चितवन(माडी)। तिब्बत क्षेत्रबाट हिमताल फुटेर भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, शाखा कार्यालय माडीले राहत सहयोग प्रदान गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सञ्चालन गरेको एकद्वार राहत संकलन अभियानमा ऐक्यबद्धता जनाउँदै माडी शाखाले संकलन गरेको २३ हजार ६२६ रुपैयाँ मंगलबार जिल्ला संघलाई हस्तान्तरण गरेको हो।
माडी शाखाका अध्यक्ष कृष्ण गोतामेले चितवनस्थित जिल्ला संघको कार्यालयमा उक्त रकम जिल्ला संघका अध्यक्ष हेमबहादुर विश्वकर्मालाई हस्तान्तरण गर्नुभयो। रकम हस्तान्तरण कार्यक्रममा जिल्ला संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क.को समेत उपस्थिति रहेको थियो।
रकम ग्रहण गर्दै जिल्ला संघका अध्यक्ष विश्वकर्माले विपत्तिको समयमा माडी शाखाले देखाएको मानवीय सहयोग र एकताप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउनु सबैको सामाजिक दायित्व भएको बताउनुभयो।
“विपद्को समयमा व्यवसायीहरू आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वप्रति पनि संवेदनशील हुनुपर्छ। माडी शाखाले गरेको यो सहयोग रकम आर्थिक हिसाबले मात्र नभई मानवीय दृष्टिले पनि महत्वपूर्ण रहेको”, अध्यक्ष विश्वकर्माले भन्नुभयो।
उहाँले राहत अभियानमा सहयोग गर्ने माडी शाखाका पदाधिकारी, व्यवसायी तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यमा जिल्ला संघ र माडी शाखाबीच थप सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।





