सुनचाँदी व्यवसायी महिला समूह चितवनको १५औँ स्थापना दिवस विशेष कार्यक्रमसहित सम्पन्न

चितवन। सुनचाँदी व्यवसायी महिला समूह चितवनले शुक्रबार विशेष कार्यक्रम आयोजना गरी आफ्नो १५औँ स्थापना दिवस मनाएको छ। कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको सचिवालयमा सम्पन्न गरिएको हो।

समूहकी अध्यक्ष कल्पना गोतामेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वकर्माले विगत १५ वर्षमा महिला समूहले सुनचाँदी व्यवसायमा आबद्ध महिलाहरूबीच एकता, नेतृत्व विकास र व्यावसायिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो।

उहाँले आगामी दिनमा पनि संस्थाले अझ प्रभावकारी र सशक्त ढंगले आफ्नो भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी व्यवसायीहरूले सुनचाँदी क्षेत्रमा महिलाको बढ्दो सहभागिताले व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै संस्थागत सहकार्य, सीप विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

समूहकी सचिव तथा कार्यक्रम संयोजक शारदा बरालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा १५औँ स्थापना दिवसको अवसरमा केक काटी शुभकामना आदानप्रदान गरिएको थियो।

समूहकी प्रवक्ता गंगा रामदामका अनुसार स्थापना दिवस कार्यक्रमले संस्थाको १५ वर्षे यात्राको समीक्षा गर्दै आगामी दिनमा महिला व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि, नेतृत्व विकास र संस्थागत एकतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय