बाढीपीडितको साथमा सुनचाँदी व्यवसायी संघ चितवन, महासंघलाई २ लाख ३ हजार ३१२ रुपैयाँ  सहयोग

चितवन । बाढीपीडितको राहत तथा उद्धारका लागि नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले २ लाख ३ हजार ३१२ रुपैयाँ सहयोग गरेको छ।

तिब्बत क्षेत्रबाट हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि संघले उक्त रकम सहयोग गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सञ्चालन गरेको एकद्वार राहत संकलन अभियानमा ऐक्यबद्धता जनाउँदै जिल्ला संघले व्यवसायीहरूबाट संकलन गरेको रकम महासंघको राहत कोषमा दाखिला गरेको हो। रकम दाखिला गरिएको भौचर बिहीबार चितवनस्थित जिल्ला संघको कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो। संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले महासंघकी केन्द्रीय सदस्य ऋतु विश्वकर्मालाई उक्त भौचर हस्तान्तरण गर्नुभयो।

भौचर ग्रहण गर्दै महासंघकी केन्द्रीय सदस्य ऋतु विश्वकर्माले विपत्तिको समयमा चितवन जिल्ला संघले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने अभियानमा व्यवसायी संघसंस्थाको सहयोग महत्वपूर्ण हुने बताउनुभयो। “विपत्तिको समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व हो। चितवन जिल्ला संघले गरेको सहयोगले राहत अभियानलाई थप बल पुगेको छ। रकमसँगै यसले देखाएको मानवीय भावना र व्यवसायीबीचको एकता महत्वपूर्ण छ,” उहाँले भन्नुभयो।

विश्वकर्माले महासंघले विभिन्न स्थानबाट प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित रूपमा परिचालन गर्ने उद्देश्यले राहत संकलन अभियान सञ्चालन गरेको बताउनुभयो। उहाँले सहयोग गर्ने चितवन जिल्ला संघका पदाधिकारी, सदस्य तथा सम्पूर्ण व्यवसायीलाई महासंघका तर्फबाट आभारसमेत व्यक्त गर्नुभयो।

जिल्ला संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले बाढीबाट प्रभावित नागरिकको पीडालाई ध्यानमा राखेर व्यवसायीहरूबाट सहयोग संकलन गरिएको बताउनुभयो। उहाँले व्यवसाय सञ्चालनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि सबै व्यवसायीको जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

रकम हस्तान्तरण कार्यक्रममा जिल्ला संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क., निवर्तमान अध्यक्ष डा. यमबहादुर वि.के., तृतीय उपाध्यक्ष शोभा बराली, महासचिव गोपालबहादुर थापा वि.क., कोषाध्यक्ष रमेशचन्द्र सदाशंकरलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय