काठमाडौँमा अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी एक्स्पो गर्न ललितपुर सुनचाँदी व्यवसायी संघको प्रस्ताव

काठमाडौँ । ललितपुर सुनचाँदी व्यवसायी संघले नेपालमा अन्तर्राष्ट्रियस्तरको जेम्स एण्ड ज्वेलरी एक्स्पो आयोजना गर्न भारतको जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सिल (GJEPC) लाई आग्रह गरेको छ ।

संघका अध्यक्ष सुबिन बज्राचार्यले काउन्सिलका अध्यक्ष किरीट भन्सालीलाई सम्बोधन गर्दै काठमाडौंमा नियमित रूपमा अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी प्रदर्शनी आयोजना गर्न प्रस्ताव गरेका हुन् ।

संघले नेपालमा रत्न तथा आभूषण क्षेत्रको विकास, प्रवर्द्धन, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि यस्तो प्रदर्शनी महत्वपूर्ण हुने जनाएको छ। काठमाडौं उपत्यका रत्न तथा आभूषण व्यवसायको राम्रो सम्भावनाको क्षेत्र भएकाले अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्न उपयुक्त स्थान हुने संघको दाबी छ ।

संघका अनुसार नेपाली व्यवसायीहरूले बैंकक, हङकङ, भुटान तथा भारतमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय जेम्स एण्ड ज्वेलरी प्रदर्शनीमा सहभागिता जनाउँदै आएका छन् । विशेषगरी भारतमा आयोजना हुने इन्डिया इन्टरनेसनल ज्वेलरी शो (IIJS) बाट नेपाली व्यवसायीले नयाँ प्रविधि, डिजाइन तथा अन्तर्राष्ट्रिय बजारबारे महत्वपूर्ण अनुभव प्राप्त गरेको संघले जनाएको छ ।

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना भए नेपाली व्यवसायीलाई विदेशी बजारसँग जोडिन, नयाँ प्रविधि तथा डिजाइन भित्र्याउन र व्यापारिक सम्बन्ध विस्तार गर्न थप अवसर सिर्जना हुने संघको विश्वास छ ।

प्रस्तावित एक्स्पो आयोजना गर्न काउन्सिललाई आवश्यक सहयोग, स्थानीय व्यवस्थापन तथा समन्वयमा संघले सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ । साथै, कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नसमेत सहयोग गर्ने संघले जनाएको छ ।

संघले प्रस्तावप्रति काउन्सिलको सकारात्मक जवाफ र पहलको अपेक्षा गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय