गणेश उत्सवको खर्च कटौती गर्दै बाढीपीडितलाई १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

चितवन। धार्मिक आस्थालाई मानवीय सेवासँग जोड्दै सुनचाँदी रिफाइनरी समूह चितवन अन्तर्गतको स्वराज गणेश मण्डलले गणेश उत्सव-२०८३ मा हुने पूजा तथा उत्सव व्यवस्थापनको केही खर्च कटौती गरी बाढीपीडितको राहतका लागि रु. १ लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ।

गणेश चतुर्थीको अवसरमा मंगलबार भरतपुर-२, नारायणगढस्थित नारायणी कला मन्दिरमा आयोजित विशेष कार्यक्रममा धार्मिक विधिअनुसार भगवान श्रीगणेशको पूजा तथा आरती सम्पन्न गरेपछि उक्त सहयोग रकम नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्मालाई हस्तान्तरण गरिएको हो।

स्वराज गणेश मण्डलका संयोजक राजु पाटिलले विपद्को घडीमा समाजप्रति आफ्नो दायित्व निर्वाह गर्ने उद्देश्यले उत्सवका केही खर्च कटौती गरी बाढीपीडितको राहत अभियानमा सहयोग गरिएको बताउनुभयो।

सहयोग रकम ग्रहण गर्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले विपद्को समयमा देखाइएको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाप्रति स्वराज गणेश मण्डललाई धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले धार्मिक उत्सवलाई सामाजिक सेवासँग जोड्ने यस्तो कार्यले समाजमा सहयोग र सद्भावको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै प्राप्त रकम बाढीपीडितको राहत तथा पुनःस्थापनामा पारदर्शी रूपमा परिचालन गरिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको शुभारम्भ संघका अध्यक्ष विश्वकर्माले भगवान श्रीगणेशको आरती गरी गर्नुभएको थियो। कार्यक्रममा धार्मिक अनुष्ठानसँगै सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।

सुनचाँदी रिफाइनरी समूह चितवन नेपाल सुनचाँदी व्यवसायी संघ चितवन मातहत वि.सं. २०८२ मा गठन भएको समूह हो। समूहले आयोजना गरेको गणेश उत्सव-२०८३ अन्तर्गतका कार्यक्रम भदौ २९ गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुनेछन्। यस अवधिमा दैनिक बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म पूजा, आरती तथा विविध धार्मिक कार्यक्रम आयोजना गरिनेछ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदाम, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क., आमन्त्रित सदस्य रोशन घले तथा सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवनका प्रबन्धक रमेश रामदाम लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय