काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
महासंघले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो । महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा गएको टोलीले सहयोग रकम अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेको हो ।
महासंघले दैवी प्रकोपबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि एकद्वार प्रणालीमार्फत राहत संकलन अभियान सञ्चालन गरेको थियो ।
अभियानअन्तर्गत महासंघका सदस्य जिल्ला तथा नगर संघ, वस्तुगत तथा एसोसियट सदस्यहरूबाट प्राप्त सहयोगलाई समेटेर उक्त रकम उद्धार कोषमा हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष बज्राचार्यसहित पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य मोहनकुमार सुनार, उपाध्यक्ष पवनकुमार सोमानी, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदीप श्रेष्ठ र गण्डकी प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतमको उपस्थिति रहेको थियो ।
त्यस्तै, काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष रोहिना शाक्य र कोषाध्यक्ष रमेशमान शाक्य, ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्य तथा बूढानिलकण्ठ सुनचाँदी व्यवसायी संघका अध्यक्ष भीष्मप्रसाद गौतमलगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
महासंघले विपद्का समयमा व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ । महासंघबाट संकलित सहयोगले विपदबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ ।





