सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन महासंघको पहल : दुईदिने लेखा तथा कर प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ। सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायलाई समयसापेक्ष, पारदर्शी तथा कानुनसम्मत बनाउन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आयोजना गरेको दुईदिने लेखा तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

महासंघको प्रशिक्षण तथा तालिम सञ्चालन समितिको संयोजनमा साउन २५ र २६ गते आयोजित प्रशिक्षणमा देशका विभिन्न स्थानबाट सहभागी भएका व्यवसायी तथा कर्मचारीलाई लेखा व्यवस्थापन, कर प्रणाली तथा व्यवसाय सञ्चालनसँग सम्बन्धित व्यावहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

प्रशिक्षण कार्यक्रमको उद्घाटन महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले गर्नुभएको थियो। महासंघका कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्माको संयोजनमा सञ्चालन भएको कार्यक्रममा महासंघका लेखा परामर्शदाता तथा चार्टर्ड एकाउन्टेन्ट महेश पोख्रेलले प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणका क्रममा व्यवसाय सञ्चालनमा अनिवार्य रूपमा आवश्यक पर्ने खरिद तथा बिक्री खाता व्यवस्थापन, डे-बुकमा कारोबार अभिलेखीकरण, स्टक व्यवस्थापन, ज्याला तथा जर्तीको अभिलेख राख्ने विधि, विभिन्न खर्चहरूको लेखाङ्कन, सेवाप्रदायक शुल्क, स्रोतमा कर कट्टी (टीडीएस), कर प्रशासन तथा लेखा प्रणालीसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै सहभागीहरूलाई व्यवहारिक अभ्यासमार्फत दैनिक व्यवसायमा देखिने लेखा तथा करसम्बन्धी समस्याको समाधानबारे समेत प्रशिक्षण दिइएको थियो।

महासंघका अनुसार पछिल्ला वर्षहरूमा कर प्रशासन तथा वित्तीय अनुशासनसम्बन्धी प्रावधानहरू थप कडाइका साथ कार्यान्वयन हुन थालेपछि व्यवसायीहरूलाई सही लेखा प्रणाली अपनाउन र कानुनी दायित्वबारे सचेत बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको हो।

प्रशिक्षणमा रत्न तथा आभूषण क्षेत्रका २१ जना व्यवसायी तथा कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रमले व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका धेरै जिज्ञासा र अन्योलता हटाउन सहयोग पुगेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

महासंघले सुनचाँदी तथा रत्न-आभूषण व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन आवश्यक जनशक्ति विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

*********

लोकप्रिय