जापानस्थित नेपाली कार्यवाहक राजदूतसँग महासंघ प्रतिनिधिमण्डलको भेटवार्ता

टोकियो, जापान । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ (FNGSGJA) को प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूत हरिहरकान्त पौडेलसँग शिष्टाचार भेटघाट गरेको छ।

महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा जापान भ्रमणमा रहेको ३४ सदस्यीय प्रतिनिधिमण्डलले कार्यवाहक राजदूत पौडेलसँग नेपाल-जापानबीच सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रको व्यापारिक सहकार्य, लगानी, प्रविधि आदानप्रदान तथा अन्तर्राष्ट्रिय बजार विस्तारका सम्भावनाबारे छलफल गरेको हो।

भेटका क्रममा महासंघको जापान भ्रमण तथा Japan Jewellery Fair (JJF) 2026 मा सहभागिताका विषयमा समेत छलफल भएको थियो। अध्यक्ष सुनारले नेपालमा उत्पादित सुनचाँदी, रत्न तथा आभूषणका साथै हस्तकलाजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न जापानसँगको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।

जापानमा रहेका नेपाली समुदाय, जापानी व्यवसायी तथा सम्बन्धित संघसंस्थासँग सहकार्य विस्तार गरी नेपाली आभूषण तथा हस्तकलाजन्य उत्पादनको बजार प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे समेत अध्यक्ष सुनारले धारणा राखेका थिए। उनले जापानलाई नेपाली आभूषण क्षेत्रका लागि व्यापार, प्रविधि र लगानीको महत्वपूर्ण सम्भावनायुक्त बजारका रूपमा विकास गर्न सकिने बताए।

कार्यवाहक राजदूत पौडेलले महासंघको प्रतिनिधिमण्डललाई जापान भ्रमण तथा JJF 2026 मा सहभागिताका लागि शुभकामना व्यक्त गर्दै नेपालको सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र विस्तारका लागि आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपालका मौलिक कला, सीप र हस्तकलामा आधारित आभूषण तथा उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

भेटघाटमा महासंघका अध्यक्ष सुनारसहित ३४ सदस्यीय प्रतिनिधिमण्डल, जापानस्थित नेपाली राजदूतावासका सचिवालयका अधिकारी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष दीपक सुनारको उपस्थिति थियो।

महासंघको प्रतिनिधिमण्डल जापानमा आयोजना हुने Japan Jewellery Fair (JJF) 2026 मा सहभागी हुन जापान भ्रमणमा रहेको हो। महासंघले आफ्नो सहभागितामार्फत नेपाली सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रका उत्पादन, सीप र सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने तथा जापानसँग व्यापारिक सम्बन्ध विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय