तीजको बजेट बाढीपीडितलाई, सुनचाँदी व्यवसायी महिला समूह चितवनद्वारा १ लाख २३ हजार ६ सय ३० रूपैयाँ सहयोग

चितवन । सुनचाँदी व्यवसायी महिला समूह चितवनले तीज कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकम बाढीपीडितको राहत तथा उद्धारमा सहयोग गरेको छ ।

समूहले नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको एकद्वार राहत संकलन अभियानमार्फत १ लाख २३ हजार ६३० रुपैयाँ सहयोग गरेको हो ।

बिहीबार संघको कार्यालयमा आयोजित कार्यक्रममा समूहकी अध्यक्ष कल्पना गोतामेले उक्त रकम संघका अध्यक्ष हेमबहादुर विश्वकर्मालाई हस्तान्तरण गर्नुभयो।

रकम ग्रहण गर्दै अध्यक्ष विश्वकर्माले तीजजस्तो सामाजिक तथा सांस्कृतिक कार्यक्रमसमेत स्थगित गरेर विपद्मा परेका नागरिकको सहयोगमा रकम परिचालन गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो। उहाँले विपद्को समयमा महिला समूहले देखाएको सक्रियता र मानवीय भावनाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

समूहकी संस्थापक अध्यक्ष ऋतु विश्वकर्माले विपद्को समयमा सहयोग गर्ने समूहका सदस्य तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क.ले महिला समूहको सहयोगी भावना प्रशंसनीय रहेको बताउँदै विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा समूहकी पूर्वअध्यक्ष तथा सल्लाहकार रूपा बराली, सल्लाहकार निरू रामुदामुसहितले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोगमा जुट्नु सबैको साझा दायित्व भएको धारणा राख्नुभयो ।

समूहले यसअघि तीज कार्यक्रमका लागि संघबाट प्राप्त ५० हजार रुपैयाँसहित थप रकम संकलन गरेको थियो । तर, बाढीबाट विभिन्न क्षेत्र प्रभावित भएपछि तीज कार्यक्रम स्थगित गरी कार्यक्रमका लागि प्राप्त तथा संकलित रकम बाढीपीडितको राहतमा लगाउने निर्णय गरेको हो ।

कार्यक्रममा संघका कोषाध्यक्ष रमेशचन्द्र सदाशंकर, सदस्य दीपक विश्वकर्मा, लेखा समिति सदस्य श्यामलाल वि.क. तथा महिला समूहका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजन समूहकी वरिष्ठ उपाध्यक्ष सरिता भट्टराई घतानेले गर्नुभएको थियो भने सहजीकरण महासचिव मन्जु विश्वकर्माले गर्नुभएको थियो ।

महिला समूहको यो निर्णयले विपद्को समयमा सांस्कृतिक उत्सवभन्दा मानवीय सेवाको आवश्यकतालाई प्राथमिकता दिएको सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय