काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन सिफारिस प्रक्रियामा प्रदेशको भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
महासंघका अध्यक्ष अर्जुन रसाईलीको अगुवाइमा आइतबार बसेको सुन सिफारिस समितिको बैठकले जिल्ला तथा नगर संघहरूले अबदेखि सम्बन्धित प्रदेशसँग समन्वय गरेर सुन सिफारिसको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था गरेको छ।
सुन सिफारिस समितिको बैठकको निर्णयअनुसार अब जिल्ला तथा नगर संघहरूले आफू आबद्ध प्रदेशका अध्यक्षसँग समन्वय गरी सुन सिफारिससम्बन्धी प्रक्रिया अघि बढाउनुपर्नेछ।
महासंघले निर्णय कार्यान्वयनका लागि सातवटै प्रदेशका अध्यक्षहरूको सम्पर्क विवरणसमेत जिल्ला तथा नगर संघहरूलाई उपलब्ध गराएको छ।
गण्डकी प्रदेश महासंघका अध्यक्ष चन्द्रकिशोर गौतमले पछिल्लो निर्णयले प्रदेशलाई महासंघको संरचनाभित्र थप जिम्मेवार बनाएको बताउनुभयो।
उहाँले जिल्ला तथा नगर संघहरू महासंघका अभिन्न अंग भएजस्तै प्रदेश पनि महासंघकै अभिन्न अंग भएकाले प्रदेशलाई अधिकार र काम चाहिएको थियो, महासंघले अहिले त्यसलाई सम्बोधन गर्ने निर्णय गरेको छ । उहाँले भन्नुभयो, “यसका लागि महासंघलाई धन्यवाद दिन चाहन्छु।”
उहाँले अब जिल्ला तथा नगर संघहरूले सम्बन्धित प्रदेशसँग आवश्यक समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो। प्रदेश र जिल्ला तथा नगर संघबीचको सहकार्य र समन्वयले महासंघको संगठनात्मक संरचनालाई थप मजबुत बनाउने उहाँको भनाइ छ।
महासंघको यो निर्णयसँगै सुन सिफारिसको काममा केन्द्रदेखि प्रदेश हुँदै जिल्ला तथा नगर संघसम्मको समन्वयात्मक प्रणाली विकास हुने अपेक्षा गरिएको छ। यसले सिफारिस प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ।





