चाडपर्व लक्षित निर्णय: चितवनका सुनचाँदी पसल अब सातै दिन खुल्ने

चितवन। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले हरितालिका तीज, बडादशैं, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लाभरका सुनचाँदी व्यवसायीलाई साताको सातै दिन पसल सञ्चालन गर्न आग्रह गरेको छ।

संघको २६औँ कार्यसमिति बैठकले गरेको निर्णयअनुसार भदौ ४ गतेदेखि छठ पर्व सम्पन्न नहुन्जेलसम्म जिल्लाका सुनचाँदी पसल सातै दिन सञ्चालन हुने भएका हुन्।

चाडपर्वका बेला बजारमा बढ्ने उपभोक्ताको चाप, व्यावसायिक आवश्यकता तथा सहज सेवा प्रवाहलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको संघले जनाएको छ।

संघका महासचिव गोपाल बहादुर वि.क.थापाद्वारा जारी सूचनामा चाडपर्वको अवधिभर सुरक्षित, मर्यादित र व्यवस्थित ढंगले व्यापार-व्यवसाय सञ्चालन गर्दै उपभोक्तालाई गुणस्तरीय तथा सहज सेवा उपलब्ध गराउन सम्पूर्ण व्यवसायीलाई अनुरोध गरिएको छ।

संघका अनुसार सातै दिन पसल सञ्चालन गर्ने व्यवस्थाले उपभोक्तालाई आवश्यक समयमा सुनचाँदी खरिद गर्न सहज हुने, बजारमा सेवा प्रवाह प्रभावकारी बन्ने तथा चाडपर्वको व्यस्त समयमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

संघले व्यवसायीलाई प्रचलित कानुन, व्यावसायिक आचारसंहिता तथा उपभोक्तामैत्री सेवा प्रणालीको पूर्ण पालना गर्दै जिम्मेवार ढंगले व्यापार सञ्चालन गर्न पनि आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय