विपद् व्यवस्थापनमा प्रहरी-सुनचाँदी व्यवसायीको सहकार्य : नेपाल सुनचाँदी व्यवसायी संघ चितवनद्वारा करिब ७० हजार बराबरको उद्धार सामग्री हस्तान्तरण

चितवन। विपद्को बेला उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले वडा प्रहरी कार्यालय नारायणगढ (पुल्चोक) लाई करिब ७० हजार रुपैयाँ बराबरको उद्धार सामग्री हस्तान्तरण गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीको विशेष उपस्थितिमा आज मंगलबार उद्धार सामग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका उद्धार सामग्रीमा रेस्क्यु थ्रो ब्याग, वाटर हेल्मेट, लाइफ ज्याकेट (PFD), १० एमएम स्टाटिक रोप, गमबुट, ब्याक बोर्ड (स्ट्रेचर) र फोर्स लाइट रहेका छन्। यी सामग्री विपद्को बेला खोज, उद्धार तथा आपत्कालीन सेवामा प्रयोग हुनेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष अर्जुन रसाईलीले सुरक्षा निकाय र निजी क्षेत्रबीचको सहकार्यले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताउनु भयो।

उहाँले व्यवसायीहरू केवल व्यापारमा सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाहमा पनि अग्रसर रहेको उल्लेख गर्दै नागरिकको जीवनरक्षा र मानवीय सेवाका कार्यमा प्रहरीसँग आवश्यक समन्वय र सहकार्यलाई आगामी दिनमा अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले सुरक्षा निकायसँगको सहकार्य समाजप्रतिको उत्तरदायित्वको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो।

विपद्को बेला पहिलो पंक्तिमा खटिने प्रहरीलाई आवश्यक उद्धार सामग्री उपलब्ध गराउनु संघको सामाजिक दायित्व भएको बताउँदै उहाँले यस्तो सहकार्यले उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुका साथै समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

उद्धार सामग्री ग्रहण गर्दै वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक कुशराम कार्कीले संघप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले विपद्का बेला प्रहरीको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नागरिकको सुरक्षाका लागि समुदाय र प्रहरीबीचको सहकार्य अनुकरणीय रहेको समेत बताउनु भयो ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा सल्लाहकार चित्रबहादुर खाती विश्वकर्मा, प्रवक्ता लालबहादुर विश्वकर्मा, कोषाध्यक्ष रमेशचन्द्र सदाशंकर, सचिव प्रेमबहादुर विश्वकर्मा, कार्यालय सचिव शर्मिला विश्वकर्मा लगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण संघका महासचिव गोपालबहादुर वि.क. थापाले गर्नुभएको थियो भने कार्यक्रमको समन्वय संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क.ले गर्नुभएको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय