टोकियो, जापान । जापानमा जारी जापान ज्वेलरी फेयर (JJF)-२०२६ मा सहभागी नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको प्रतिनिधिमण्डलले जापान ज्वेलरी एसोसिएसन (JJA) तथा ज्वेलरी फेयर आयोजक पक्षका उच्च पदाधिकारीसँग उच्चस्तरीय भेटवार्ता गरेको छ।
भेटवार्तामा नेपाल र जापानका सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रबीच व्यावसायिक सहकार्य, व्यापार प्रवर्द्धन, प्रविधि तथा ज्ञान आदानप्रदान र अन्तर्राष्ट्रिय बजार विस्तारका विषयमा महत्वपूर्ण छलफल भएको छ।
महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा जापान पुगेको ३४ सदस्यीय प्रतिनिधिमण्डलले जापान ज्वेलरी फेयरमा सहभागिता जनाउँदै जापानी ज्वेलरी क्षेत्रका प्रमुख संस्थाका पदाधिकारीसँग भेटघाट गरेको हो।
भेटवार्तालाई दुई देशका ज्वेलरी व्यवसायबीच संस्थागत सम्बन्ध र व्यावसायिक सहकार्य विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
भेटवार्तामा जापान ज्वेलरी एसोसिएसनका अध्यक्ष केइता नागाहोरी, कार्यकारी निर्देशक योशिहितो सुकामोटो, इन्फोर्मा मार्केट्स जापानका प्रमुख कार्यकारी अधिकृत जेम्स सोबाक, उपाध्यक्ष नोबुआकी निटो तथा ज्वेलरी फेयरकी प्रोजेक्ट इभेन्ट म्यानेजर हिरोमी साकुराईलगायतको सहभागिता थियो।
भेटका क्रममा नेपाल र जापानका सुनचाँदी, रत्न तथा आभूषण व्यवसायीबीच व्यवसायी-व्यवसायी (B2B) सहकार्य, व्यापार प्रवर्द्धन, ज्ञान तथा प्रविधि आदानप्रदान, बजार पहुँच विस्तार तथा आधुनिक डिजाइन विकासलगायतका विषयमा विस्तृत छलफल भएको थियो।
त्यसैगरी, नेपालको मौलिक तथा परम्परागत आभूषण निर्माण कला र दक्ष कालिगढको सीपलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने विषयलाई समेत प्राथमिकताका साथ उठाइएको थियो।
अन्तर्राष्ट्रिय ज्वेलरी प्रदर्शनी तथा मेलामा नेपाल र जापानका व्यवसायी तथा संस्थाको पारस्परिक सहभागिता बढाउने र आगामी दिनमा व्यावसायिक मिलान (Business Matching) कार्यक्रममार्फत प्रत्यक्ष व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा पनि सकारात्मक विचार आदानप्रदान भएको थियो।
महासंघका अध्यक्ष किसान सुनारले नेपालमा पुस्तौंदेखि विकसित हुँदै आएको परम्परागत तथा मौलिक आभूषण कला, दक्ष कालिगढ र सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रमा रहेको सम्भावनाबारे जापानी पक्षलाई जानकारी गराएका थिए।
नेपाली आभूषण तथा कालिगढको सीपलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै जापानलगायत अन्य मुलुकका सम्बन्धित संस्था तथा व्यवसायीसँग दीर्घकालीन व्यावसायिक सम्बन्ध विस्तार गर्न महासंघ प्रतिबद्ध रहेको उनले बताएका थिए।
जापान ज्वेलरी एसोसिएसन तथा ज्वेलरी फेयर आयोजक पक्षले नेपाली प्रतिनिधिमण्डलको सहभागितालाई स्वागत गर्दै जापान ज्वेलरी फेयरमा नेपालको सहभागिताप्रति खुसी व्यक्त गरेको थियो।
नेपाली प्रतिनिधिमण्डलको सहभागिताले नेपाल र जापानबीच ज्वेलरी क्षेत्रको व्यावसायिक सम्बन्धलाई थप नजिक ल्याउने विश्वास जापानी पक्षले व्यक्त गरेको थियो।
भेटवार्तामा दुवै पक्षले आगामी दिनमा निरन्तर संस्थागत संवाद कायम राख्ने, आपसी सहकार्यलाई थप विस्तार गर्ने, संयुक्त व्यावसायिक पहल अघि बढाउने, Business Matching कार्यक्रमलाई प्रोत्साहन गर्ने तथा ज्ञान, अनुभव र प्रविधिको आदानप्रदानलाई निरन्तरता दिने विषयमा सकारात्मक छलफल गरेका छन्।
नेपालको मौलिक आभूषण कला, सीप र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयासका रूपमा महासंघको जापान भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। जापानी बजार तथा अन्तर्राष्ट्रिय ज्वेलरी नेटवर्कसँग सम्बन्ध विस्तारले नेपाली सुनचाँदी, रत्न तथा आभूषण व्यवसायलाई नयाँ बजार र व्यावसायिक अवसरसँग जोड्ने आधार तयार हुने अपेक्षा गरिएको छ।
टोकियोमा अगस्ट २६ देखि सुरु भएको जापान ज्वेलरी फेयर-२०२६ अगस्ट २८ सम्म सञ्चालन हुँदैछ।
अन्तर्राष्ट्रिय स्तरको उक्त मेलामा नेपाली व्यवसायीको सहभागितासँगै जापानी ज्वेलरी क्षेत्रका नेतृत्वसँग भएको उच्चस्तरीय भेटवार्ताले नेपाली ज्वेलरी व्यवसायको अन्तर्राष्ट्रिय पहुँच विस्तारका लागि थप सम्भावनाको ढोका खोलेको महासंघले जनाएको छ।





