँले आफ्नै भवन निर्माण गर्ने दीर्घकालीन योजना अघि सार्नुभयो । कार्यसमिति, सल्लाहकार तथा सम्पूर्ण व्यवसायीहरूको सहयोगमा भरतपुर–१, दियालोरोड स्थित जग्गा खरिद गरी कार्यालय भवन निर्माणको प्रक्रिया सुरु भयो । आज संघको आफ्नै भवनबाट सञ्चालन हुन सक्नु त्यसबेलाको दूरदर्शी निर्णय र सामूहिक प्रयासको प्रतिफल हो ।
अर्जुन रसाइलीको नेतृत्वको अर्को महत्वपूर्ण विशेषता भनेको व्यवसायीबीच आत्मीय सम्बन्धको विकास थियो । उहाँको विचारमा संगठन केवल बैठक, निर्णय र कार्यक्रम सञ्चालन गर्ने माध्यम मात्र होइन; सदस्यहरूबीच विश्वास, सहकार्य र पारिवारिक सम्बन्ध स्थापित गर्ने साझा मञ्च पनि हो । यही सोचका साथ उहाँले व्यवसायीबीच भेटघाट, अन्तरक्रिया, सामाजिक तथा खेलकुद गतिविधिलाई पनि निरन्तरता दिनुभयो ।
यसै क्रममा “खेलकुदमार्फत एकता” भन्ने उद्देश्यका साथ चितवनका सुनचाँदी व्यवसायीहरूको फुटबल टोली गठन गरियो । राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएको उक्त टोलीले द्वितीय स्थान हासिल गरी चितवनको प्रतिष्ठा बढाएको थियो । खेलकुदका यस्ता कार्यक्रमले व्यवसायीबीचको सम्बन्धलाई अझ आत्मीय र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।
उहाँको नेतृत्वमा संगठनले सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दियो । व्यवसायसँगै समाजप्रतिको दायित्व निर्वाह गर्नुपर्छ भन्ने मान्यताका साथ विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा पनि संघको सक्रिय सहभागिता रह्यो । यसले संगठनप्रति समाजको विश्वास र सम्मानलाई अझ बलियो बनायो ।
अर्जुन रसाइलीको नेतृत्व शैलीको सबैभन्दा उल्लेखनीय पक्ष भनेको सहभागितामूलक नेतृत्व थियो । उहाँ निर्णय लाद्नेभन्दा छलफलबाट निष्कर्षमा पुग्ने संस्कृतिमा विश्वास गर्नुहुन्थ्यो । अग्रजहरूको अनुभवलाई सम्मान गर्ने, युवा व्यवसायीलाई अवसर दिने र सबैलाई साथमा लिएर अघि बढ्ने उहाँको कार्यशैलीका कारण संगठनभित्र सकारात्मक वातावरण सिर्जना भयो ।
यही कारणले उहाँको कार्यकाललाई चितवन संघको संस्थागत विकास, संगठनात्मक एकता र दीर्घकालीन सोचको स्वर्णिम अध्यायका रूपमा स्मरण गरिन्छ । उहाँले नेतृत्वलाई पदको प्रतिष्ठाभन्दा सेवा र जिम्मेवारीको माध्यमका रूपमा आत्मसात् गर्नुभयो । यही सोचले उहाँलाई चितवनका व्यवसायीहरूको विश्वासिलो नेतृत्वका रूपमा स्थापित गरायो र भविष्यमा केन्द्रीय नेतृत्वतर्फ अघि बढ्ने बलियो आधार तयार गर्यो ।
केन्द्रीय नेतृत्वतर्फको यात्रा : अनुभव, समर्पण र विश्वासको विस्तार
चितवन जिल्लामा सफल नेतृत्व प्रदान गरेपछि अर्जुन रसाइलीको संगठनात्मक क्षमता राष्ट्रिय स्तरमा पनि स्थापित हुँदै गयो । चितवन शाखा अध्यक्षका रूपमा उहाँले देखाएको सक्रियता, संस्थागत विकासप्रतिको प्रतिबद्धता र व्यवसायीको हितमा निरन्तर काम गर्ने शैलीले उहाँलाई देशभरका व्यवसायीमाझ परिचित बनायो । यही विश्वासका आधारमा उहाँ नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय नेतृत्वमा प्रवेश गर्नुभयो ।
महासंघमा प्रवेशसँगै उहाँको जिम्मेवारी चितवन जिल्लामा मात्र सीमित रहेन । देशभर फैलिएका सुनचाँदी व्यवसायीका समस्या, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर उहाँले प्राप्त गर्नुभयो । विभिन्न जिल्ला तथा नगर संघसँग नियमित सम्पर्क, भ्रमण र छलफलमार्फत उहाँले व्यवसायीको वास्तविक अवस्था बुझ्ने प्रयास गर्नुभयो । यसले उहाँको नेतृत्व अनुभवलाई अझ फराकिलो र परिपक्व बनायो ।
महासंघको तदर्थ समिति सदस्यका रूपमा रहँदा उहाँले महासंघको संस्थागत विकास, संगठन विस्तार, व्यवसायीको हक–अधिकार संरक्षण तथा सरकारसँग आवश्यक समन्वयका विषयमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । उहाँको स्पष्ट धारणा थियो–महासंघ बलियो हुन प्रत्येक जिल्ला र नगर संघ बलियो हुनुपर्छ । यही सोचअनुसार उहाँले स्थानीय संगठनसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अभियानलाई प्राथमिकता दिनुभयो ।
निरन्तर सक्रियता, इमानदार कार्यशैली र संगठनप्रतिको समर्पणका कारण उहाँ महासंघको तदर्थ समिति सदस्य – १ कार्यकाल, उपाध्यक्ष -२ कार्यकाल, वरिष्ठ उपाध्यक्ष -१ कार्यकाल रहनुभयो । यो उहाँको व्यक्तिगत उपलब्धि मात्र थिएन; वर्षौँदेखि व्यवसायीले उहाँमाथि गरेको विश्वास र सम्मानको प्रतिफल पनि थियो ।
वरिष्ठ उपाध्यक्षका रूपमा उहाँले अध्यक्ष र सम्पूर्ण कार्यसमितिसँग समन्वय गर्दै महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन उल्लेखनीय योगदान दिनुभयो । संगठनलाई विधिसम्मत, पारदर्शी र उत्तरदायी बनाउने विषयमा उहाँ सधैँ स्पष्ट र दृढ देखिनुहुन्थ्यो । कुनै पनि विषयमा हतारमा निर्णय नगरी व्यापक छलफल र सहमतिबाट निष्कर्षमा पुग्ने उहाँको कार्यशैली सबैका लागि अनुकरणीय बन्दै गयो ।
यद्यपि, यही अवधिमा उहाँको व्यक्तिगत जीवनमा ठूलो परीक्षा सुरु भयो । धर्मपत्नी निता बराल रसाइलीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि परिवार कठिन परिस्थितिबाट गुज्रिन थाल्यो । उपचारका लागि नेपालका विभिन्न अस्पतालसँगै सिङ्गापुरसम्म पुग्नुपरेको अवस्था थियो। एकातिर परिवारको चिन्ता, अर्कोतिर व्यवसाय र महासंघको जिम्मेवारी-यी सबैलाई सन्तुलनमा राख्नु सहज थिएन ।
तर कठिन परिस्थितिले उहाँको आत्मविश्वासलाई कमजोर बनाउन सकेन । परिवारप्रतिको दायित्व पूरा गर्दै उहाँले संगठनका कामलाई पनि निरन्तरता दिनुभयो । बैठक, छलफल, कार्यक्रम र व्यवसायीका समस्या समाधानका लागि उहाँ सक्रिय रूपमा लागिरहनुभयो । निजी जीवनको पीडालाई सार्वजनिक जिम्मेवारीमा कहिल्यै हावी हुन नदिनु उहाँको नेतृत्वको विशेषता बन्यो ।
साँचो नेतृत्व सहज समयमा होइन, कठिन परिस्थितिमा झन् स्पष्ट देखिन्छ । अर्जुन रसाइलीको जीवनको यो चरणले पनि यही तथ्य पुष्टि गर्छ । अनेकौँ व्यक्तिगत चुनौतीका बीच पनि उहाँले संगठनप्रतिको आफ्नो प्रतिबद्धतालाई कहिल्यै कमजोर हुन दिनुभएन । बरु प्रत्येक चुनौतीलाई आत्मबलमा रूपान्तरण गर्दै उहाँ अझ जिम्मेवार, परिपक्व र विश्वासिलो नेतृत्वका रूपमा स्थापित हुँदै जानुभयो ।
यही निरन्तरता, धैर्य र समर्पणले अन्तत : उहाँलाई महासंघको सर्वोच्च नेतृत्वसम्म पुर्याउने बलियो आधार तयार गर्यो । देशभरका व्यवसायीले उहाँमा एउटा इमानदार, कर्मशील र दूरदर्शी नेतृत्व देख्न थाले । त्यसपछि सुरु भयो महासंघको अध्यक्ष पदसम्म पुग्ने ऐतिहासिक यात्रा, जसले उहाँको संगठनात्मक जीवनलाई नयाँ उचाइमा पुर्यायो ।
महासंघको नेतृत्व : विश्वासको विजय र नयाँ जिम्मेवारी
वर्षौँको संगठनात्मक अनुभव, निरन्तर समर्पण र व्यवसायीको विश्वासका कारण अर्जुन रसाइली महासंघको नेतृत्वका स्वाभाविक दाबेदारका रूपमा स्थापित भइसकेका थिए । जिल्ला नेतृत्वदेखि केन्द्रीय तहसम्म निर्वाह गरेको जिम्मेवारीले उहाँलाई केवल अनुभवी नेताका रूपमा मात्र होइन, व्यवसायीका समस्या बुझ्ने र समाधानका लागि पहल गर्न सक्ने नेतृत्वका रूपमा परिचित गराइसकेको थियो ।
महासंघको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको तयारी सुरु भएसँगै देशभरका व्यवसायीबीच नयाँ उत्साह देखिन थाल्यो । विभिन्न जिल्लाबाट प्रतिनिधिहरू जुट्न थाले, उम्मेदवारहरू आफ्ना प्रतिबद्धता र भावी कार्ययोजना लिएर व्यवसायीबीच पुग्न थाले । यसै क्रममा अर्जुन रसाइलीले पनि व्यक्तिगत प्रचारभन्दा व्यवसायीसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिनुभयो । उहाँले महासंघलाई अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी र व्यवसायीमुखी संस्थाका रूपमा विकास गर्ने आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
निर्धारित कार्यतालिकाअनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको थियो । देशभरबाट प्रतिनिधिहरू काठमाडौं पुगेका थिए । तर अन्तिम समयमा उत्पन्न कानुनी जटिलताका कारण २०८० चैत २३–२४ आयोजना ह्ने भनिएको नवौं, दशौं र एघारौं वार्षिक साधारणसभा तथा चौथो महाधिवेशन स्थगित भयो । यो घटनाले सम्पूर्ण व्यवसायीलाई निराश बनायो । लामो तयारीपछि पनि नेतृत्व चयन प्रक्रिया रोकिँदा अन्योलको वातावरण बनेको थियो ।
यस्तो संवेदनशील परिस्थितिमा पनि अर्जुन रसाइलीले संयमता गुमाउनुभएन । उहाँले व्यवसायीलाई धैर्यका साथ विधि र प्रक्रियाको सम्मान गर्न आग्रह गर्नुभयो । संगठनको दीर्घकालीन हित व्यक्तिगत आकांक्षाभन्दा ठूलो हुने उहाँको धारणा त्यस समयमा पनि स्पष्ट रूपमा देखियो ।
अन्ततः कानुनी प्रक्रिया पूरा भएपछि पुनः महाधिवेशनको मिति तय भयो । पुनः सुरु भएको निर्वाचन अभियानमा पनि उहाँले सकारात्मक र मर्यादित शैलीलाई निरन्तरता दिनुभयो । व्यक्तिगत आरोप-प्रत्यारोपभन्दा महासंघको भविष्य, व्यवसायीको हित र संगठनात्मक सुधारका विषयलाई उहाँले आफ्नो अभियानको केन्द्रमा राख्नुभयो ।
मिति २०८१ असार १५ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो । मतगणना सकिएपछि सार्वजनिक भएको परिणामले देशभरका व्यवसायीको विश्वासलाई प्रतिबिम्बित गर्यो । अर्जुन रसाइली महासंघको अध्यक्ष पदमा निर्वाचित हुनुभयो, र उहाँको नेतृत्वमा उम्मेदवारी दिएको टोलीले पनि उल्लेखनीय सफलता हासिल गर्यो । उक्त टीमलाई नै विजयी गराउने अभियानमा नेपथ्यमा रहेर चितवनका उदयमान नक्षेत्र सशक्त पत्रकार अमिर रामदामको महत्वपूर्ण साथ रहेको थियो । पत्रकार अमिर रामदामलाई विजयीको एक सुत्रधार भन्दा फरक पर्दैन ।
यो विजय कुनै एक व्यक्तिको मात्र विजय थिएन; वर्षौँदेखि संगठनमा गरेको निष्ठापूर्ण योगदान, व्यवसायीप्रतिको समर्पण र साझा विश्वासको सम्मान थियो । मतपरिणाम सार्वजनिक भएसँगै देशभरबाट बधाई तथा शुभकामनाको क्रम सुरु भयो । विशाल विजयपश्चात चितवनमा धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च र तनहुँ चितवन विश्वकर्मा समाजको संयुक्त आयोजनामा विजय उत्सव र्याली पञ्चेबाजासहित नगर परिक्रमा गरिएको थियो । विभिन्न जिल्ला तथा नगर संघका प्रतिनिधिहरूले उहाँप्रति विश्वास व्यक्त गर्दै नयाँ नेतृत्वबाट व्यवसायीमैत्री परिवर्तनको अपेक्षा राखेका थिए ।
अध्यक्षको जिम्मेवारी सम्हाल्दै उहाँले आफ्नो पहिलो प्रतिबद्धतामै स्पष्ट गर्नुभयो कि महासंघ सबै व्यवसायीको साझा संस्था हो । त्यसैले कुनै क्षेत्र, समूह वा व्यक्तिको होइन, सम्पूर्ण व्यवसायीको हितलाई केन्द्रमा राखेर काम गरिनेछ । संगठनभित्र पारदर्शिता, उत्तरदायित्व, नियमित संवाद र संस्थागत संस्कृतिलाई अझ सुदृढ बनाउने उहाँको प्रतिबद्धताले व्यवसायीमा नयाँ आशा जगायो ।
महासंघको अध्यक्षका रूपमा उहाँको यात्रा वास्तवमा नयाँ जिम्मेवारीको सुरुवात थियो । अब उहाँको काँधमा देशभरका हजारौँ सुनचाँदी व्यवसायीको विश्वास, अपेक्षा र भविष्य जोडिएको थियो । यही जिम्मेवारीलाई आत्मसात् गर्दै उहाँले संगठनलाई थप सशक्त, व्यवसायीमुखी र परिणाममुखी बनाउने दिशामा आफ्नो नेतृत्व यात्रा अगाडि बढाउनुभयो ।
व्यवसायीको अधिकारका लागि संघर्ष र नेतृत्वको कठिन परीक्षा
महासंघको अध्यक्षको जिम्मेवारी सम्हालेसँगै अर्जुन रसाइलीले संगठनलाई अझ सक्रिय, उत्तरदायी र व्यवसायीमुखी बनाउने अभियानलाई तीव्रता दिनुभयो । उहाँको नेतृत्वमा नियमित कार्यसमिति बैठक, जिल्ला तथा नगर संघसँग निरन्तर समन्वय, व्यवसायीका समस्या सुन्ने र समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने कार्यले निरन्तरता पायो । उहाँको स्पष्ट धारणा थियो–महासंघको शक्ति केन्द्रीय कार्यालयमा होइन, देशभर रहेका व्यवसायीको एकतामा निहित हुन्छ ।
यही अवधिमा सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी व्यवसायमा २ प्रतिशत विलासिता कर तथा हीराजडित बहुमूल्य गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गर्यो । व्यापारिक गतिविधि सुस्त रहेको अवस्थामा थपिएको यो कर व्यवसायीका लागि ठूलो चुनौती बन्यो । महासंघले यसलाई सम्पूर्ण व्यवसायीको साझा सरोकारका रूपमा लिँदै देशव्यापी आन्दोलनको तयारी सुरु गर्यो ।
अर्जुन रसाइलीको नेतृत्वमा महासंघले आन्दोलनलाई संयमित, व्यवस्थित र उद्देश्यपूर्ण बनाउने रणनीति अपनायो । देशभरका जिल्ला तथा नगर संघसँग निरन्तर छलफल गरी साझा धारणा निर्माण गर्यो । व्यवसायीहरूलाई एकताबद्ध गर्दै आन्दोलनलाई कुनै व्यक्ति वा संस्थाको होइन, सम्पूर्ण व्यवसायीको अभियानका रूपमा अघि बढायो ।
आन्दोलनका क्रममा पसल बन्द, विरोध सभा, ज्ञापनपत्र बुझाउने कार्यक्रम, शान्तिपूर्ण प्रदर्शन तथा सरकारसँग निरन्तर वार्ताजस्ता गतिविधि सञ्चालन भए । महासंघको नेतृत्वमा देशभरका व्यवसायी एउटै उद्देश्यका साथ उभिए । यसले व्यवसायीबीचको एकता र संगठनप्रतिको विश्वासलाई अझ मजबुत बनायो ।
सरकारसँग भएका विभिन्न चरणका वार्तामा अर्जुन रसाइलीले व्यवसायीका समस्या तथ्य र तर्कका आधारमा प्रस्तुत गर्नुभयो । उहाँको धारणा स्पष्ट थियो – कर प्रणाली व्यवसाय प्रवद्र्धन गर्ने हुनुपर्छ, व्यवसायलाई निरुत्साहित गर्ने होइन । आन्दोलनका क्रममा उहाँले संयम, संवाद र समाधानलाई समान प्राथमिकतामा राख्नुभयो । यही कारण महासंघको आन्दोलन जिम्मेवार र मर्यादित आन्दोलनका रूपमा स्थापित भयो । तर सार्वजनिक जीवनमा यति ठूलो जिम्मेवारी सम्हालिरहेका बेला उहाँको व्यक्तिगत जीवन भने गहिरो पीडाबाट गुज्रिरहेको थियो ।
धर्मपत्नी निता बराल रसाइली लामो समयदेखि जटिल स्वास्थ्य समस्यासँग संघर्षरत हुनुहुन्थ्यो । उपचारका लागि नेपालका विभिन्न अस्पतालदेखि सिङ्गापुरसम्म पुगेर सम्भव भएका सबै प्रयास गर्नुभयो । परिवार, व्यवसाय र महासंघको जिम्मेवारीबीच सन्तुलन कायम राख्दै उहाँले उपचारमा कुनै कमी हुन दिनुभएन । श्रीमानका रूपमा आफ्नो सम्पूर्ण दायित्व अन्तिम क्षणसम्म पूरा गर्न उहाँ निरन्तर लागिरहनुभयो ।
तर नियतिको निर्णय फरक थियो । वि.सं. २०८२ साल भदौ २३ गते धर्मपत्नी नीता बराल रसाइलीको असामयिक निधनले उहाँको जीवनमा अपूरणीय शून्यता सिर्जना गरिदियो । यो क्षति केवल एउटा परिवारको पीडा थिएन; उहाँसँग नजिक रहेका व्यवसायी, शुभचिन्तक र सम्पूर्ण संगठनका लागि पनि अत्यन्त दुःखद् क्षण थियो ।
अन्त्येष्टि र श्रद्धाञ्जली कार्यक्रममा देशभरबाट व्यवसायी, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रह्यो । सबैले उहाँको दुःखमा साथ दिँदै समवेदना प्रकट गरे । त्यो दृश्यले अर्जुन रसाइलीले आफ्नो जीवनभर कमाएको सम्मान, आत्मीयता र सामाजिक सम्बन्धको गहिराइलाई पनि उजागर गरेको थियो ।
जीवनसाथीको बिछोड कुनै पनि व्यक्तिका लागि सबैभन्दा कठिन परीक्षा हो । केही समय उहाँ स्वाभाविक रूपमा शोकमा डुब्नुभयो । तर समयसँगै उहाँले आफूलाई सम्हाल्नुभयो । किनकि उहाँलाई महसुस थियो-व्यक्तिगत पीडाभन्दा माथि उठेर हजारौँ व्यवसायीले महासंघबाट आशा गरेका जिम्मेवारी अझै पूरा गर्न बाँकी छन् ।
त्यसपछि उहाँ पुनः महासंघको काममा सक्रिय हुनुभयो । नियमित बैठक, सरकारसँगको समन्वय, व्यवसायीका समस्या समाधान, संगठन विस्तार र नीतिगत सुधारका प्रयासलाई उहाँले निरन्तरता दिनुभयो । व्यक्तिगत पीडालाई आत्मबलमा रूपान्तरण गर्दै कर्तव्यप्रति अटल रहनु उहाँको नेतृत्वको सबैभन्दा प्रेरणादायी पक्ष बन्यो ।
अर्जुन रसाइलीको जीवनको यो अध्यायले एउटा गहिरो सन्देश दिन्छ-नेतृत्व पदले होइन, कठिन परिस्थितिमा पनि जिम्मेवारीबाट पछि नहट्ने साहसले स्थापित हुन्छ । यही साहस, धैर्य र समर्पणले उहाँलाई सुनचाँदी व्यवसायीका लागि विश्वासिलो र प्रेरणादायी नेतृत्वका रूपमा स्थापित गरेको छ ।
संघर्षको उपलब्धि र भविष्यप्रतिको प्रतिबद्धता
व्यक्तिगत पीडा र संगठनात्मक चुनौतीका बीच पनि अर्जुन रसाइली आफ्नो जिम्मेवारीबाट विचलित हुनुभएन । बरु प्रत्येक कठिनाइलाई आत्मबलमा रूपान्तरण गर्दै उहाँ व्यवसायीको हितका लागि निरन्तर सक्रिय रहनुभयो । उहाँको विश्वास थियो-समस्या जतिसुकै ठूलो किन नहोस्, समाधान संवाद, एकता र दृढ इच्छाशक्तिबाट नै सम्भव हुन्छ ।
महासंघको नेतृत्वमा व्यवसायीका साझा मुद्दालाई सरकारसमक्ष निरन्तर रूपमा उठाइयो । सम्बन्धित मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग पटक-पटक छलफल र संवाद भयो । महासंघले तथ्य, तर्क र व्यवसायीको वास्तविक अवस्थाका आधारमा आफ्ना माग प्रस्तुत गर्दै कर नीतिमा पुनर्विचार गर्न आग्रह गरिरह्यो ।
अर्जुन रसाइलीले विभिन्न कार्यक्रममा बोल्दै एउटा कुरा बारम्बार दोहोर्याउनुहुन्थ्यो-“सुनचाँदी व्यवसायलाई राजस्व संकलनको माध्यम मात्र होइन, रोजगारी, सीप, कला र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा राज्यले हेर्नुपर्छ ।” यही सोचका साथ उहाँले सरकारलाई व्यावसायिक वातावरण सुधार गर्न निरन्तर आग्रह गर्नुभयो ।
यसै क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघको बाह्रौँ कार्यसमिति बैठक चितवनको सौराहास्थित ल्यान्डमार्क फरेस्ट पार्कमा आयोजना गर्ने निर्णय भयो । उक्त कार्यक्रम चितवन जिल्ला संघको समन्वयमा भव्य रूपमा सम्पन्न भयो । देशका विभिन्न जिल्लाबाट आएका पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायीहरूको उपस्थितिले बैठकलाई थप गरिमामय बनायो ।
बैठक केवल औपचारिकतामा सीमित रहेन । व्यवसायीका समसामयिक समस्या, संगठन सुदृढीकरण, आगामी रणनीति तथा सरकारसँग भइरहेको संवादका विषयमा गम्भीर छलफल भयो ।
त्यसपछिका दिनमा सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भयो । बजेटमार्फत सुनचाँदी व्यवसायमा लगाइएको २ प्रतिशत विलासिता कर हटाउने घोषणा भएपछि देशभरका व्यवसायीमा खुसीको वातावरण सिर्जना भयो । महासंघले उठाउँदै आएको मुख्य माग सम्बोधन भएपछि व्यवसायीले यसलाई साझा संघर्षको महत्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गर्यो ।
यस सफलतापछि देशभरबाट अर्जुन रसाइली तथा महासंघको सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामनाको क्रम सुरु भयो । यो उपलब्धि कुनै एक व्यक्तिको प्रयासको परिणाम नभई सम्पूर्ण व्यवसायीको एकता, धैर्य र महासंघको निरन्तर पहलको प्रतिफल भएको उहाँले बारम्बार उल्लेख गर्नुभयो । सफलताको श्रेय आफूभन्दा सम्पूर्ण व्यवसायीलाई दिँदै उहाँले आगामी दिनमा पनि व्यवसायीको हक-हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँको नेतृत्वमा महासंघले केवल तत्कालीन समस्याको समाधानमा मात्र ध्यान दिएन, भविष्यमा सुनचाँदी व्यवसायलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने विषयमा पनि योजनाबद्ध रूपमा सोच्न थाल्यो । नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, आधुनिक प्रविधिको प्रयोग बढाउने तथा अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्ने विषयलाई पनि उहाँले आफ्नो प्राथमिकतामा राख्नुभयो ।
अर्जुन रसाइलीको नेतृत्व यात्राले एउटा महत्वपूर्ण सन्देश दिन्छ-नेतृत्व भनेको केवल समस्या समाधान गर्ने क्षमता मात्र होइन, भविष्यको स्पष्ट दृष्टि प्रस्तुत गर्ने जिम्मेवारी पनि हो । यही कारण उहाँको नेतृत्व वर्तमान चुनौतीको समाधानमा मात्र सीमित नभई भविष्यप्रति आशावादी र दूरदर्शी नेतृत्वका रूपमा स्थापित भएको देखिन्छ ।
निष्कर्ष
मानिसको जीवनमा प्राप्त हुने सबैभन्दा ठूलो उपलब्धि पद, प्रतिष्ठा वा सम्मान मात्र होइन; आफूले गरेको कर्मबाट समाजमा छोडेको सकारात्मक प्रभाव हो । पद समयसँगै परिवर्तन हुन्छ, तर इमानदारी, समर्पण र सेवाबाट कमाएको विश्वास भने सधैँ जीवित रहन्छ । अर्जुन रसाइलीको जीवनयात्राले यही सत्यलाई सार्थक रूपमा पुष्टि गरेको छ ।
सामान्य व्यवसायीका रूपमा सुरु भएको उहाँको यात्रा नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षसम्म पुग्नु कुनै संयोगको परिणाम होइन । यो निरन्तर परिश्रम, दृढ आत्मविश्वास, संगठनप्रतिको निष्ठा र व्यवसायीप्रतिको उत्तरदायित्वको प्रतिफल हो । प्रत्येक जिम्मेवारीलाई अवसरका रूपमा ग्रहण गर्दै उहाँले आफूलाई नेतृत्वको हरेक तहमा सक्षम रूपमा प्रमाणित गर्नुभएको छ ।
जिल्ला शाखा नेतृत्वमा रहँदा संस्थागत विकासका लागि आफ्नै कार्यालय भवन निर्माणको अभियान, व्यवसायीबीच एकता अभिवृद्धि गर्ने प्रयास, सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा संगठनलाई गतिशील बनाउने कार्यले उहाँको दूरदर्शी सोचलाई उजागर गरेको थियो । त्यही अनुभवले उहाँलाई राष्ट्रिय नेतृत्वसम्म पुर्यायो ।
महासंघको अध्यक्षका रूपमा उहाँले संगठनलाई व्यवसायीको साझा आवाजका रूपमा स्थापित गर्ने प्रयास गर्नुभएको छ । कर नीति सुधार, व्यवसायीका हक-अधिकारको संरक्षण, सरकारसँग निरन्तर संवाद, जिल्ला तथा नगर संघसँग समन्वय र संस्थागत सुदृढीकरणका क्षेत्रमा उहाँले खेलेको भूमिका उल्लेखनीय रहेको छ । विशेष गरी सुनचाँदी व्यवसायमा लगाइएका करसम्बन्धी नीतिविरुद्ध व्यवसायीलाई एकताबद्ध गर्दै समाधानमुखी नेतृत्व प्रदान गर्नु अहिलेको महत्वपूर्ण उपलब्धिमध्ये एक हो ।
व्यक्तिगत जीवनमा पनि उहाँले सहज यात्रा तय गर्नुभएन । जीवनसाथीको असामयिक निधनले उहाँलाई गहिरो पीडा दियो । त्यो पीडा कुनै शब्दले वर्णन गर्न सकिने विषय थिएन । तर त्यस कठिन क्षणमा पनि उहाँले धैर्य गुमाउनुभएन । व्यक्तिगत शोकलाई आत्मबलमा रूपान्तरण गर्दै पुनः व्यवसायीको सेवामा सक्रिय हुनु उहाँको कर्तव्यनिष्ठा र दृढ व्यक्तित्वको परिचय हो ।
अर्जुन रसाइलीको नेतृत्व शैलीको अर्को विशेषता भनेको विनम्रता, संवाद र सहकार्य हो । उहाँ नेतृत्वलाई आदेश दिने माध्यमभन्दा सहकार्यको संस्कृतिका रूपमा लिनुहुन्छ । साथीहरूको सुझावलाई सम्मान गर्ने, अग्रजको अनुभवलाई मार्गदर्शनका रूपमा ग्रहण गर्ने र नयाँ पुस्तालाई अवसर दिने उहाँको सोचले संगठनलाई थप जीवन्त बनाएको छ ।
आजको प्रतिस्पर्धात्मक र परिवर्तनशील समयमा सुनचाँदी व्यवसायले अनेकौँ चुनौती सामना गरिरहेको छ । यस्ता चुनौतीलाई अवसरमा रूपान्तरण गर्न दूरदर्शी नेतृत्व, प्रविधिमैत्री सोच, संस्थागत एकता र नीतिगत सुधार आवश्यक हुन्छ । अर्जुन रसाइलीले आफ्नो कार्यकालमा यही दिशामा आधार तयार गर्ने प्रयास गर्नुभएको छ । आगामी दिनमा पनि उहाँको अनुभव, नेतृत्व क्षमता र समर्पणले नेपालको सुनचाँदी व्यवसायलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ ।
अन्ततः, अर्जुन रसाइलीको जीवन केवल एक व्यक्तिको सफलताको कथा होइन । यो संघर्षलाई आत्मबलमा बदल्ने साहस, जिम्मेवारीलाई कर्ममा रूपान्तरण गर्ने दृढता, र संगठनलाई परिवारका रूपमा आत्मसात् गर्ने नेतृत्वको प्रेरणादायी यात्रा हो । उहाँको जीवनले नयाँ पुस्ताका व्यवसायीलाई एउटा स्पष्ट सन्देश दिन्छ-इमानदारी, परिश्रम, धैर्य र संगठनप्रतिको निष्ठा भए सफलता ढिलो हुन सक्छ, तर असम्भव हुँदैन ।
– लेखक नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको महासचिव हुनुहुन्छ ।














