नवलपुर । नवलपुर सुनचाँदी व्यवसायी संघको तेस्रो अधिवेशनअन्तर्गत आजका लागि निर्धारित निर्वाचन प्रक्रिया मतदान सुरु हुनुअघि नै स्थगित गरिएको छ। निर्वाचन समितिले आइतबार बिहान सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएको हो।
निर्वाचन समितिका संयोजक अधिवक्ता अर्जुन प्रसाद काफ्लेले हस्ताक्षर गरेको सूचनाअनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको थियो। तर, विविध कारणवश निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको भन्दै सम्पूर्ण उम्मेदवार तथा मतदातालाई जानकारी गराइएको छ।
यसअघि निर्वाचन समितिले उम्मेदवारीमाथि परेका दाबी-विरोधको टुंगो लगाउँदै सबै उम्मेदवारको उम्मेदवारी कायम राखेको थियो। त्यससँगै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा मतदानको दिन नै प्रक्रिया स्थगित भएपछि व्यवसायीहरूबीच थप जिज्ञासा र चासो बढेको छ।
समितिले जारी गरेको सूचनामा निर्वाचन किन स्थगित गर्नुपरेको भन्ने विस्तृत कारण खुलाइएको छैन। अर्को सूचना जारी नभएसम्म सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित रहने उल्लेख गर्दै उम्मेदवार र मतदातालाई संयमित रहन आग्रह गरिएको छ।
निर्वाचन स्थगित भएसँगै नवलपुर सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको छ। अब निर्वाचन कहिले र कसरी सञ्चालन हुने भन्ने विषय निर्वाचन समितिको आगामी निर्णयपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।




