बुटवल घोषणापत्र-२०८३ का ९ प्रतिबद्धता : सुनचाँदी व्यवसाय सुधारदेखि नीतिगत परिवर्तनसम्म

रूपन्देही (बुटवल)। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायलाई थप व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धी तथा प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्यसहित ‘बुटवल घोषणापत्र-२०८३’ सार्वजनिक गरेको छ।

महासंघको १३औँ र १४औँ वार्षिक साधारण सभाको अवसरमा जारी घोषणापत्रमार्फत व्यवसायको दिगो विकास, सुशासन, नीतिगत सुधार तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिलाई केन्द्रमा राख्दै ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको हो।

महासंघले घोषणापत्रमार्फत सुनचाँदी व्यवसायलाई आधुनिक, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी व्यवसायका रूपमा विकास गर्न सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। साथै, घोषणापत्रमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकार, निजी क्षेत्र तथा सम्बन्धित सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

बुटवल घोषणापत्र-२०८३ का प्रतिबद्धताहरू

१. सुशासन, पारदर्शिता र संस्थागत सुदृढीकरण
सामाजिक उत्तरदायित्व, सुशासन र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिँदै व्यवसायको संरक्षण, निष्पक्ष प्रतिस्पर्धा तथा उपभोक्ताप्रतिको विश्वास अभिवृद्धि गर्ने। महासंघलाई थप उत्तरदायी, पारदर्शी र सदस्य-केन्द्रीत संस्थाका रूपमा विकास गर्ने।

२. व्यवसायमैत्री कर तथा राजस्व नीति
व्यवसायमैत्री कर तथा राजस्व नीति निर्माणका लागि सरकारसँग निरन्तर संवाद गर्ने तथा दोहोरो कर, सीप प्रवर्द्धन शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) लगायत व्यवसायमा अनावश्यक भार पार्ने व्यवस्थाको पुनरावलोकनका लागि पहल गर्ने।

३. राष्ट्रिय बुलियन नीति निर्माण
आयात, भण्डारण, बिक्री, पुनःप्रयोग, निर्यात तथा गोल्ड बैंकिङलाई समेट्ने राष्ट्रिय बुलियन नीति (National Bullion Policy) निर्माणका लागि सरकारसमक्ष पहल गर्ने।

४. अनुसन्धान तथा नीति केन्द्र स्थापना
व्यवसायसँग सम्बन्धित अध्ययन, अनुसन्धान तथा नीतिगत सुझावका लागि महासंघअन्तर्गत रिसर्च एन्ड पोलिसी सेन्टर (Research and Policy Centre) स्थापना गर्ने।

५. गुणस्तर सुनिश्चितता र हलमार्किङ
उपभोक्ता संरक्षण तथा गुणस्तर सुनिश्चितताका लागि आवश्यक पूर्वाधार विस्तार गर्दै हलमार्किङ प्रणाली राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा लागू गर्न पहल गर्ने।

६. निर्यात प्रवर्द्धन र सीप विकास
ब्रान्डेड उत्पादन, निर्यात प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारका साथै सीप प्रवर्द्धन, दक्ष जनशक्ति उत्पादन, युवालाई व्यवसायमा आकर्षित गर्ने कार्यक्रम तथा नियमित तालिम सञ्चालन गर्ने।

७. व्यवसायमैत्री निर्देशिका र जोखिम व्यवस्थापन
नेपाल सरकारबाट व्यवसायमैत्री निर्देशिका जारी गराई प्रभावकारी कार्यान्वयनमा ल्याउने तथा व्यवसायका लागि छुट्टै बीमा र जोखिम व्यवस्थापन प्रणाली विकास गर्न पहल गर्ने।

८. हेल्प डेस्कलाई प्रभावकारी बनाउने
महासंघमा स्थापित हेल्प डेस्कलाई थप प्रभावकारी बनाउँदै व्यवसाय सञ्चालनका क्रममा आउने आकस्मिक समस्या, लेखा, प्रशासन, कानुन तथा नीतिनियमसम्बन्धी परामर्श र सहजीकरण केन्द्रका रूपमा विकास गर्ने।

९. व्यवसायीको क्षमता अभिवृद्धि
सुनचाँदी व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण पुस्तिका तयार गरी व्यावसायिक नैतिकता, गुणस्तर, लेखा व्यवस्थापन तथा कानुनी शिक्षासम्बन्धी विषय समावेश गर्ने।

बुटवल घोषणापत्र-२०८३ ले नेपालको सुनचाँदी व्यवसायलाई व्यवस्थित, आधुनिक, पारदर्शी तथा विश्वसनीय बनाउने दिशामा महत्वपूर्ण मार्गदर्शन गर्ने महासंघले विश्वास व्यक्त गरेको छ।

घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरू कार्यान्वयनमा आए व्यवसायको दिगो विकास, उपभोक्ता हित संरक्षण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुग्ने सुनचाँदी व्यवसायीहरूले अपेक्षा गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय