काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल जापान प्रस्थान गरेको छ। जापानमा आयोजना हुने Japan Jewellery Fair (JJF)-2026 को अवलोकन तथा सहभागिताका लागि प्रतिनिधिमण्डल आइतबार जापानतर्फ प्रस्थान गरेको हो।
भदौ १० देखि १२ गतेसम्म आयोजना हुने ज्वेलरी फेयरका क्रममा प्रतिनिधिमण्डलले जापान ज्वेलरी एसोसिएसन तथा इन्फोर्मा मार्केट्स जापानका पदाधिकारीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ।
छलफलमा नेपाल र जापानका रत्न तथा आभूषण उद्योगबीच आपसी सहयोग, ज्ञान तथा प्रविधि आदान-प्रदान र व्यावसायिक सहकार्यका विषयमा विचार-विमर्श गरिनेछ। साथै, नेपाली गरगहना उद्योगको स्तरोन्नति तथा अन्तर्राष्ट्रियकरणका लागि जापानसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गर्दै उच्च प्रविधि तथा प्राविधिक ज्ञान हस्तान्तरण, व्यापार तथा लगानी प्रवर्द्धन, गरगहना प्रदर्शनी, व्यवसायी आदान-प्रदान, सीप विकास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल हुने महासंघले जनाएको छ।
प्रतिनिधिमण्डलले रत्न तथा आभूषण उद्योगको दीगो विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि संयुक्त प्रदर्शनी, कार्यक्रम तथा परियोजना सञ्चालन गर्ने विषयमा समेत जापानी पक्षसँग छलफल गर्नेछ।
भ्रमणका क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र जापान ज्वेलरी एसोसिएसनबीच आपसी सहयोग र सहकार्यसम्बन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर गर्ने कार्यक्रमसमेत तय भएको छ। उक्त समझदारीमार्फत दुई देशका रत्न तथा आभूषण उद्योगबीच ज्ञान, प्रविधि, सीप, व्यापार, लगानी तथा व्यावसायिक अवसरको आदान-प्रदानलाई थप संस्थागत बनाउने अपेक्षा गरिएको छ।
महासंघका अनुसार जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरि हर कान्त पौडेल तथा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुवास लामिछानेलगायत अन्य पदाधिकारीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।
महासंघका सचिव केशर बहादुर विश्वकर्मा, कार्यसमिति सदस्यहरू सूर्य बराल र दाना हमाल तथा कार्यालय प्रमुख राम महर्जनसहित महासंघमा आबद्ध सदस्य संस्थाहरूबाट प्रतिनिधित्व गर्ने व्यवसायीहरू जापान भ्रमणमा सहभागी छन्।
प्रतिनिधिमण्डलमा इच्छा हर्ष बज्राचार्य, कमला विश्वकर्मा, राधा गुरुङ बराल, सन्देश हमाल, ज्योखिम तामाङ, प्रलाद मल्ल, हिरा लाल वि.क., विष्णु सुनार, दिनेश बाबु विश्वकर्मा, लक्ष्मी धतानी, सालिक राम रसाईली, शिव कुमार विश्वकर्मा, प्रेम बहादुर सुनार, बुद्धि सागर गर्तौंला, धन बहादुर बराइली, लक्ष्मी गहतराज, रमेश सुनार, कुमार सुनेल, रूपेश विश्वकर्मा, जयराम खाती, देवेन्द्र शंकर, पूजा थापा, श्याम ल्वागुन सुनार, अनिषा सुनार, भरत वि.क., दिपेन विश्वकर्मा, रूवी अग्रवाल, मनोज पोद्वार र अंकित खड्काथोकीलगायत रहेका छन्।
महासंघले जापान भ्रमणलाई नेपाली सुनचाँदी, रत्न तथा आभूषण उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, प्रविधि र सीप भित्र्याउने तथा दुई देशका व्यवसायीबीच सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।



