इन्द्रज्योति विश्वकर्मा कल्याण समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार ११ रुपैयाँ सहयोग

बुटवल । इन्द्रज्योति विश्वकर्मा कल्याण समाज, बुटवल-५, रुपन्देहीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार ११ रुपैयाँ सहयोग गरेको छ।

समाजले शनिबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको हो। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले समाजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ।

सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको समाजले विगतदेखि नै विभिन्न परोपकारी तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। समाजले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै असहाय तथा आर्थिक रूपमा कमजोर व्यक्तिको उपचारमा समेत सहयोग गर्दै आएको छ।

इन्द्रज्योति विश्वकर्मा कल्याण समाजले सामाजिक सेवाका विभिन्न गतिविधिलाई निरन्तरता दिँदै आएको बताउँदै आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक कार्यमा योगदान गर्ने जनाएको छ।

समाजले २०७७ साल माघ २३ गते जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट संस्थाको औपचारिक दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो। समाजका संरक्षक ज्योतिलाल विश्वकर्मा रहेका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गरिएको विषयमा समाजका अध्यक्ष एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य दीपककुमार विश्वकर्माले जानकारी दिएका हुन्।

समाजले सामाजिक सेवामार्फत समुदायमा सहयोग, सहकार्य र मानवीय दायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित आफ्ना गतिविधिलाई अघि बढाउँदै आएको अध्यक्ष विश्वकर्माले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय