चितवन । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तृतीय उपाध्यक्ष एवं चितवन सुनचाँदी व्यवसायी संघ, पूर्वी चितवनका संस्थापक अध्यक्ष प्रेम खातीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने गरी ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्।
खातीले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र लायन्स क्लबमार्फत कोषमा रकम दाखिला गर्ने गरी उक्त सहयोग हस्तान्तरण गरेका हुन्। दैवी प्रकोपबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले उक्त रकम प्रदान गरेका हुन्।
व्यवसायसँगै सामाजिक तथा मानवीय सेवामा समेत सक्रिय खाती लायन्स क्लब ३२५ आरका रिजन चियरपर्सनसमेत हुन्। विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनले विपद्को बेला प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै सहयोग गरेका हुन्।
खाती खैरहनी-८, पर्सास्थित सूर्य किरण सुनचाँदी पसलका सञ्चालकसमेत हुन्। सुनचाँदी व्यवसायमा सक्रिय रहँदै सामाजिक सेवामार्फत समुदायमा योगदान पुर्याउँदै आएका खातीले विपद्को समयमा सहयोगको हात अघि बढाएका हुन्।
उनको यो सहयोगले विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।



