मानवीय सेवामा सुनचाँदी शिल्प व्यवसायी संघ, बाढीपीडितलाई १० लाखभन्दा बढीको राहत

नुवाकोट । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले बाढी तथा डुबानबाट प्रभावित परिवारका लागि १० लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण गरेको छ।

संघका पदाधिकारी तथा सदस्यहरूको टोली राहत सामग्रीसहित नुवाकोट पुगेर विभिन्न बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेको हो। संघले विपद्को यस दुःखद् घडीमा प्रभावित परिवारको साथमा उभिँदै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले राहत अभियान सञ्चालन गरेको जनाएको छ।

संघले विदुर नगरपालिका-३ देवीघाट तथा बुद्धसिंह, वडा नं. ७ का सोले र टुप्चे तथा वडा नं. ९ का हात्तीगौंडा र किस्ताङलगायतका बाढी प्रभावित क्षेत्रमा पुगेर प्रभावित परिवारलाई खाद्यान्न तथा आवश्यक राहत सामग्री हस्तान्तरण गरेको हो।

राहत सामग्री सम्बन्धित क्याम्पका अध्यक्ष, सचिव तथा संयोजकहरूलाई हस्तान्तरण गरिएको संघले जनाएको छ। विपद्का कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनु सामाजिक संस्था तथा व्यवसायीको समेत दायित्व भएकाले संघले आफ्नो तर्फबाट राहत अभियान सञ्चालन गरेको जनाएको छ।

संघका अध्यक्ष केशवबहादुर सुनारले बाढीबाट प्रभावित व्यवसायी तथा परिवारहरूको अवस्था बुझ्दै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले प्रभावित आफ्ना व्यवसायीहरूलाई आवश्यकताका आधारमा आर्थिक सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय