सुनचाँदी व्यवसायलाई स्पष्ट नीति र सहज आपूर्ति आवश्यक : अध्यक्ष रसाईली

पोखरा। सुनचाँदी व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउन स्पष्ट नीति तथा कार्यविधि निर्माणसँगै सुनको आपूर्ति प्रणालीलाई सहज, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशद्वारा  शनिबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरूले व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि राज्य र व्यवसायीबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्।

कार्यक्रममा सुनको आपूर्ति, कर तथा प्रशासनिक प्रक्रिया, सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था, व्यावसायिक सुरक्षा, दक्ष कालिगढको अभाव, उपभोक्ता हितलगायतका विषयमा व्यवसायीहरूले आफ्ना समस्या, अनुभव र सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन राज्यले व्यवसायको वास्तविक अवस्था र आवश्यकता बुझेर व्यवहारिक नीति निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले व्यवसायीका समस्या समाधानका लागि महासंघले सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गर्दै आएको उल्लेख गर्दै राज्य र व्यवसायीबीच सहकार्य तथा विश्वासको वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकिशोर गौतमले प्रदेश तथा जिल्लास्तरमा व्यवसायीहरूले भोगिरहेका समस्याको पहिचान गरी सामूहिक पहलबाट समाधान खोज्नुपर्ने बताउनुभयो। जिल्लाबाट उठेका समस्यालाई प्रदेश हुँदै केन्द्रीय महासंघसम्म पुर्‍याई सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा महासंघका सचिव निर्मल दियाली, केन्द्रीय सदस्य हिम बहादुर विश्वकर्मा, गण्डकी प्रदेशका पदाधिकारी, विभिन्न जिल्लाका सुनचाँदी व्यवसायी संघका अध्यक्ष, प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा ४१ जनाको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय