नवलपुर । नवलपुर सुनचाँदी व्यवसायी संघको तेस्रो अधिवेशनअन्तर्गतको निर्वाचन भोलि भदौ ७ गते आइतबार हुँदैछ। नेतृत्व चयनका लागि अध्यक्ष पदमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपछि संघको निर्वाचनलाई लिएर व्यवसायीमाझ चासो बढेको छ । निर्वाचनको पूर्वसन्ध्यामा जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.सु.पूर्व) ले समेत संघको विधानअनुसार निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेपछि चुनावी माहोल थप तातेको हो।
अध्यक्ष पदका लागि टेकबहादुर विश्वकर्मा ‘रामकाजी’ र राजेश रसाईली चुनावी मैदानमा छन्। दुवै उम्मेदवारले व्यवसायीको साथ र समर्थन आफ्नो पक्षमा रहेको दाबी गर्दै चुनावी प्रचारलाई तीव्र बनाएका छन्। अध्यक्षसहित विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू अन्तिम चरणको प्रचारप्रसारमा केन्द्रीत छन्।
यहीबीच जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.सु.पूर्व)ले नवलपुर सुनचाँदी व्यवसायी संघलाई पत्र पठाउँदै निर्वाचन प्रक्रिया संघको विधानअनुसार सम्पन्न गर्न आग्रह गरेको छ। प्रशासनले अध्यक्ष पदका उम्मेदवार राजेश रसाईलीले दिएको निवेदनका सम्बन्धमा निर्वाचन समिति तथा सरोकारवालासँग छलफल गरेको जनाएको छ।
प्रशासनको पत्रमा निर्वाचन प्रक्रियाका लागि संघको विधान अक्षरशः पालना गर्नुपर्नेमा जोड दिइएको छ। विधानमा स्पष्ट व्यवस्था नभएका विषयमा विगतका नजिरलाई समेत ध्यानमा राखी निर्वाचन सम्पन्न तथा गराउन प्रशासनले आग्रह गरेको छ।
प्रशासनको यो पत्रसँगै निर्वाचन प्रक्रियालाई लिएर देखिएका असमझदारी तथा विवादलाई विधि र विधानकै आधारमा समाधान गर्दै अघि बढ्नुपर्ने अवस्था बनेको छ। निर्वाचन समितिले सबै उम्मेदवारलाई समान अवसर उपलब्ध गराउँदै निष्पक्ष, पारदर्शी र मर्यादित ढंगले निर्वाचन सम्पन्न गराउनुपर्ने जिम्मेवारी पाएको छ।
संघका अध्यक्ष राजु शाह शंकर सुनारले निर्वाचनलाई संस्थाको गरिमा र व्यवसायीको एकतासँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन्। संघको नेतृत्व चयन लोकतान्त्रिक प्रक्रियाबाट हुने भएकाले सबै पक्षले निर्वाचनको मर्यादा कायम राख्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
अध्यक्ष सुनारले संघको नेतृत्व जसको हातमा पुगे पनि सम्पूर्ण व्यवसायीको साझा हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्। सुनचाँदी व्यवसायीले पछिल्लो समय विभिन्न किसिमका चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उनले व्यवसायीका समस्या समाधानका लागि संघ बलियो, एकताबद्ध र प्रभावकारी हुन आवश्यक रहेको धारणा राखेका छन्। उनका अनुसार निर्वाचनपछि प्रतिस्पर्धाका क्रममा भएका मतभेदलाई अन्त्य गर्दै सबै व्यवसायीलाई समेटेर अघि बढ्नु नै संघको हितमा हुनेछ।
सुनचाँदी व्यवसायीका साझा समस्या, व्यावसायिक हकहित, संस्थागत पारदर्शिता, व्यवसायीबीचको एकता र संघलाई थप प्रभावकारी बनाउने विषयलाई यसपटकको निर्वाचनमा व्यवसायीहरूले चासोको रूपमा हेरेका छन् । त्यसैले नयाँ नेतृत्वप्रति व्यवसायीको अपेक्षा पनि उत्तिकै बढेको देखिन्छ।
नवलपुर सुनचाँदी व्यवसायी संघको निर्वाचनलाई यसपटक सामान्य नेतृत्व चयनको प्रक्रियाका रूपमा मात्र हेरिएको छैन। बदलिँदो व्यावसायिक वातावरण, सुनचाँदी कारोबारमा देखिएका चुनौती र व्यवसायीका विभिन्न समस्यालाई सम्बोधन गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने दबाब पनि उम्मेदवारहरूमाथि छ।
निर्वाचनको पूर्वसन्ध्यामा प्रशासनबाट आएको पत्रले निर्वाचन समितिको जिम्मेवारी थप गम्भीर बनाएको छ। संघको विधान, निर्वाचनसम्बन्धी स्थापित अभ्यास र सबै पक्षको चासोलाई समेट्दै विवादरहित वातावरणमा मतदान सम्पन्न गर्नु समितिका लागि मुख्य चुनौती बनेको छ।
भोलि हुने निर्वाचनले नवलपुर सुनचाँदी व्यवसायी संघको आगामी नेतृत्वसँगै संस्थाको आगामी कार्यदिशासमेत तय गर्नेछ। त्यसैले अध्यक्ष पदको प्रतिस्पर्धालाई व्यवसायीहरूले विशेष चासोका साथ हेरेका छन्।
अब अन्तिम फैसला नवलपुरका सुनचाँदी व्यवसायीको मतले गर्नेछ। चुनावी प्रतिस्पर्धा निर्णायक चरणमा पुगेकाले भोलिको मतदान र त्यसबाट आउने परिणामलाई व्यवसायी मात्र नभई समग्र सुनचाँदी क्षेत्रले चासोका साथ हेरेको छ। भोलि हुने मतदानमा १ सय ७८ जना व्यवसायी मतदाताले मतदान गर्नेछन्।




