रुपन्देही (बुटवल) । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औँ र १४ औँ वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरूले सरकारसँग माग गरेका छन् । साधारण सभाको समुद्घाटन समारोहमा बोल्दै व्यवसायीहरूले सो माग गरेका हुन् ।
साधारण सभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले राज्यलाई कर तिरेर पनि व्यवसायीहरू ढुक्क हुने अवस्था नभएको बताउँदै सुनचाँदी व्यवसायीहरूको सुरक्षाका लागि ऐन जारी गर्नुपर्ने बताउनुभयो । उहाँले स्पष्ट नीति र नियम लागू गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय ऐन शीघ्र ल्याउन आफूहरूको तर्फबाट समेत पहल भइरहेको बताउनुभयो । उहाँले नेपालको मौलिक परम्परा, संस्कृतिमा समेत सुन, चाँदी र हीरा मोतीजस्ता गहनाहरूको महत्व रहेको उल्लेख गर्दै व्यवसायीहरुको अर्बौँ लगानीको सुरक्षा राज्यले गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभा सदस्य अमृता वि.क.ले सुनचाँदी बहुमूल्य धातु भएको र यस व्यवसायले राज्यबाट पाउनु पर्ने सुविधा कम पाएको विषयमा आफूहरूको विशेष ध्यान पुगेको बताउनुभयो । सुनचाँदी व्यवसायीहरुको हरेक समस्यामा वर्तमान सरकार र संसदको रुपमा आफ्नो विशेष साथ रहने उहाँले बताउनुभयो । उहाँले सुनचाँदी व्यवसायमा लगाउँदै आएको करले उपभोक्तामा परेको असरलाई समेत सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै पूर्व मन्त्री तथा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सुनचाँदी व्यवसायका समस्या समाधानका बारेमा तीनै तहका सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले सुनचाँदी व्यवसायीहरूको समस्याहरु समाधानका लागि विगतदेखि नै आफूले सक्दो पहलकदमी गर्दै आएको बताउनुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघले समेत सुनचाँदी व्यवसायलाई सोचे जति ध्यान दिन नसकेको बताउनुभयो ।
त्यसैगरी बुटवल उप–महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सुनचाँदी व्यवसायमा नेपाली कालिगढहरु उत्पादन गर्नेतर्फ काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले बुटवलमा मात्रै ५ हजारभन्दा धेरै देश बाहिरका युवाहरू रोजगारीमा रहेको बताउँदै सिटिईभिटी अन्तर्गतको पाठ्यक्रम बनाएर जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।
साधारण सभाको अध्यक्षता समेत गर्नुभएका सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले वार्षिक २० अर्बको हाराहारीमा राजस्वमा योगदान पुर्याउँदै आएको सुनचाँदी व्यवसायीहरूको सुरक्षा गर्न ऐन ल्याउन सरकारसमक्ष माग गर्नुभयो । उहाँले सुनचाँदी व्यवसायमा हालसम्म नीति नियमको अभाव रहेको बताउनुभयो । उहाँले देवानी संहितामा सुनचाँदी गरगहनालाई नगद सम्पत्तिको स्पष्ट व्याख्या गरिए पनि खरिदबिक्रीमा नगदसरहको मान्यता नपाएको बताउनुभयो । उहाँले यही कारणले प्रहरी प्रशासनबाट व्यवसायीहरु पीडित हुनुपरेको गुनासो गर्नुभयो ।
साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णकुमार शर्मा, सुनचाँदी व्यवसायी महासंघका सल्लाहकार रणेन्द्र बराली लगायतले व्यवसायीहरूको सुरक्षामा राज्यले चासो दिन नसकेको बताउनुभयो ।
यस्तैगरी साधारण सभामा महासंघमा आवद्ध विभिन्न ८४ वटा जिल्ला/नगर तथा वस्तुगत संघ मध्येवाट उत्कृष्ट दुई वटा संघ पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा सुनचाँदी व्यवसायी संघ, कास्की र चन्द्रपुर सुनचाँदी व्यवसायी संघ रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विभिन्न निकायमा निर्वाचित सुनचाँदी व्यवसायीहरु समेत साधारण सभामा सम्मानित भएका छन् ।
साधारण सभामा अध्यक्ष अर्जुन रसाईलीले प्रस्तुत गर्नुभएको मन्तव्य, महासचिव किरणभाई बज्राचार्यले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुदीप श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएका छन् ।
साधारण सभाको अवसरमा महासंघको मुखपत्र “स्वर्ण दर्पण” अंक १० को विमोचन गरिएको थियो । उक्त मुखपत्र प्रकाशन समितिको संयोजकमा महासंघका सचिव टुलक प्रसाद विश्वकर्मा र सदस्य–सचिवमा महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदाम हुनुहुन्थ्यो ।
साधरण सभामा महासंघमा आबद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत र २३ वटा एशोसिएट सदस्यहरू सहित, पर्यवेक्षकहरू एवं सदस्यहरूको सहभागिता रहेको थियो । साधारण सभा बुटवल सुनचाँदी व्यवसायी संघको आतिथ्यतामा आयोजना भएको थियो । सो साधारण सभामा महासंघले ९ बुँदे बुटवल घोषणा–पत्र साार्वजनिक गरेको थियो ।




